काठमाडौँ / बेलायती नेपाली डायास्पोरिक वाङ्मयका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील चर्चित वाङ्मय साधकत्रय रक्ष राई, मिजास तेम्बे र देवेन्द्र खेरेसको सङ्कलन तथा सम्पादनमा ‘बेलायती नेपाली डायास्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित भएको छ ।

ग्रन्थ नेपालकै अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारद्वारा प्रकाशित भएको हो ।

उक्त ग्रन्थमा ईश्वर मानन्धर, हरिसिंह थापा, सुमलकुमार गुरुङ, सुरेशजङ्ग शाह, कोमल श्रेष्ठ, भगवान चाम्लिङ, गणेश राई, रक्ष राई, टंक वनेम, दयाकृष्ण राई, डा. रुपक श्रेष्ठ, विजय हितान मगर, कृष्ण बजगाईं, केदार सङ्केत, मुकुल दाहाल, देवेन्द्र खेरेस, लारा (लक्ष्मी राई), गोपी सापकोटा, जानु काम्बाङ लिम्बू, दुर्गाप्रसाद पोखरेल, लाहाङ चेम्जोङ, मिजास तेम्बे र अन्जु अञ्जलीका दुई दुई ओटा डायास्पोरिक कविता समेटिएका छन् ।

डायास्पोरिक सृजनाहरूसम्बन्धी मानक ग्रन्थमा रूपमा प्रकाशित पुस्तकमा नेपाली डायास्पोरा र डायास्पोरिक सृजना तथा सिद्धान्तका विषयमा बिस्तृत र गहन सम्पादकीय रहेको छ, जसले नेपाली डायास्पोरिक वाङ्मयका विषयमा अध्ययन–अनुसन्धान गरिरहेका तथा यस विषयप्रति अभिरूचि राख्ने सबै अध्येताहरूलाई आधिकारिक खुराक दिन्छ ।

दुई सय पृष्ठको पुस्तकको मूल्य ३९९ रुपैयाँ रहेको छ ।