किरण पुस्तकालय तम्घास, गुल्मीले प्रत्येक वर्ष प्रदान गर्ने जानकी साहित्य पुरस्कार २०८० हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ ।

गुल्मीमा २०१६ जेठ ५ गते जन्मनुभएका भण्डारी हाल रूपन्देही जिल्लाको तिलोत्त्मा ८, दीपनगर निवासी हुनुहुन्छ ।

उहाँका चिराग (लघुकथा संग्रह २०४७), अस्वीकृत कथाहरू (कथा संग्रह २०५८), अविरल यात्रा (लघुकथा संग्रह २०६३), चरीका रमाइला कथा (बालकथा संग्रह २०६७), कला सर्पको खोजी (लघुकथा संग्रह २०६७), कुनमिनको सेरोफेरो (नियात्रा २०६९), मनको आँखा (बालकथा २०६९०) गोनु झा र चोरहरू (बालचित्रकथा २०७०), धनञ्जय गोत्रीय भण्डारीहरूको वंशावली २०७०, सुनको झ्याल (बाल उपन्यास २०७४) प्रकाशित छन् । उहाँका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने गरेका छन् ।

पुरस्कार आगामी मोती जयन्तीका दिन प्रदान गरिने पुरस्कार छनोट समितिले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

साहित्यमा रूचि राख्ने स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवार र किरण पुस्तकालयले संयुक्त रूपमा यो पुरस्कारको स्थापना गरेको हो । गुल्मीमा जन्मेका तथा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्नेहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

२०७३ सालमा स्थापित यो पुरस्कार यसअघि सूर्यबहादुर सेन वली, भागिरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम तथा रूद्र ज्ञवालीले प्राप्त गरिसक्नु भएको किरण पुस्तकालय तम्घास, गुल्मीका उपाध्यक्ष दीन पन्थीले जानकारी दिनुभयो ।