साहित्यपोस्ट

‘उत्कृष्ट कथा’ प्रतियोगिताकी एक जना प्रत्यासीले बाह्रखरी बुक्सको व्यवहारको विरोध गर्दै आफूले पाउने पारिश्रमिक फिर्ता गरेको घोषणा गरेकी छन् ।

उत्कृष्ट २५ भित्र परेकी काठमाडौं पेप्सीकोलाकी कथाकार कल्पना श्रेष्ठ ‘कलापुञ्ज’ले बाह्रखरी बुक्सले विवादित विषयमा कुनै पनि चासो नराखेको र त्यसलाई सामाधान गर्नतिर नलागेको देखेपछि पारिश्रमिक फिर्ता गरेकी हुन् । यसलाई उनले आफ्नो फेसबुकवालमा पनि राखेकी छन् ।

‘प्रतियोगिता नै बहिष्कार गर्ने यो मेरो क्रान्तिकारी मनसुवा होइन । स्वच्छ प्रतियोगिताको मापनले मानिसलाई सृजनात्मक बनाउन प्रेरणा मिल्छ ।’ फेसबुकमा श्रेष्ठले लेखेकी छन्, ‘जो कोहीलाई पनि अन्तष्करणले आफ्नै आत्मालाई ठग्नु जस्तो पीडादायी सायद अरु केही नहोला ।’

बाह्रखरी बुक्सलाई इमेलमार्फत् पारिश्रमिक फिर्ताको जानकारी गराएपछि उनले साहित्यपोस्टसँग सम्पर्क गरेकी थिइन् । ‘म बैंकमा काम गर्ने एउटी सचेत महिला हुँ । यो मैले कसैको दवाब र प्रभावमा परेर गरेकी होइन ।’ उनले साहित्यपोस्टसँग भनिन्, ‘साहित्यको गरिमा बचाउनु पर्छ र आयोजक जिम्मेवार हुनुपर्छ भनेर सानो प्रयास गरेकी हुँ । यसो गर्दा मेरो साहित्यिक भविष्य खतरामा पनि पर्न सक्छ तर म मानसिकरुपमा सबै कुराका लागि तयार छु ।’

उनले आफूसँग प्रतिस्पर्धामा सामेल २२ जनामध्ये केहीले पारिश्रमिक फिर्ता गर्न लागेको जानकारी पनि गराइन् ।

‘हामी फरक फरक ठाउँबाट त्यहाँ प्रतिस्पर्धाका लागि पुगेका थियौँ, त्यसैले धेरैको धेरैसँग परिचय थिएन । तर यही प्रकरणले केही साथीहरुसँग भेट गरायो । सबै जना असन्तुष्ट हुनुहुन्छ । कोही बोल्न सक्नुहुन्छ, कोही सक्नुहुन्न ।’ उनले भनिन्, ‘यही कारण पनि मेरो ५ हजार रकम फिर्ताको कुरा सानो होला तर यसले ठूलो संकेत गरेको छ, जुन आयोजकले बुझ्नुपर्छ ।’

आफ्नो फेसबुक बालमा पनि उनले आयोजकप्रतिको व्यवहारलाई लिएर असन्तुष्टि पोखेकी छन् । ‘विवादित विषयमा मैले केही निर्णायक मित्रहरुसँग आन्तरिक जिज्ञासा राखेको हुँ । आयोजकबाट चित्तबुझ्दो जवाफ नआएछि मैले यो पुरस्कार नलिने निर्णय गरेकी हुँ ।’

कल्पना कलापुञ्ज युवा पुस्ताकी सक्रिय लेखिका हुन् । उनको सञ्जिवनी नामक उपन्यास शिखा बुक्सबाट प्रकाशित भैसकेको छ ।