अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा अनेसास ड्यास्पोरा अध्ययन केन्द्रको सचिवालय पुतलीसडकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका नव निर्वाचित अध्यक्ष पदम विश्वकर्मा तथा अनेसासबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्व गर्ने अनेसासका पूर्व उपाध्यक्ष प्राज्ञ बाबा बस्नेतलाई अनेसास नेपाल च्याप्टरले स्वागत तथा बधाईसहित सम्मान समेत गरेको छ ।

अनेसास नेपाल च्याप्टर, केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

अनेसासका बिओटि पदाधिकारी सदस्यहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा आजीवन सदस्यहरू तथा साहित्यकारहरूको उपस्थितिका बीच सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा बिओटी सदस्य नवराज सिलवाल, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा. रेनुका थापा सोलु, बाबा बस्नेत र नवनिर्वाचित बिओटीका अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा,साहित्य,कला र संस्कृतिको विश्वव्यापीकरणबारे धारणा राख्नुभएको थियो ।

नेपाली साहित्यको प्रवर्द्धनमा अनेसासको भूमिका र योगदान सदैव रहने र नेपाल भाषा,साहित्य र संस्कृतिको जननी भएकोले नेपालमा मातृभाषा र लोकसंस्कृतिको अध्ययन अनुसन्धान र अनुवाद योजनामा विशेष काम गर्नुपर्ने धारणा वक्ताहरूले राख्नुभएको थियो ।

कार्यक्रममा अनेसासका उपाध्यक्ष राजेन्द्र के.सी. ले अतिथिको स्वागत गर्नुभएको थियो । कार्यक्रम अनेसासका अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा भएको थियो ।