सरकारले सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिनुभएको हो ।

सोमबार मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा यो कामलाई सुरु गरिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो काम अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण समेत दिनुभयो ।

‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारे प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौं,’ उपप्रधानमन्त्री श्रेष्ठलाई ईकान्तिपुरलाई उद्धृत गरेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले यस कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने बताउनुभएको थियो ।

यसअघि साहित्यकारहरूको ठूलो जमातले अंग्रेजीमा इम्बोस्ड नम्बरको चर्को विरोध गरेका थिए ।