
साहित्यकार खगेन्द्र संग्रौलाको नयाँ कृति दलित विषयका कथाहरूको संगालो ‘सङ्ग्राम बहादुर सार्की’ विमोचित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति भूपाल राई, कथाकार सङ्ग्रौला, उपन्यासकार युग पाठक लगायतले सो कृतिको विमोचन गर्नुभएको हो ।
नेपाली समाजमा विद्यमान जात व्यवस्था, दलित समुदायमाथि हुने विभेद‚ जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिबिम्बित गरेको लेखक संग्रौलाले जनाउनु भएको छ ।
‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रुणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ’, साहित्यकार संग्रौलाले विमोचन कार्यक्रममा भन्नुभयो, ‘विपन्न, वञ्चित र दलितहरूलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने ससाना जमघटमा मैले यी कथाका पात्रहरूलाई भेटेको थिएँ ।’
संग्रौलाले नयाँ कथा सञ्चयनलाई आफ्नै अरु कथाहरूको विशाल चाङमुनि चेपिएर पाठक र समीक्षकका दृष्टिबाट ओझेल परेका कथाहरूको पुस्तक रहेको बताउनुभएको छ ।
‘मेरै कथाहरूको विशाल चाङमुनिको चेपबाट मैले यी कथालाई बाहिर निकालेको हुँ, बाहिर निकाल्नु वास्तवमा यी कथाहरूको मुक्ति हो,’ उहाँले भन्नुभयो ।
‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा २०२७ देखि २०५५ सालसम्म लेखिएका आठ कथा संकलित छन् । संकलनबारे लेखक तथा नागरिक अधिकारकर्मी जेबी विश्वकर्माले दलित जीवनको वास्तविकतालाई अत्यन्त मार्मिक भाकामा बोलिएको टिप्पणी गर्नुभयो । विश्वकर्माले जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरुद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेट्नु भएको बताउनुभयो ।
उक्त पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

