
वृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्देश्यका साथ साहित्यकारहरूको कमला सामुदायिक पुस्तकालय सिन्धुलीमा भएको भेलाले ‘बुढ्यौली साहित्य समाज सिन्धुली’ गठन गरेको छ ।
मकवानपुर र सिन्धुलीका साहित्यकारहरूको उपस्थितिमा सो भेला सम्पन्न भएको हो । सिन्धुलीका वयोवृद्ध महाकाव्यकार चेत प्रसाद ढकालको सभाध्यक्षता तथा बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मकवानपुरबाट व्यङ्ग्यकार राजकुमार लामिछाने, कविहरू सुवास खनाल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, उमेश तिमल्सिना, स्वस्तिका दहाल, मधु ढुङ्गानाको उपस्थिति रहेको थियो भने सिन्धुलीबाट खडानन्द तिमल्सिना, लोकेन्द्र डहरे, धनमाया राई , बाबुराम फुयाँल, शारदा प्रसाद पहाडी, राजकुमार माझी, केदार प्रसाद देवकोटा, पवित्रा तिमल्सिना लगायत दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित साहित्यकारहरूले आआफ्नो बुढ्यौली अवस्था केन्द्रित रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फुर्सदीले ‘वृद्धवृद्धालाई एक्लोपनको अनभूति हुने भएकाले बुढ्यौली साहित्य समाजले उहाँहरूको आवाज बोल्ने भएका कारण एक्लोपन हटाउन सहयोग पुग्ने’ धारणा राख्नुभएको थियो ।
भेलाले एघार सदस्यीय समाजको कार्यसमिति गठन गरेको छ । साहित्यकार शम्भुप्रसाद गजुरेलको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष केशव कुमार फुयाँल, महासचिव कल्याण पहाडी, सचिव धनमाया राई, कोषाध्यक्ष विन्दा घिमिरे र सदस्यहरूमा शेषराज दहाल, महेश्वर प्रसाद कोइराला, बाबुराम फुयाँल, विश्वनाथ बराल, दुर्गा ढकाल र अस्मिता दहाल रहनु भएको छ भने सल्लाहकारहरूमा चेतप्रसाद उपाध्याय ढकाल र खडानन्द तिमल्सिना मनोनित हुनुभएको छ ।
मकवानपुरमा सर्वप्रथम गठन भएर कार्य प्रक्रिया अगाडि बढाएको बुढ्यौली साहित्य समाजको चितवन, भक्तपुर , रौतहट, महोत्तरी र सर्लाही लगायतका जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

