
पठन संस्कृतिलाई प्रवर्द्धन र बौद्धिक मन्थनलाई अभिवृद्धि गर्ने उद्देश्यसहित संचालन हुँदै आइरहेको “भक्तपुर बुक क्लब ”को नियमित मासिक कार्यक्रमअन्तर्गत आज साहित्यकार अभय श्रेष्ठसँग विश्वप्रसिद्ध “आमा” उपन्यासमाथि अन्तरसंवाद गरियो ।
विश्व प्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीको १५५ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा ख्वप छें, खौमा भक्तपुरमा आयोजित उक्त कार्यक्रममा प्रस्तोता ई. नीरज लावजुका प्रश्नहरूको सामना गर्दै लेखक श्रेष्ठले म्याक्सिम गोर्कीको लेखकीय इतिहास, आमा उपन्यासको घटनाक्रम र वैचारिक पक्ष, पात्रहरूको भूमिका र त्यसको रुसी क्रान्तिमा पारेको प्रभावबारे बोल्नु भयो ।
छलफलकै सन्दर्भमा गोर्कीका अन्य कृतिहरू र अन्य रुसी साहित्यकारहरूका बारे पनि विवेचना गरियो ।
उपन्याससम्बन्धी टिप्पणी गर्दै ई. रामबिन्दु श्रेष्ठले आफूले उपन्यास ४० वर्ष अगाडि पढेको तर अहिले पढ्दा यौटा निष्क्रिय दुःखी ‘आमा’ कसरी सक्रिय सामाजिक अभियन्तामा र थुप्रै परिवर्तनकारी युवाहरूकी “आमा”मा रुपान्तरित भइन् भन्ने गोर्कीको लेखकीय खुबी र स्वाभाविक वर्णनबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले गोर्कीको सम्मानमा पूर्व सोभियत संघका प्रायः शहरका ठूला पार्कहरूको नाम “गोर्की पार्क ” हुने गरेको र राजनैतिक परिवर्तनले थुप्रै कुराहरूमा हेरफेर भए पनि ती नामहरू अद्यापि गोर्कीकै नाममा रहेको भन्नुभयो ।
कार्यक्रमका अर्का वक्ता साहित्यकार सुशीलकुमार गौतमले रुसी समाज परिवर्तनमा र सोभियत समाजवादको निर्माणमा ‘आमा’ कृतिको अहं भूमिका रहेको बताउनु भयो ।
बुक क्लब भक्तपुरका अध्यक्ष ई. दिनेश प्रधान कार्यक्रमका संयोजक रहेको उक्त कार्यक्रम स्थानीय योमरी र चियापानका साथ कार्यक्रम भव्य र सभ्य सम्पन्न रूपमा सम्पन्न भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

