नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवर्द्धन गर्ने हेतुले एक दिवसीय मुक्तक तथा गजल लेखन प्रशिक्षण कार्यशाला भव्यताका साथ सम्पन्न गरेको छ।
२०७९ चैत्र १० गते शुक्रबार अपरान्ह दुई बजेदेखि नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालयको रुफ टप हलमा सो कार्यक्रम संचालन भएको हो।
पूर्व प्राज्ञ, वरिष्ठ समालोचक एवम् सुप्रसिद्ध कवि डा. देवी नेपाल प्रशिक्षक रहनु भएको सो कार्यक्रममा उहाँले मुक्तक र गजल लेखनको सैद्धान्तिक पक्षका बारेमा प्रशिक्षण दिँदै लेखन शिल्प विकासका लागि व्यावहारिक अभ्यास पनि गराउनु भएको थियो।
सो कार्यक्रममा नेपाल विध्युत प्राधिकरणका उपप्रबन्धक नारायणप्रसाद आचार्यसहित विभिन्न पद र तहका अधिकृत र सहायक स्तरका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजक संस्था विध्युतकर्मी साहित्यिक समाज सातौं कार्यसमितिका सबै पदाधिकारीहरू सो कार्यक्रममा पदेन प्रशिक्षार्थीका रूपमा उपस्थित हुनुभएको थियो ।
सबै प्रशिक्षार्थीहरूलाई लेखन अभ्यासमा सरिक गराउन समय पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमलाई विषय केन्द्रित र अनौपचारिक स्वरूपमा संचालन गरिएको थियो। सो कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले कार्यशाला गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै प्रशिक्षणका क्रममा र प्रशिक्षण पश्चात् सिर्जना हुने स्तरीय रचनाहरूलाई समाजको त्रैमासिक प्रकाशन ‘अमरज्योति’मा स्थान दिइने कुरा बताउनु भएको थियो।
उहाँले यस्ता प्रशिक्षणमूलक कार्यक्रमहरू आवधिक रूपमा संचालन गर्दै जाने वचनबद्धता समेत प्रकट गर्नु भएको थियो।
यस अघि’तीन तियाँ’,’गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेको सो संस्थाले यसपटक लेखनमा रुचि भएका नवोदित स्रस्टाहरूलाई मुक्तक र गजल लेखन शैलीका आधारभूत पक्षहरूका बारेमा ज्ञान दिने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरेको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले जानकारी दिनु भएको थियो।
प्रशिक्षण कार्यक्रम समाप्त भएपछि प्रशिक्षक डा. देवी नेपालले विध्युत प्राधिकरणका कर्मचारीले ‘विध्युतीय झटका’ दिन सक्ने मुक्तक र गजल लेख्न सक्ने कुरामा आफू विश्वस्त रहेको विचार प्रकट गर्नु भएको थियो। उहाँले प्रशिक्षणका क्रममा सिकाइएको ढाँचालाई अवलम्बन गरी साहित्यिक मूल्ययुक्त रचना सिर्जना गर्दै लेखकीय निरन्तरता कायम राख्न सबै प्रशिक्षार्थीहरूलाई शुभकामना समेत दिनु भएको थियो।
प्रशिक्षण कार्यक्रममा सहभागी कर्मचारीहरूले पनि कार्यक्रम उपलब्धिमूलक रहेको र विधागत लेखन शैलीका बारेमा आधारभूत जानकारी हासिल गरेको भनी प्रसन्नता जाहेर गर्नुभएको थियो । प्रशिक्षार्थीहरूले लेखनमा हुन सक्ने गल्ती र त्यसबाट जोगिने उपायहरू,लेखनलाई प्रभावकारी बनाउने विधि आदिका बारेमा छोटो समयमै धेरै कुरा सिकिएकोले यस्ता कार्यक्रमहरू पुन: पुन: संचालन गर्दै जानु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
४० जना प्रशिक्षार्थीहरू सहभागी भएको र करिब ३ घन्टासम्म सन्चालन भएको सो कार्यशालाको सहजीकरण विध्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले प्रशिक्षक डा. देवी नेपाललाई मायाको चिनो र ‘अमरज्योति’ साहित्यिक त्रैमासिकको ५६ औं अङ्क समर्पण गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।