चर्चित उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ‘ऐँठन’ लिएर आएका छन् । आज एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ ऐँठन सार्वजनिक गर्नुभयो ।

पुस्तकबारे बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरी लेखक ओझाले सजीव चित्रण गरेको बताउनुभयो । साथै उहाँले राज्यले द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवस्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उल्लेख गर्नुभयो ।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताउँदै पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने उल्लेख गर्नुभयो । पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उहाँको भनाइ थियो । साथै उहाँले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई सशक्त बनाएको बताउनुभयो । कलात्मक लेखन र कल्पनाको विशाल संसार निर्माणले पाठकलाई अचम्मित पार्ने उहाँको भनाइ थियो ।

नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताउनुभयो । उहाँले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताउनु भयो । लेखकले सृजनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गर्नुभयो । तर आफ्ना कथाहरू लेख्न विवेक ओझाका कृतिले प्रेरित गर्ने पनि उहाँको भनाइ थियो । पुस्तकको सशक्त पक्ष भने युद्ध लेखेर शान्तिको सन्देश दिनु रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताउनुभयो । लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने बताउँदै उहाँले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताउँदै पाठकले मनपराउने आशा व्यक्त गर्नुभयो ।