पोखरा, चैत्र ११ / शनिबार पोखरामा आयोजित दौँतरी कविता वाचन कार्यक्रममा उभिए नेपाली कविता साहित्यका दुई मानक स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठ । वि.सं. २०१२ मा बागबजारमा जन्मिनुभएका सरुभक्त र वि.सं. २०१६ मा धोबीगौँडामा जन्मिनुभएका तीर्थको घर एकै ठाउँमा पर्छ । जब दौँतरी कविका रूपमा उभिएका दुई स्रष्टाहरूको बाल्यकालको कुरा चल्यो दर्शकदीर्घामा बसेकाहरू अचम्मित बने । हिँडेर जाँदा मुस्किलले एक मिनेटको दूरीमा हुर्किएका दुई बालकहरूबीच चिनाजानी पृथ्वीनारायण क्याम्पस पढ्दा मात्रै भयो, त्यो पनि नाटक मञ्चनको सिलसिलामा ।
आज एकले अर्काको आनीबानी, प्रवृत्ति र विशेषताको मौखिक वर्णनमा घन्टौँ बोल्न सक्ने एकै ठाउँका स्रष्टाहरूसँग बाल्यकालीन उट्पट्याङका कुनै अनुभव छैनन् । न कालीखोलामा सँगै पौडिएका अनुभव छन् न त भीमकाली पाटनका बयर टिप्न जाँदाका अनुभव ।
नेपाली लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको दौँतरी कविता वाचन कार्यक्रमको शुभारम्भ कार्यक्रम सुरु हुनुभन्दा ठीक आधा घण्टाअगाडि एउटै गाडीमा कार्यक्रम स्थलमा आई पुग्नुभयो, सरुभक्त र तीर्थ श्रेष्ठ । केहीबेर कार्यक्रमको तयारीमा भएको अलमलपछि कार्यक्रम सुरु भयो । नेपाली लेखक संघ, गण्डकीका महासचिव सञ्जीव पौडेलले नेपाली लेखक संघको पृष्ठभूमि व्यक्त गरेर कार्यक्रमको थालनी गर्नुभयो ।
त्यससँगै उहाँले दौँतरी कार्यक्रम र यसको अवधारणाबारे प्रकाश पार्नुभयो । लगत्तै उहाँले दौँतरी (कविता) शुभारम्भ कार्यक्रमका दुई कवि सरूभक्त र तीर्थ श्रेष्ठलाई मञ्चमा बोलाउनुभयो । अनि कविहरूका विविध आयामको उद्घाटन गर्नका लागि कवि डा. ईश्वरमणि अधिकारीलाई पनि निमन्त्रणा गरियो।
तीर्थ श्रेष्ठद्वारा लिखित ‘हिउँमा लेखिएका नामहरू’ कविता वाचन गरेर ईश्वरमणि अधिकारीले कार्यक्रमको थालनी गर्नुभयो । त्यसपछि कविताको रचनागर्भ बताइदिन कवि तीर्थ श्रेष्ठलाई अधिकारीले आग्रह गरेलगत्तै तीर्थ श्रेष्ठले उक्त कविता रचनाको परिवेश र सरूभक्तसँगको मित्रताको उद्घाटन गर्नुभयो ।
लगत्तै सरूभक्तसँग पञ्चासेयात्राको प्रसङ्ग जोड्न अनुरोध गर्नुभयो, अधिकारीले । उक्त कवितालाई दुई साहित्यकारको मित्रताको मानकका रूपमा सो कविता प्रस्तुत गरेपछि उहाँहरूको बाल्यकालीन घटना जोडियो ।
केही कविता सुनाएपछि र दौँतरी संवाद भएपछि ईश्वरमणिले कवि तीर्थ श्रेष्ठलाई सोध्नुभयो– “भक्तराज श्रेष्ठ कसरी सरूभक्त भए ? भन्न मिल्ने जति भनिदिनुहुन्छ कि !”
उपस्थित सबैले सरूभक्त कसरी सरूभक्त भए भन्नेबारे आज जान्न पाइने भइयो भनेर उत्सुकतापूर्वक ध्यान दिएर सुनिरहेका थिए । तर कवि श्रेष्ठले बडो चलाखीपूर्ण जवाफ दिए – “फलामखानी उत्खनन गर्ने खानीमा वरिपरि तारबार गरिएको हुन्छ, जोकोहीलाई प्रवेश दिइँदैन ।”
आफ्नो साथीको त्यति गोप्य कुराको पोको जहाँ पायो त्यहीँ, सबैका अगाडि सार्वजनिक नगर्ने भन्दै मित्रता भित्रको गोपनीयताको उच्चतम नमूना प्रस्तुत गर्नुभयो । साथीले आफ्नो विगत नबताएकोमा गर्वको हाँसो हाँस्नुभयो, कवि सरुभक्त । विविध सन्दर्भमा ठट्यौली पारामा प्रस्तुत हुनुभएका कवि सरुभक्तलाई सुन्दा प्रेक्षलयमा हाँसो फैलिएको थियो । यी र यस्तै विविध रोचक सन्दर्भ जोड्दै कार्यक्रमको मेहरो अगाडि बढाइएको थियो । कार्यक्रममा दुई कविका करिब एक दर्जन कविता प्रस्तुत भएका थिए ।
पालैपालो दुवै कविका कविता प्रस्तुत गरिएको सो कार्यक्रममा लेखन, नाट्यकर्म र अन्य साहित्यिक गतिविधिमा संलग्नताका विविध आयामका बारेमा छलफल गर्दै दौँतरी संवाद अगाडि बढाइएको थियो । कविताकै क्रममा दुवै साहित्यकारहरूले साहित्यलेखनका माध्यमबाट प्रज्ञा प्रतिष्ठानको नेतृत्वसम्मका बारेमा आ–आफ्ना अनुभव पस्कनुभएको थियो ।
केही व्यक्तिगत, केही साहित्यिक, केही संस्थागत र प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहँदासम्मका विविध आयामका भित्री अन्तरकुन्तर प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सम्पन्न भएपछि कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले मायाको चिनो दिएर दौँतरी कविहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा दौँतरी कार्यक्रमको दोस्रो शृङ्खलाका रूपमा ‘दौँतरी (मुक्तक)’ कार्यक्रम गर्ने निर्णय सुनाइएको थियो । आगामी शृङ्खलामा दौँतरीका रूपमा साहित्यकार दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याउने गरी साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले खाँदा ओढाएर दोस्रो शृङ्खलामा उभिनका लागि शुभकामना दिएपछि कार्यक्रमको समापन भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।