नेपालबाट बाहिर विभिन्न देशहरुमा रहेका नेपाली बालबालिकाहरूमा नेपाली भाषा तथा नेपाली संस्कृतिको बारेमा ज्ञान हुन अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला संचालन गर्ने भएको छ ।

नेपाली पाठशाला नेपाली नयाँ वर्ष २०८० बाट सञ्चालन गर्न लागिएको हो ।

परदेशी भूमिमा रहेका बालबालिकाहरूलाई नेपाली भाषा, नेपाली कला, संस्कृति सिकाउने लक्ष्यका साथ पाठशाला भर्चुअल (जुम) माध्यमबाट सञ्चालन गरिने नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले बताउनु भयो ।

विदेशी भूमिमा नेपाली भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्य समेत रहेको उहाँले बताउनु भयो । साथै, नेपालभन्दा बाहिर जुनसुकै देशहरूबाट पनि उक्त पाठशाला कक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउन सकिने तथा सहभागी गराउन हुन सम्पूर्ण अभिभावकहरूमा आह्वानसमेत गर्नुभयो ।

भावि पुस्तालाई समेत नेपाली भाषाप्रति उन्मुख गराउनको लागि पनि यो पाठशाला सञ्चालन गर्न लागिएको हो । नेपालबाट कुशल तथा अनुभवी शिक्षकबाट संचालन हुने कक्षामा ५ वर्षदेखि १० वर्ष उमेर सम्मका बालबालिकाहरू सहभागी हुन सक्नेछन् ।

यो पाठशालामा प्रत्येक शनिबार नेपालको समय दिउँसो २:४५ बजे तथा पोर्चुगलको समय बिहान ९:०० बजेबाट २ घण्टा भर्चुअल कक्षा पढाइ हुनेछ ।

यस नेपाली पाठशालामा बालबालिकाको बौद्धिक विकासका लागि नेपाली भाषाको पढाइसँगै अतिरिक्त क्रियाकलापसमेत रहने अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले बताउनु भयो ।

अभिभावकहरूले नेपाली पाठशाला कक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउन तथा विस्तृत जानकारीका लागि नेपाली नारी समाज पोर्चुगल अध्यक्ष सीता श्रेष्ठ शिवानी whatsapp +4745548829 र अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठ whatsapp + 351920029870 मा सम्पर्क गर्न सकिने बताइएको छ।