कैलाली / धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुने भएको छ । आगामी १० गते धनगढीमा हुने साहित्य महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने हुनु भएको छ ।

सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा १० गतेदेखि १३ गतेसम्म साहित्य महोत्सव आयोजना हुन लागेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो ।

नेपाल, भारत, अमेरिका लगायतका मुलुकबाट साहित्यकारहरू धनगढी आउने पक्का भएको छ । भारतका विभिन्न प्रदेशमा रहेका नेपाली भाषीहरू पनि साहित्य महोत्सवका सहभागी हुन आउने पाण्डेले बताउनुभयो ।

विश्व नेपाली नारी साहित्यको अवसर पारेर साहित्यकार झमक घिमिरे, नवराज लम्साल र सनतराज रेग्मीलाई सम्मान गरिने भएको छ । उहाँहरूलाई जनही १ लाख ११ हजार रुपैयाँसहित सम्मान गरिने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष धनगढीमा नेपाली साहित्य महोत्सव र त्यसअघि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएका थियो । यस पटक महिला साहित्यकारहरूलाई प्राथमिकता दिँदै विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।