काठमाडौं, चैत ७ / भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उदेश्यले चैत ७ गते “विश्व कविता दिवस”को दिनको अवसरमा एक लाख राशिको पुरस्कार “भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को सूचना जारी गरेको छ |

फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार, आफ्नो कविता इमेल मार्फत पठाउनुपर्ने, कविता टाइप गरेको हुनुपर्ने, कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्ने छ ।

कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुने, एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुने छन् ।

कवितालाई कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्ने, कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने, प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ भने कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ ।

पुरस्कृत कवितालाई नगद १,००,०००/- एक लाख (प्रमाणपत्रसहित) प्रदान गरिने बताइएको छ ।

पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।

यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ ।

प्रतियोगी कविले यसअघि भ्रष्टाचार विरुद्धको लेखिएको कविता भए नभएको जानकारी गराउनुपर्ने बताइएको छ।

थप जानकारीका लागि सम्पर्कका लागि सम्पर्क गर्न अनुरोध गरिएको छः
Email: hemsaritapathak@gmail.com

Phone No : 9851059354