विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक् पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक ‘कोरोनातन्त्र’ बजारमा आएको छ ।
लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । ‘कोरोनातन्त्र’ सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रुपमा बुनेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् ।
पुस्तकको केन्द्रीय पात्र डा. शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ । हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा प्रस्तुत गरिएको छ।
इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास प्रकाशकको छ ।
नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सशक्त सर्जक रवीन्द्र समीरका तेस्रो आँखा (२०५३), पोस्टमार्टम् (२०६२), विकिरण (२०६३), ईश्वरका कथा (२०६५), अर्जुनदृष्टि (२०६७), अणु र पहाड (२०६९), व्यंग्यम् शरणं गच्छामि (२०७०) तथा एकलव्य दृष्टि (२०७१) गरी आठ ओटा लघुकथा संग्रह प्रकाशित छन् ।
यसबाहेक समीरका चाँदीको घेरा (मुक्तक संग्रह २०६२), ग्रेटवालको ग्रेट अनुभूति (नियात्रा संग्रह, २०६६), भूकम्पमा मल्हमपट्टी (संस्मरण, २०७३), मृत्युको आयु (उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । कोरोनातन्त्र (सूत्र उपन्यास) उहाँको तेह्रौं साहित्यिक कृति हो ।
समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।