
पोखरा, चैत ४ / व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगतिलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार उहाँलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथारोहण गरिएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीनदर्जन वाङ्मयिक संघसंस्थाले उहाँलाई रथारोहण गराउँदै नागरिक अभिनन्दन गरेका हुन् । पोखराको नदीपुरस्थित निवासबाट सुरु भएको रथारोहण सहरका विभिन्न भाग परिक्रमा गराउँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।
कार्यक्रममा सयौं कलाकार, साहित्यप्रेमी, व्यवसायी, विद्यार्थी, कलाकर्मीसहित सर्वसाधारण सहभागी थिए ।
बजार परिक्रमाको क्रममा बाटोमा सर्वसाधारणले विभिन्न तरिकाले उहाँलाई स्वागत गरेका थिए । अभिनन्दन समारोहमा बोल्दै संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायन व्यंग्यचित्रका पनि बादशाह रहेको बताउनुभयो । कलाको माध्यमबाट कसैले समाज र राजनीतिका विकृत तथा विसंगतिलाई चिर्न सकेको छ भने त्यो वात्स्यायनले मात्र गरेको श्रेष्ठले दाबी गर्नुभयो ।
पोखरालाई पानीरङको पाठशालाको रुपमा स्थापित गर्न पनि वात्स्यायनको भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, ‘समाज र राजनीतिका विकृति, विसंगती विरुद्ध कार्टुनका माध्यमबाट वात्स्यायनले युद्ध छेडेका छन् ।’
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा जन्मिएर कलाकारिताको क्षेत्रबाट वात्स्यायनले दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । वात्स्यायनलाई अभिनन्दन गर्न पाउनु पोखरा र पोखरेलीका लागि सौभाग्य रहेको उहाँको भनाइ थियो ।
१९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा महानगरपालिका–१३) मा जन्मनु भएका वात्स्यायनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँले जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
उहाँका चार वटा एकल चित्रकला प्रदर्शनी भइसकेका छन् । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत उहाँले कार्टुन करिअर सुरु गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

