सप्तरी, चैत ३ / लेखक तथा समालोचक डाक्टर पुष्करराज भट्टले सिमान्तकृत समुदायका बीचमा पुग्नु पर्ने बताउनु भएको छ ।
लघुकथा प्रतिष्ठानको आमन्त्रणमा पहिलो पटक सप्तरी आउनुभएका डा. भट्टले पत्रकारहरूसँग कुरा गर्दै देश बनाउन पछाडि परेका सिमान्तकृत समुदायका बीचमा पुग्नैपर्ने बताउनु भएको हो ।
नेपाली लघुकथा क्षेत्रमा संलग्न रहँदा नेपाली लघुकथामा उच्च तहको अनुसन्धान नभएकोले यसै क्षेत्रमा अनुसन्धान गर्न पिएचडी गर्नुभएका डा. भट्टले राष्ट्र बन्नका लागि बौद्धिक सम्पतिको संरक्षण हुनुपर्ने र अधिकार प्राप्तिका लागि आ–आफ्नो क्षेत्रबाट हस्तक्षेप गर्नै पर्ने आवश्यक्ता औल्याउनु भयो । पछाडि परेको समाजलाई, जीवनलाई, संस्कृतिलाई अघि बढाउने कुरामा सहकार्य हुनुपर्ने र आ–आफ्नो भूमिका बढाउनु पर्ने उहाँले धारणा राख्नु भयो ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा डा. भट्टले राज्यबाट पछाडि पारिएका र अवसरबाट वञ्चित समुदायले भोगिरहेको पीडा समान रहेको बताउनु भयो । सीमान्तकृत समुदाय निर्णायक ठाउँमा पुग्न नपाएको र पुगे पनि विस्थापित गर्ने षडयन्त्र भइरहने गरेको उहाँले बताउनु भयो । काठमाडौंको राज्यसत्ताबाट प्रताडित प्रतिभाहरू र विभेदमा परेकाहरू सबैले आ–आफ्नो क्षेत्रबाट जुटेर अगाडि बढ्न जरुरी रहेकोमा भट्टले जोड दिनुभयो ।
“लेखन, साहित्य, संगीत, कला, पत्रकारिताबाट सेवा गरेका राष्ट्रिय प्रतिभा, स्थापित स्रष्टा र पुरस्कृत व्यक्तित्वहरूलाई राज्यले सेवा, सम्मान दिन नसकेको मात्र होइन मरे, बाँचेको पनि थाहा नै पाउँदैन्,” डा. भट्टले भन्नुभयो, “राज्यका निकायहरूमा राजनीतिक आधारमा जस्को बल चल्यो, उसैको नीति, कार्यक्रम चल्ने गरेको छ ।”
संघ, प्रदेश र स्थानीय निकायका सबै संयन्त्रहरू जनताका लागि नभई पार्टी कार्यकर्ताको भर्ती केन्द्र बनाइएकोमा रोष प्रकट गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टी संगठन चलाउनु र राज्यका नियन्त्रित संस्था चलाउनुमा फरक नै पाइदैन् ।”
भाषा, साहित्य, कला संस्कृतिका सामाग्री र सम्पतिलाई उपयोग गर्ने नीति नभएकाले भएका क्षमताको पनि उपयोग हुन नपाएको उहाँले बताउनु भयो । “मातृभाषामा काम गर्ने मानिसहरू भए पनि, देशभरी विभिन्न क्षेत्रमा काम गर्ने लेखक, कलाकार, संगीतकार भएर पनि ठाउँ पाएका छैनन्”, उहाँले थप्नु भयो, “सीमित सिण्डीकेट र निश्चित घेरामा रहेका मानिसहरूले मात्र ठाउँ पाएर समग्र राष्ट्रको विकास हुँदैन ।”
बौद्धिक सम्पतिको संरक्षण सम्बर्द्धन र प्रतिभाहरूको योगदानलाई उपभोग गर्ने सोंच नै नरहेको भन्नुहुँदै डा. भट्टले राज्यको उपस्थिती सबै ठाउँमा पुग्नु पर्ने, पहिचान कायम हुनुपर्ने र जनताको बीचमा काम गर्ने नीति हुनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली साहित्य एउटै भाषमा मात्र केन्द्रित हुन नहुने बताउनु भयो । नेपालीहरूले विश्वमा जहाँ गएपनि नेपाली भाषाको माध्यमबाट काम गर्न सक्ने बताउनु भएका डा. भट्टले हिन्दी र नेपालको विभिन्न मातृभाषामा पनि साहित्यले जोड्यौँ भने आमजनताका बीचमा पुग्न सकिने बताउनुभयो । जुनसुकै भाषालाई जसले पनि ग्रहण गर्न सक्ने र भाषाको माध्यमबाट जनताको बीचमा पुग्ने र सम्प्रेषणमा बढीभन्दा बढी काम गर्न सकिने उहाँको विचार थियो ।
नेपाली साहित्य कमजोर नरहेको बरु प्रविधिबाट धेरै अगाडि आएको र आपसमा जोडिएको बताउनु हुँदै उहाँले तीनलाई गुणात्मक रूपमा प्रस्तुत गर्न सके प्रभावकारी हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले अन्य क्षेत्र झै नेपालको पत्रकारिता राजनीति केन्द्रित भएको र नेताहरूको वरिपरि घुमेको बताउनु भयो । हामी सबैले आम मानिसको बीचमा पुग्ने, समस्या पहिचान गर्ने, समाधानका उपाय पहिल्याउने, सर्वसाधारणसँग साक्षात्कार गर्ने काम गर्नुपर्ने उहाँको निष्कर्ष थियो । जनतालाई सचेत र जागृत गर्ने हामी सबैको साझा सरोकारको विषय हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रम अघि डा. भ्टलाई लघुकथा प्रतिष्ठानका संस्थापक व्यवस्थापक मनोहर पोखरेलले गम्छा, खादा र माला लगाएर तथा पुस्तक उपहार दिएर सम्मान गर्नुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, पूर्व उपाध्यक्ष गणेशलाल देव लगायत सञ्चारकमीहरू तथा मिलाफकी अध्यक्ष रमीला साह र प्रतिष्ठानकी वाचिका मीना साहको उपस्थिति रहेको थियो ।
माता राधिकादेवी भट्ट एवम् पिता स्व. गोपालदत्त भट्टको सुपुत्रका रूपमा २०३२ असार ४ गते दशरथ चन्द नगरपालिका–५, कुमाली (बैतडी) मा जन्मनु भएका डा. भट्टको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका ५, हसनपुर (कैलाली) मा रहेको छ ।
सुदूर पश्चिमाञ्चल साहित्य समाजको मुखपत्र सुुरभिमा २०५७ कार्तिकमा प्रकाशित कमैया मुुक्ति लघुकथाबाट लेखन यात्रा आरम्भ गर्नुभएका उहाँको प्रकाशित लघुकथा कृतिमा कर्मयोद्धा (२०५९), मुुक्तिदूूत (२०६२) एवम् एक थोपा सागरको (२०६४), आजका लघुकथा (संयुक्त, २०७४) रहेको छ ।
उहाँले सम्पादन गरेका कृतिमा प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७३), लघुकथाको सुगन्ध (२०७५), विनय कसजूका लघुकथा सिर्जना र विवेचना (२०७७) पुस्तक एवम् पत्रिकामा नवप्रज्ञापन लघुकथा विशेषांक (२०७३), नेपाली लघुकथा (अंक ४, २०७४) वनिता लघुकथा विशेषांक (२०७६) रहेको छ ।
नेपाल र भारतबाट लघुकथा सम्मान प्राप्त गर्नुभएका डा. भट्ट आधुनिक नेपाली लघुकथा पेजका संस्थापक व्यवस्थापक र लघुकथा प्रतिष्ठानका समीक्षक हुनुहुन्छ । नेपाली लघुकथामा अक्षयकोष सहित राखिएको पहिलो पदमा रामचन्द्र पुरस्कारका संस्थापक रहनु भएका भट्ट हाल पत्रकारिता एवम् स्वतन्त्र लेखन, अनुवाद र समालोचनामा सक्रिय हुनुहुन्छ ।
तस्बिरः सप्तरीमा डा. पुष्करराज भ्टलाई स्वागत गर्दै लघुकथा प्रतिष्ठानका संस्थापक व्यवस्थापक मनोहर पोखरेल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।