पहिचानविरोधी कोशी प्रदेश नामकरणविरूद्ध भएको विराटनगरमा आयोजित सडक कविता आन्दोलनका क्रममा कवि, साहित्यकार जनक ऋषि राईलाई प्रहरीले पक्राउ गरेको छ ।

कवि तथा साहित्यकार राई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष पनि हुन् । प्रदेशको नामकरणविरूद्ध विराटनगरमा आयोजित पहिचान पक्षधरहरूको सडक कविता आन्दोलनमा सहभागी भएर कविता पाठ गर्दै गर्दा उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश संसद भवनदेखि ५० मिटर पर कविता वाचन शुरू गर्नुभएका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो तर राईले अवज्ञा गर्नु भई साविक स्थानमा नै कविता वाचन गर्न थालेपछि उहाँलाई पक्राउ गरिएको थियो ।

महासंघ सुनसारीका अध्यक्ष राई सहित धरानका फोटो पत्रकार सञ्जय याक्खालाई पनि पक्राउ गरिएको थियो ।

किरात राई लेखक संघ, किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रा (सडक कविता आन्दोलन)मा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरू विराटनगर पुग्नुभएको थियो । आन्दोलनमा किरात सांस्कृतिक अभियन्ता भद्रगोल किरातीको पनि उपस्थिति थियो ।

प्रदेशको नामकरण गर्ने क्रममा पहिचान मेटाएर कोशी राखिएको विरोधमा पहिचान पक्षधर संघसंस्था, जातीय समुदाय र राजनीतिक पार्टीहरूले विरोधका कार्यक्रम गर्दै आएका छन् ।