कास्की / संस्कार समाज नेपालको पाँचौं वार्षिकोत्सव कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

पोखरामा रहेको रोयल दिदी बहिनी किचनमा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले समाजका तीन उदाहरणीय व्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय सरस्वति गुरूङले संस्कार समाजका गतिविधिहरू समाजका लागि अति सान्दर्भिक रहेको बताउँदै गण्डकी प्रदेशमा समाजको अभियानलाई जोड्न अनुरोध गर्दै प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै सभापति तथा संस्थाका अध्यक्ष पशुपति गुरूङले आचरण सुधार्ने अभियानमा सबैको साथ, सहयोग पाएकामा खुसी व्यक्त गर्दै अभियानमा जोडिन आग्रह गर्नुभयो । व्यक्तिका साना साना व्यवहारहरूले समाज र राष्ट्रलाई ठूलो असर गर्ने बताउँदै प्रत्येक व्यक्तिले आफ्नो कर्तव्यलाई पालना गर्ने र इमान्दारीपूर्वक आफ्नो काम गर्ने हो भने देशको आधा समस्या समाधान हुने बताउनु भयो ।

कार्यक्रमबाट समाजसेवी तथा व्यवसायी हिमानी गुरूङ, चन्द्रावती गुरूङ र कवि अमृतलाई नगद दश हजार राशिसहितको ´संस्कार-चिसकुमारी गुरूङ स्मृति समाजसेवा पुरस्कार-२०७९` प्रदान गरियो ।

कार्यक्रममा संस्कार समाजको कार्यलाई प्रशंसा गर्दै समाजसेवी अगम गुरूङ, विष्णु गुरूङ र सुरज गुरूङले शुभकामना व्यक्त गर्नु भएको थियो भने कवि मदन घिमिरेले संस्कारसँग सम्बन्धित कविता वाचन गर्नु भएको थियो ।

सचिव प्रकाश समीरले सञ्चालन गर्नु भएको कार्यक्रममा आजीवन सदस्य फुर्वा मुक्तानले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गर्नु भयो ।

संस्थाका प्रमुख अभियन्ता तथा संस्थापक अध्यक्ष पशुपति गुरूङको सम्मानमा संस्थाले उहाँकै जन्मदिनका दिन वार्षिकोत्सव मनाउँदै आएको छ ।