
पोखराका साहित्यिक र वाङ्मयिक विभिन्न संस्थाहरूले उहाँको ८१ वर्ष प्रवेशको अवसर पारी नागरिक अभिनन्दन तथा रथारोहण गर्ने भएका छन् ।
१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३)मा जन्मिनु भएका कलाकार बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो-याउन अतुलनीय योगदान गर्नुभएको छ ।
पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्नुका साथै थुप्रै अनुजहरूलाई दीक्षित गर्दै सोही मार्गमा डोर्याउनु भएको छ ।
बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनुभएको छ ।
व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पु-याउनुभएको छ ।
पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिने गरिएको छ ।
उहाँले पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि ठूलो योगदान पुर्याउनु भएको छ ।
राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किनुभएका कलाकार बराल पोखरा र यो देशकै अमूल्य रत्न हुनु भएकाले सम्मान गर्न लागेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो ।
चैत ५ गते कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूर्ण व्यक्तिलाई सहभागी हुन पौडेलले सम्पूर्ण सहकार्य गरिरहेका संस्थाहरूका तर्फबाट आग्रह गर्नुभएको छ ।
विशेष नागरिक अभिनन्दनका लागि हालसम्म ३१ वटा विभिन्न संस्थाहरू जुटेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

