राजधानीमा कविता सुन्न र सुनाउन कविहरु भेला हुनु नौलो कुरो होइन । तर फरक–फरक पुस्ताका प्रतिनिधि कविहरु जुटेर हार्दिकताका साथ कविता एकअर्काका कविता सुन्नु र सुनाउनु भने विरलै हुने संयोग हो । चैत ४ गते अर्थात् आउँदो शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही विरलै हुने संयोग हुँदैछ । एकै मञ्चमा तीन पुस्ताका तीन प्रतिनिधि कविहरुले कविता सुनाउँदैछन् ।

तीन पुस्तकका कविहरुलाई एउटै मञ्चमा उभ्याउने काम गरिरहेको छ जरुवा क्रियसन फर क्रिएटिभिटी । तीन पुस्ताका तीन कविलाई एउटै मञ्चमा उभ्याउने उदेश्यसहित सुरु गरिएको यो कार्यक्रममा अभिभावक पुस्ता, अग्रज पुस्ता र अनुज पुस्ताले एउटै मञ्च साझा गर्नेछन् । कार्यक्रमको संरचनाअनुसार एक कविले ५ वटा कविता सुनाउनेछन् ।

तीन पुस्तालाई एउटै मञ्मा जोडर एकअर्काको अनुभव, शैली र शिल्पसँग साक्षात्कार गराउने कार्यक्रमको प्रमुख उदेश्य रहेको कवि तथा गजलकार बाबु त्रिपाठीले बताएका छन् । हरेक दुई महिना हुँदै आएको यस कार्यक्रममा आफ्नो पुस्ताको प्रतिनिधित्व गर्ने कविहरुलाई सम्मानजन पारिश्रमिक समेत दिइँदै आइएको छ । कार्यक्रमको तीनवटा शृङ्खलाहरु सफलताका साथ सम्पन्न भइसकेका छन् ।

चौथो शृङ्खलामा आइपुग्दा ‘कवितामा तीन पुस्ता’मा ३० को दशकमा उदाएका अभिभावक पुस्ताका कवि राजेन्द्र शलभका साथमा अग्रज पुस्ताकी कवि गीता त्रिपाठी र अनुज पुस्ताका युवा कवि अमृत एकै मञ्चमा उभिने भएका छन् । तिनै कविले आफ्नो पुस्तालाई प्रतिनिधित्व गर्दै एकअर्काका कविता सुन्ने र एकअर्कालाई सुनाउने छन् ।

छोटो–मिठी कविता लेख्नमा माहिर शलभ लोकतान्त्रिक विचार राख्ने कविका रुपमा चिनिन्छन् । तीसको दशकदेखि अनेक भाव र रङका कवितामा पोखिँदै आएका राजेन्द्र शलभ चलचित्र निर्देशक पनि हुन् ।

४० को दशकको मध्यबाट कविता लेखन सुरु गरेकी डा. गीता त्रिपाठी रत्न राज्यलक्ष्मी क्याम्पसकी उपप्राध्यापक हुन् । साहित्य सिर्जनाका सबैजसो विधामा कलम चलाएकी डा. त्रिपाठी विशेषत: कवि हुन् । उनको आख्यान र गैरआख्यानमा समेत कवितात्मक मिठास देख्न सकिन्छ । सरल र सहज बिम्बमा लेखिएका उनका कविता बौद्धिक हुन्छन् । बौद्धिक हुँदाहुँदै पनि भावनाको प्रधानताले उनका कवितालाई संवेदनाको गहिराइसम्म पुर्याएको पाइन्छ ।

पोखराका कवि अमृतको ‘एकान्त भीड’ कवितासङ्ग्रह प्रकाशित छ । सूत्रात्मक अभिव्यक्तिमा कवितालाई मूर्त रुप दिन अमृत माहिर छन् । कोमलतामा दार्शनिकता उनका कविताको प्रमुख शक्तिका रुपमा मुखारित भएको पाइन्छ ।

कविहरु चैत ४ गते (शनिबार) कालिकास्थानस्थित सर्वनाम थिएटरमा सुनिने छन् । १ सय रुपियाँको टिकट स्रोताले तीन पुस्ताका तीन कविलाई एकै ठाउँ, एकैपटक सुन्न पाउने छन् ।

‘कवितामा तीन पुस्ता’को चौथो शृङ्खलाबाट यस साहित्यिक यज्ञमा मिडिया पार्टनरका रुपमा साहित्यपोस्ट (ई) दैनिक पनि जोडिएको छ ।