साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघ स्थापना भएको ५० वर्षको अवसरमा चार जना सम्पादकलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
संघले गत साउनबाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाउँदै आएको छ । स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको हो । संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहनुभएको छ भने पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर)मा पारसप्रकाश नेपाल र रोयल आचार्य हुनुहुन्छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान,२०७९’बाट सम्मानित गरिएको हो ।
यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान २०७९’ बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहनुभएका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दाबढी कृतिको सम्पादन गरेकाले उहाँलाई ११ हजार १०० रुपैयाँ सहितको ‘सापस स्वर्ण महोत्सब सम्पादन पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो ।
यसैगरी एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय रोयल आचार्यले करिब एक दर्जन कृतिको सम्पादन गरिसकेकाले उहाँलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो । नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफुहरुले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी दिनुभयो ।
नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्त्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले बताउनुभयो । कृति सम्पादकहरू जहिले पनि छायाँमा पर्नेहुँदा तिनको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको राईले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।