शिव प्रकाशसँग प्रेस काउन्सिल नेपालले दुई घण्टा लामो बयान लिएको छ । प्रेस काउन्सिलको पत्रको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा अनावश्यक तथा गलत आशयका कुराहरु लेखी साहित्यपोस्ट तथा यसमा आबद्ध पत्रकारको मनमर्दन गरेको विषयमा दुई घण्टा लामो बयान लिइएको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र प्रमुख सूचना अधिकारी रामशरण बोहोराले बयान लिएका हुन् ।
शिव प्रकाशले साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालालाई विज्ञापनका नाममा बार्गेनिङ गरी मानसिक तनावसमेत दिएको आरोप लगाएका थिए । बयानका क्रममा आफूसँग विज्ञापनको कुरा मात्र भएको तर आफूले गलत रुपमा बुझेको स्वीकार गर्दै पुन: यस किसिमको कार्य नगर्ने प्रतिबद्धता जनाएको प्रेस काउन्सिले जनाएको छ ।
बयानका क्रममा साहित्यपोस्टका केन्द्रीय संयोजक कृष्ण ढुङ्गेलले २ दिनअघि लेखेको फेसबुक स्टाटसको विषयले समेत प्रवेश पाएको थियो । स्टाटसमा ढुङ्गेलले लेखकको ‘पिआर’, मिडियाको ‘प्यार’ शीर्षकको रिपोर्ट नलेख्न पैसाको प्रलोभन देखाइएको उल्लेख गरेका थिए ।
ढुङ्गेलले शिव प्रकाशलाई चुनौति दिँदै लेखेका छन्, ‘… म तपाईंलाई भेट्न आतुर छु । तपाईं निडर व्यक्ति पनि हो भन्ने मैले सुनेको छु । त्यसो हो भने भेटौँ । मैले लखेको रिपोर्ट कहाँ गलत छ, मलाई सिकाइदिनुहोस् । पत्रिकाले विज्ञापन माग्नु गलत हो भने प्रमाणित पनि गरिदिनुहोस् । त्यसो भएछ भने म आजीवन तपाईंको सेवक बन्न तयार छु । होइन, प्रमाणित गर्न सक्नुहुन्न भने तपाईंको लेखन तथा तपाईंको व्यक्तित्व कति मूल्यहीन छ, यसबारे मैले केही बोल्नै पर्दैन । साहित्यिक क्षेत्रले बुझिसकेको छ ।’
यसअघि, साहित्यपोस्ट डटकममा गत माघ १८ गते प्रकाशित ‘लेखकको पिआर, मिडियाको प्यार’ शीर्षकको केस स्टडीका विषयमा लेखक शिव प्रकाशले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका थिए । उक्त प्रेस काउन्सिको पत्रलाई दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत् अनेक खालका भ्रम सिर्जना गर्ने कार्य लेखक शिव प्रकाश र उनको टिमबाट भएपछि न्यायका लागि साहित्यपोस्टले प्रेस काउन्सिलको ढोका ढक्ढक्याएको थियो ।
त्यसैका आधारमा प्रेस काउन्सिलले हप्ता दिनभित्र सचिवालयमा उपस्थित हुने बेहोराको पत्र शिव प्रकाशका नाममा काटेको थियो । प्रेस काउन्सिलले ताकेता गरेपछि उनी ढिलोगरी सचिवालयमा उपस्थित भएका हुन् ।
‘नेपाली साहित्यको उन्नयन साहित्यपोस्टको उद्देश्य हो । यसमा हामी विचलित हुँदैनौँ ।’, साहित्यपोस्टका प्रधानसम्पादक कोइरालाले शिव प्रकाशको बयानपछि प्रतिक्रिया दिँदै भने, ‘यसको अर्थ साहित्यको नाममा जेसुकै गर्ने, सामाजिक सञ्जाललाई फोहोर बनाउने र हाम्रो बदनाम गर्नेविरुद्ध हाम्रो पहिलो लडाइँ सफल भएको छ । आगामी दिनमा पनि यस किसिमका प्रवृत्तिविरुद्ध लडाइँ लडिरहने छौं । कानुनबाट पनि, कलमबाट पनि ।’
कृष्ण ढुङ्गेलकाे पूरा स्टाटसः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।