साहित्यपोस्ट डटकमका नियमित स्तम्भकार तथा प्रसिद्ध कवि, गीतकार, समालोचक सुरेश हाचेकालीलाई नेपाल सरकारले प्रदान गर्ने भाषा, साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ।
चक्रव्यूह संचेतनाका अभियन्तासमेत रहेका हाचेकालीलाई भाषा-साहित्यमा पुर्याएको योगदानका लागि पुरस्कृत गर्न लागिएको हो। पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ।
हाचेकाली त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीका उपप्राध्यापक तथा सभ्यता अनुसन्धान केन्द्रका संस्थापक सचिवसमेत हुन्।
असार १४ गतेकाे मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा अन्य श्रष्टाहरू पनि पुरस्कृत भएका छन् ।
यसरी पुरस्कृत हुनेहरूमा भाषा साहित्य विधा तर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्रा.डा. दयाराम श्रेष्ठ सम्भवलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अभि सुवेदी र प्रा. घनश्याम उपाध्याय कँडेललाई, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार कवि त्रिभुवन चन्द्र वाग्ले छन् । पुरस्कृत अन्य स्रष्टाहरूमा मोहन सिटौला, केशव सुवेदी, पदमावती सिंह, मधुसुदन गिरी, भैरव रिसाल, तर्कना शर्मा, नवराज रिजाल छन् ।
त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन हुन् ।
यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।