प्रख्यात साहित्यकार तथा पत्रकार उत्तम कुँवरको नाममा स्थापित उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यानात्मक कृतिका लागि हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कारका लागि कृतिहरू आह्वान गरेको छ ।
२०७९ को वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, अन्तरवार्ता, आत्मकथा लगायतका गैरआख्यानात्मक कृतिहरू चार प्रति गुठीमा उपलब्ध गराइदिन गुठीले आग्रह गरेको छ ।
२७ वर्षको उमेरमै “श्रष्टा र साहित्य” नामक अन्तर्वार्ता कृतिमा मदन पुरस्कार प्राप्त गर्नु भएका उत्तम कुँवर कुनै समय ‘रूपरेखा’ नामक प्रख्यात साहित्यिक पत्रिकाका प्रकाशक र सम्पादक हुनुहुन्थ्यो ।
४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तम शान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ ।
गुठीकी संरक्षक अनामिका कुँवर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो अनुरोध गरिएको हो ।
यसअघि शताब्दी वाङ्मय पुरूष सत्यमोहन जोशीको जीवनी ‘सत्यमोहन’लाई र त्यसअघि भारती गौतमको निबन्ध संग्रह ‘विगत र बाडुली’लाई पुरस्कृत गरिएको थियो ।
विगतमा यस पुरस्कारबाट मंजुल, लैनसिंह वाङ्देल,अम्बर गुरूङ, कृष्ण धरावासी, झमक घिमिरे, रामेश, गणेश रसिक, नारायण ढकाल, भुपिन, रविन्द्र समिर, कर्ण शाक्य, दुर्गा घिमिरे लगायतले यो पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

