देश किन बनेन? धेरैले भन्ने र सुन्ने वाक्य हो यो। सामान्य जवाफ छ, ‘विकास नभएर।’ हाम्रो सन्दर्भमा विकास भनेको के हो र किन विकास भएन भन्ने प्रश्न बढी मार्मिक र सामयिक छ। विकासलाई जहिले पनि सापेक्षतामा हेर्न सक्नुपर्छ।

निरपेक्ष रूपमा विकासको बहस फिका हुन्छ। त्यसैले विकासको कुरा उठाउनुभन्दा पहिला तपसिलका विषय उठाउनु सान्दर्भिक हुन्छ- नियत, गरिबी र दरिद्रता। जबसम्म हामीले यी तीन विषयलाई भलिभाँती बहसमा ल्याउँदैनौं त्यतिबेलासम्म विकास मात्र भनेर रटान लगाउनु श्रद्धेय कलाकार मदनकृष्ण दाइले भनेजस्तै टेलिफोनको खम्बामुन्तिर तरुल खोज्नु जस्तै हुनेछ।

हुन त विकासका सन्दर्भमा धेरै मतान्तर र दृष्टिकोण छन्। तर विकास सीधा अर्थमा नियत हो। जब नियत खराब हुन्छ उसले सबै कुरा असम्भव देख्छ। यो पूर्णरूपमा नकारात्मक सोचाइ हो। नकरात्मक सोच भनेको अँध्यारो हो। अँध्यारो कसलाई मनपर्छ र? हामीलाई अँध्यारोमै बाँच्न र हाँस्न बाध्य पारिएको छ।

यसलाई कसरी भनौं भने संसारमा हामी त्यस्ता अभागी नागरिक हौं, जो दु:ख भोगिरहेछौं। यसको कारण मात्र नियत हो। हाम्रो मनमस्तिष्क, बुद्धिलाई नियतले निर्देशन गरिरहेको हुन्छ। जब हाम्रो नियत खराब हुन्छ तब हामी खोलालाई खोला मात्र देख्छौं। हाम्रो नियत ठीक हुन्छ भने खोलामा पानीसँगै बिजुली पनि देख्न थाल्छौं।

हाम्रो नियत खराब हुँदा रूखलाई हरियो मात्र देख्छौं। जब नियत सफा र सकारात्मक हुन्छ तब रूखमा अक्सिजन देख्छौं। जब हाम्रो नियत खराब हुन्छ भने डाँडाकाँडालाई माटोको थुप्रो मात्र देख्छौं। जब नियत ठीक हुन्छ भने त्यहाँ हिल स्टेसन देख्छौं।

त्यसरी नै जब हाम्रो नियत खराब हुन्छ, तब हामी मानिसभित्र दलित, जनजाति, महिला, मधेसी, बाहुन, क्षेत्री, तामाङ, राई, लिम्बू आदि-इत्यादि देख्छौं। जब हाम्रो नियत ठीक हुन्छ तब हामी सबैलाई नेपाली देख्छौं। जहाँ सबै एउटै नागरिकता लिन्छन् र एउटै राहदानीले विदेश जान्छन् तब फेरि किन हामीलाई भिन्नभिन्न नाम-उपनामले जोड्न खोजिन्छ? बस् त्यही नियतले हो।

अब सन्दर्भ जोडौं गरिबीको। गरिबी भनेको सबै मान्छेले बुझ्ने पैसा नहुनु हो। तर वास्तविकता यस्तो छ। जोसँग धन छ, ऊ धनी र जोसँग धन छैन ऊ निधर्न। यो गरिब भन्ने शब्द किन आयो? यथार्थमा गरिबीको कहिल्यै पनि धन हुनु वा नहुनुसितको सम्बन्ध हुँदैन।

यहाँनेर एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने कोही धन नभएर पनि गरिब हुन्छन् भने कोही धन भईभईकन पनि गरिब हुन्छन्। वास्तवमा गरिबको अर्थ हुन्छ ‘सोच’। हैन भने झन्डै हामीसँगै २००७ साल अर्थात् सन् १९४९ मा सुरु भएको छिमेकी चीन जसले ६ वटा राष्ट्राध्यक्ष, संसारमा दोस्रो ठूलो आर्थिक हैसियत, एक घन्टाअगाडि मेचीमा उभिएको मान्छे अर्को घन्टामा महाकाली पुग्ने रेलसेवा विकास गरेको छ।

तर हाम्रो ३६ वटा प्रधानमन्त्री, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) विश्वको तुलनामा एक सय सातौं। मानव विकास सूचकांकमा एक सय ८७ देशमध्ये एक सय ५७ औं अनि पूर्व जान पहिला चार घन्टा पश्चिम जानुपर्ने। काठमाडौंबाट कन्चनपुर पुग्दा जहाजमा अमेरिका पुगिन्छ।

अब रेलको कुरै नगरौं कहिलेकाहीं विना ड्राइभरै गुड्छ। अरू त छोडौं जुम्लामा वार्षिक चार हजार टन स्याउ उत्पादन हुन्छ। दुई हजार टनभन्दा बढी निकासी नै छैन। अमेरिकामा डेढ सय वर्षअगाडि कल्पना गरिएको अन्डरग्राउन्ड रेल आजसम्म पनि उही रूपमा चलिरहेछ। यहाँ त बिहान सडक विभागले पिच गर्छ।

केही दिन बितेको हुँदैन, खानेपानी र दूरसञ्चारले खनिहाल्छन्। जबसम्म यो सोचमा परिवर्तन आउँदैन यहाँ विकास सुन्न मात्रै पाइन्छ, देख्न पाइँदैन राष्ट्रपतिले उद्घाटन गरेको खुला दिसामुक्त क्षेत्र जस्तै।

अब सन्दर्भ जोडौं दरिद्रताको। खासमा जब गरिब र निर्धनताको संक्षिप्त व्याख्या गरिसकेपछि दरिद्रताको व्याख्या गर्नु त्यति जरुरी हुँदैन। तर पनि दरिद्रताको उत्पत्तिको कारण गरिबी अनि निर्धनता हो। गरिबीले निर्धनता जन्माउँछ। जब निर्धन र गरिब मिल्छन् दरिद्रताको उत्पत्ति हुन्छ।

जस्तो- कुष्ठरोगको पहिलो लक्षण हो लाटो, सेतो फ्रुसो दाग देखिनु। जब हामी त्यसलाई हेलचक्राइँ गर्छौं तब त्यसले घाउको रूप लिन सुरु गर्छ। घाउ हुँदा पनि त्यसलाई वास्ता गरेनौं भने शरीरका अंग खस्न सुरु हुन्छ। त्यसपछिको उपचार भनेको अर्को जन्म मात्र हो। बस् दरिद्रता भनेको कुष्ठरोगको अन्तिम क्षण हो।

यहाँ त दरिद्रता कति हो कति? बौद्धिक दरिद्रता, शैक्षिक दरिद्रता, आर्थिक दरिद्रता, मानसिक दरिद्रता। त्योभन्दा पनि ठूलो राजनीतिक दरिद्रता छ। यो त असफल राष्ट्र (फेलियर स्टेट) को पहिलो खुट्किलो हो। हामीलाई भलीभाँती थाहा छ। जब अंग्रेज भारत पसेको थियो, उसले सजिलैसित भारतलाई आफ्नो मुठीमा राख्न सक्यो।

त्यसको एउटै प्रसंग लखनउका नवाफ काफी हुन्छ होला। त्यसैले अहिलेको नेतृत्व वा अरू कसैबाट नयाँ नेपालको अपेक्षा गर्नु भनेको गोहीको मुखमा परेको सिकार फुत्किनु जस्तै हो। यो देशलाई एउटा युवा झुन्डको टड्कारो आवश्यकता छ, जसले मेरो देश र मेरो नेपाल भन्नेछ, मेचीदेखि काली आफ्नै महसुस गर्नेछ र सबैभन्दा ठूलो कुरा एक्काईसौं शताब्दीलाई आत्मासात गर्नेछ।