नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु-याउने सर्जक र संस्थालाई एक समारोहका बीच पुरष्कृत गरेको छ ।

भक्तपुरको तेखापुखुमा आयोजित एक समारोहमा साहित्यिक क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, अध्यात्म क्षेत्रमा योगदान गरेवापत डा. भूचन्द्र बैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र शैक्षिक क्षेत्रमा योगदान गरेवापत मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको छ ।

पुरष्कृत सर्जक र स्रष्टालाई प्रमुख अतिथि एवं प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र संस्थाका अध्यक्ष नारायणराज पाण्डेले नगद राशि पचीस हजार र उपहार प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु महनीय कार्य भएको बताउनुभयो ।

सभापतिको आसनबाट बोल्दै नारायणराज पाण्डेले प्रत्येक वर्ष फरक फरक स्थानका प्रतिभालाई प्रतिष्ठानले पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत सर्जकहरूका साथै उत्तम नारायण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।