काठमाडौँ, फागुन २६ / साहित्यिक पत्रिकाको वर्तमान अवस्था, समस्या र समाधान विषयमा छलफल कार्यक्रमको दोश्रो श्रृङ्खला शब्दार्थ प्रकाशनको कार्यालय, चाबहिलमा सम्पन्न भएको छ ।

अघिल्लो महिना यलमाया केन्द्र, पाटनढोकामा सम्पन्न कार्यक्रम पश्चात हरेक महिना साहित्यिक पत्रकारहरूका बीचमा यस प्रकारको कार्यक्रम गर्ने सहमति बमोजिम यो दोश्रो कार्यक्रम भएको हो ।

नेपाल साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व सदस्य रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन सांसद रघुजी पन्तले गर्नु भएको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका करिब दुई दर्जन साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादकहरूको उपस्थिति रहेको थियो ।

भृकुटीका सम्पादक शार्दूल भट्टराईले कार्यक्रमको विषय प्रवेश गर्नुभएको थियो । विन्दु शर्मा, रामप्रसाद पन्त, निबन्ध आचार्य, राजेशमान के.सी., राजवल राई, गायत्रीकुमार चापागाई, सूर्य लाकोजु, नवराज रिजाल, विनयकुमार शर्मा र अश्विनी कोइरालाले साहित्यिक पत्रिकाले भोग्नु परेको समस्या, डिजिटल प्रविधिको प्रयोग, सरकारको दायित्व र सम्भावनाका विषयमा कुरा राख्नु भएको थियो ।

यसैगरी नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष तथा जनमत मासिकका प्रकाशक एवं सम्पादक मोहन दुवालले पत्रकारको हकहितका लागि संघले खेलेको भूमिका लगायत आगामी योजनाहरूका बारेमा बताउनु भयो ।

कार्यक्रमका सूत्रधारसमेत रहनु भएका झिसमिसेका सम्पादक रघुजी पन्तले भाषाको प्रवर्द्धन र विकासमा साहित्यिक पत्रिकाले खेलेको भूमिका र नयाँ नयाँ लेखक तथा साहित्यकार जन्माउन साहित्यिक पत्रिकाको के कस्तो योगदान गरेको छ भन्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

शब्दार्थ प्रकाशनको व्यवस्थापनमा भएको उक्त कार्यक्रमको सञ्चालन राजेश थापाले गर्नुभएको थियो ।