पाल्पा, फागुन २७ / धवल पुस्तकालय पाल्पाको आयाेजनामा धवल पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा गुल्मीमा रहेर पुस्तकालयकाे उन्नयन र सम्पादन कार्यमा समर्पित साहित्यकार शशी पन्थीलाई धवल दीर्घ साधना पुरस्कारद्वारा सम्मान अर्पण गरियो । धवल सिर्जना पुरस्कारबाट उपन्यासकार डा. शंकरप्रसाद गैरेकाे ‘कृष्ण’ उपन्यासलाई पुरस्कृत गरियो । यसैगरी धवल पुस्तकालयमा लामाे समय याेगदान गरेका पूर्व कार्यवाहक अध्यक्ष बुद्धिप्रसाद शर्मा र पूर्व सचिव द्वारिकाप्रसाद शर्मालाई सम्मान गरियो ।

सो अवसरमा सम्मानित व्यक्तित्वहरूको परिचय, बधाई तथा शुभकामना मन्तव्य समेत व्यक्त गरिएको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा माननीय ठाकुरप्रसाद गैरे आमन्त्रित हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा साहित्यकारहरू शशि पन्थी र डा. शंकरप्रसाद गैरेलाई आमन्त्रण गरिएको थियो ।

अतिथिका रूपमा बुद्धिप्रसाद शर्मा , द्वारिकाप्रसाद शर्मा आमन्त्रित हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, पाेखराथाेक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याल, नारी उन्नयन तथा विकास प्रतिष्ठानकी अध्यक्ष मन गहिरे, तरङ्ग साहित्य संगमका पुरुषाेत्तम अर्याल, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह, राजनीतिक व्यक्तित्व कृष्ण अधिकारी, राष्ट्रिय अनुसन्धान पाल्पाका अध्यक्ष गाेपाल पन्थी, पाल्पा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थी, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती भनभनेली लगायतका व्यक्तित्वहरूकाे उपस्थिति थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा पाल्पा साहित्य समाजकी सचिव सविता भट्टराई, साहित्यकार विष्णु घर्ती भनभनेलीले पुरस्कृत सम्मानित व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

धवल पुस्तकालयका पूर्व कार्यवाहक अध्यक्ष तथा सम्मानित व्यक्तित्व बुद्धिप्रसाद शर्माले संस्थामा काम गर्नु भनेको सामाजिक कर्तव्य निभाउनु रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बाैद्धिक प्रखरतालाई विकास गर्न धवल पुस्तकालकाे ठूलो याेगदान रहेको बताउनुभयो । कुलचन्द्र गाैतमकाे पनि यस पुस्तकालयसँग भावनात्मक सम्बन्ध रहेको सो अवसरमा उल्लेख गर्नुभयो ।

पुरस्कार सिफारिस समितिका सदस्य प्राडा हिरण्यलाल ज्ञवालीले गतवर्ष नीलकण्ठ र निर्मललाई सम्मान गरिएको र यस वर्ष संयाेगले दुवै ‘श’ शशी पन्थी र डा. शंकरप्रसाद गैरे पुरस्कृत हुनु संयाेग रहेको बताउनुभयो ।

कृष्ण उपन्यासका लागि सम्मानित डा. शंकरप्रसाद गैरेले सम्मानको माहोलले आफूलाई भावुक बनाएको अनुभूति व्यक्त गर्नुभयो । उहाँले आफू प्रतिनिधि मात्र भएको बताउँदै उपन्यास लेखन र प्रकाशनकाे सन्दर्भसमेत कोट्याउनुभयो । उहाँले ठूलो आकारको कृति लेख्छु भन्ने सपना र त्यही माेहमा कृष्ण उपन्यास लेखिएको खुलासा गर्नुभयो ।

किरण पुस्तकालयका अध्यक्ष तथा हाम्रो पुरुषार्थ साहित्यिक पत्रिकाका सम्पादक तथा धवल दीर्घ साधकका रूपमा पुरस्कृत शशि पन्थीले पाल्पा आफ्नोसमेत जिल्ला भएको ऐतिहासिक तथ्य केलाउँदै शासकका स्वार्थमा भूगोललाई विखण्डन गरिएको यथार्थ उल्लेख गर्नुभयो । पश्चिम नेपालमा शिक्षाको उज्यालो छर्ने पहिलो जिल्ला पाल्पा रहेको र त्यही कर्ममा शताब्दी पुग्न लागेको यस धवल पुस्तकालयमा २०२६ देखि आफू पनि पाठक रहेको स्मरण गर्नुभयो ।

नाम जस्तै उज्यालो इतिहास बनाएको धवलले कुनाकाप्चामा रहेका प्रतिभाहरूलाई खाेजेर पुरस्कृत गरेकोमा पन्थीले धन्यवाद व्यक्त गर्नुभयो ।

पुस्तकालय नीति निर्माण गर्नका लागि प्रतिनिधि सभामा अभियान चलाउनका लागि प्रमुख अतिथिलाई आग्रह पनि गर्नुभयो । ७७ वटा जिल्लामा एउटा / एउटा पुस्तकालय सरकारले बाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । पुस्तकालय नभई सभ्यताको संरक्षण हुन सक्दैन भन्ने उहाँको प्रष्टोक्ति थियो ।

प्रमुख अतिथि माननीय ठाकुरप्रसाद गैरेले पुरस्कृत तथा सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना दिँदै सम्मानले अझ गुरुत्तर याेगदानका लागि भूमिका खेल्न प्रेरणा दिओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो।

पुस्तकालय नीति निर्माणका लागि आफूले प्रतिनिधि सभामा पहल गर्ने प्रतिबद्धता पनि उहाँको थियो । धवल पुस्तकालयले बनाएको गुरुयोजनालाई अगाडि बढाउन आफ्नोतर्फबाट कमी हुन नदिने उहाँको वचनबद्धता थियो ।

समाजमा व्याप्त व्यक्तिवाद र अहंकारलाई नियन्त्रण गर्न सकेनाैँ भने विकृति बढ्दै जाने कुरा उल्लेख गर्दै पुस्तक पढ्ने दलानबाट उठेको धवललाई अझ अगाडि बढाउनु हाम्रो दायित्व रहेको उहाँले प्रकाश पार्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालले पुरस्कृत तथा सम्मानित व्यक्तित्वलाई बधाई दिनुभयो । त्यस्तै पुस्तकालयका काेषाध्यक्ष सन्तोष खनालले यसअघि उपस्थित जनलाई स्वागत गर्नुभएको थियो ।

पुरस्कृत तथा सम्मानित व्यक्तिहरूकाे परिचय र याेगदानमाथि प्रकाश पार्ने काम पुस्तकालयका सचिव डा. टंकप्रसाद पन्थले गर्नुभएको थियो । कार्यक्रमलाई पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले सञ्चालन गर्नुभएको थियो ।