
काठमाडौं / ०८ मार्च २०२३ को पूर्वसन्ध्यामा पूर्व सोभियत संघ र त्यसका पूर्वगणराज्यका देशहरूबाट उच्च शिक्षा हासिल गरेका विज्ञहरूको संस्था मित्रकुञ्जले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
रुसी भवन, कमलपोखरीको हलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अधिवक्ता तथा महिला अधिकारकर्मी कल्याणी शाहले दीप प्रज्ज्वलन गरी गर्नु भएको थियो ।
कार्यक्रमको संचालन गर्दै संस्थाका सचिव ई. रामविन्दु श्रेष्ठले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने यो परम्परा अमेरिका र युरोपमा भएका महिला आन्दोलनहरू र विशेषतः १९१७ मा रूसमा महिलाहरूले मताधिकार प्राप्त गरेको अवसरमा ०८ मार्चमा राष्ट्रिय छुट्टी घोषणा भएपछि शुरु भएको र सोभियत संघमा यो दिवसलाई चाडपर्व जस्तै भव्यरुपमा मनाइने हुँदा त्यसको प्रभाव स्वरुप त्यहाँबाट अध्ययन गरी फर्केका अलमुनीहरूले निरन्तरता दिएको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा पोषण विज्ञ डा. अरुणा उप्रेतीले सोभियत संघमा अध्ययनरत रहँदा त्यहाँको सामुदायिक स्वास्थ्य विषयबाट आफू निकै प्रभावित भएको र त्यहाँबाट फर्केपछि देशका दूरदराज स्थानहरूदेखि थुप्रै विदेशी मुलुकका समुदायमाझ काम गरेको दृष्टान्त रोचकपूर्वक प्रस्तुत गर्नुभयो ।
साथै उहाँले आजसम्म आफूद्वारा अनुदित र लिखित स्वास्थसम्बन्धी पुस्तकहरूको चर्चा पनि गर्नुभयो ।
यस्तै सूचना प्रविधि विज्ञ ई. गुनकेशरी प्रधानले लैंगिक समानताका लागि डिजिटल आविष्कार र प्रविधि भन्ने सन् २०२३ को नारी दिवसको मूल नारामा आधारित रहेर आफ्नो प्रस्तुतीकरण सुनाउनु भयो ।
कार्यक्रमको बीच बीचमा मित्रकुञ्जकै सांगीतिक उपसमितिका ई. सन्जय श्रेष्ठ र डा.प्रवीण प्रधानहरूले रुसी तथा नेपाली गीतहरु गाएर रमाइलो तुल्याउनु भयो ।
कार्यक्रममा सहभागीहरूका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सुषमा राजभण्डारीबाट धन्यवाद मन्तव्य, स्वागत मन्तव्य ई. सुषमा खत्री रञ्जितबाट र अन्त्य ई. महेश पाण्डेबाट भएको थियो । सभास्थल बाहिर नारी स्रष्टाहरूबाट रचित पुस्तकहरूको पनि प्रदर्शनी गरिएको थियो ।
करिब ५६ वर्षअघि स्थापित नेपालकै पुराना अलुम्युनाई संस्थाहरूमध्ये एक मित्रकुञ्जले यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

