पाँचथर जिल्लाको जोरपोखरीमा उमा ओडारीको ‘झुल्के घाम’ गजल र ‘चारु’ संयुक्त सङ्ग्रह विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरियो ।

काव्य घर नेपालले आयोजना गरेको सो कार्यक्रममा विनोद ओडारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.घनश्याम परिश्रमी, हरिचन्द्र लावती, हिलिहाङ्गका गाउपालिका अध्यक्ष समर बहादुर अधिकारी, देवी पन्थी ,लेखक उमा ओडारी, लेखकका माता पिता र काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिलाई संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा भाषाविद् हरिचन्द्र लावती,नरेन्द्र केरुङ,हिलिहाङ गाउँपालिकाका पूर्व अध्यक्ष भवानी लिङ्देन, टीका ढुङ्गेल, जीवनहरि शर्मा,पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बास्कोटा, लगायतले कृतिको चर्चापरिचर्चासँगै शुभकामना व्यक्त गर्नुभएको थियो ।

उमा ओडारीका गजल र चारु संयुक्त सङ्ग्रह झुल्के घामको समीक्षा गजलकार धनपति ढुङ्गेलले गर्नु भएको थियो ।

कृतिकार उमाको झुल्के घामबाट समाज र जीवनको महत्त्वलाई स्थापित गराउन सफल रहेको भन्दै समीक्षकले लेखकको प्रशंसा गर्नुभएको थियो ।

काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत भाषाविद् प्राज्ञ हरिचन्द्र लावती र साहित्यकार अधिकारी बिमलालाई काव्यघर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रह्लाद खरेल, हरि लोवा, नवीन लावती, लक्ष्मी भण्डारी, हरिश्चन्द्र लावती, धनपति सिटौला, पुष्कर जोशी, राजेन्द्र काफ्ले,लगायतका स्रष्टाहरूले रचना वाचनसमेत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले गजल के हो भन्ने विषयलाई प्रष्ट पार्दै झुल्के घामले नेपाली गजल क्षेत्रमा एउटा शृङ्खला चढेको र उमा ओडारीको लेखन यात्रा अझ झ्याङिने बताउनु भयो।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा पाँचथर उर्वर क्षेत्र रहेको र प्राकृतिक रुपमा मलिलो रहेको बताउनु भयो।

रविन तिम्सिना कोक्रालीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सभापतित्व काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गर्नु भएको थियो। कार्यक्रममा स्रष्टाहरू नरेन्द्र केरुङ्ग,जीवनहरि शर्मा, टीका ढुङेल, देवी पन्थी ,राजेन्द्र काफ्ले ,नवीन लोयम, डिएम कङ्दम्बा, बिमल राई लगायत तीन दर्जनभन्दा बढी सर्जकले बधाई शुभकामना मन्तव्य राख्नु भएको थियो । शब्दपथ