इतिहास जित्नेहरूको लागि हो । तर, जित्नु अरूलाई हराउनु कदापि होइन । अरूलाई हार्न नदिई आफू जित्नेहरूको इतिहास अमर अक्षरले स्वर्णलिपिमा लेखिन्छ ।

जसरी घाम सबैका लागि चम्कन्छ, । जसरी हावा सबैका लागि बहन्छ । जसरी फूल सबैका लागि फुल्छ । जसरी सबैका लागि बिहान हुन्छ । यो पृथ्वी साझा घर हो । शान्ति, समृद्धि, विकास, वृद्धि आदि सामूहिक प्रयासद्वारा मात्र सम्भव छ । कला, संस्कृति, संस्कार, परम्परा, अध्यात्म वा विचार पनि समाजको अङ्ग हुन् । साहित्य, सङ्गीत वा कलाबिनाको जीवन सम्भव छैन । यहाँ हरकोहीलाई जित्न र सफल बन्ने अवसर छ । प्रतिस्पर्धा गर्ने अधिकार छ । आफ्नो क्षमता र कलालाई तिखारेर संसारलाई चिनाउने छुट छ । मात्र निडर, अविचलित, दृढनिश्चयि, नित्यनिरन्त र आत्मविश्वासी हुनु शर्त हो ।

संसार सुन्दर छ । यो पृथ्वी केही गर्न र केही हुन जन्मनेका लागि हो । ती हिउँदका घाम, रातका जून र बसन्तका पूmलजस्तै हुन्छन् । सधैँ न्यानो भएर अरूलाई न्यानो दिइरहने । सधैँ उज्यालो छरिरहने । र, सबैको दिल र दिमागमा मगमगाएर फुलिरहने कर्मठहरूका लागि यो पृथ्वीको विकल्प अन्य ग्रह छैन ।

हो, यो गोलाद्र्धमा फरक ठाउँमा फरक पर्यावरण हुन्छ । फरक मस्तिष्कका फरक कल्पना, विचार र कला हुन्छ । फरक हुनु कुनै विकृति होइन बरु सौन्दर्य हो । तिनै फरक सौन्दर्यमध्येका एक भिन्नै आवाज, भिन्न कला र क्षमताका एक कलाकार हुन् कोयलकण्ठी, मखमली आवाजकी धनी वरिष्ठ लोक गायिका तीर्थकुमारी थापा ।

पिता हर्षबहादुर सिंह र माता ज्ञानीकुमारी सिंहकी सुपुत्रीका रूपमा तीर्थकुमारीको जन्म विक्रमाब्दको २००७ साल फागुन २३ ललितपुर महानगरपालिकाको सिद्दिपुर भएको हो । कलानिधि सङ्गीत महाविद्यालयबाट सङ्गीतको प्रशिक्षण लिनुभएका तीर्थकुमारीले वि.सं. २०२८ सालमा रेडियो नेपालमा “कहिलेमा हुने होला नानी, तिमी पीपल म वर” युगल गीत रेकर्डिङ गरेर गायन र सङ्गीत यात्राको विधिवत पर्दार्पण गर्नुभयो । लोकगायक कमल खड्कासँग गाएको सो युगल गीत अध्यापि नेपाली जनजिभ्रोको स्वादिलो गीतका रूपमा प्रशिद्ध छ ।

नेपाली सङ्गीतका कोइली, वरिष्ठ गायिका तीर्थकुमारीको आवाजमा वि.सं. २०२८ सालदेखि हालसम्म रेडियो नेपाल र विभिन्न निजी रेकर्डिङ स्टुडियोहरूबाट एक हजारभन्दा बढी लोक गीतहरू, भजन, राष्ट्रिय भावका गीत, आधुनिक गीत, विभिन्न भाषा–भाषिकाका गीतहरू र नेपालभाषा (नेवार भाषा) का अनेकौँ गीतहरू रेकर्ड भएका छन् । जसमध्ये करीब पाँच वटा लोकगीतिसङ्ग्रह, छ वटा नेवार गीतिसङ्ग्रह, एउटा लोकगीतको सी.डी. र रत्न रेकर्डिङ संस्थानबाट १३ वटा डिस्क रेकर्ड प्रकाशित छन् । एकसेएक सदाबहार ती गीत आज पनि कर्णप्रिय छन् । लोकप्रिय र नेपाली जनजिभ्रोमा झुण्डिएका छन् । ती गीतहरू रेडियो नेपाललगायत देशभरिका सम्पूर्ण एफएम, टिभी र आमसञ्चारका सम्पूर्ण माध्यमहरूबाट प्रचारप्रसार भइरहेका छन् ।

नेपाली सङ्गीतका कोइली आदरणीय गायिका तीर्थकुमारीले नेपाल सरकारको निजामती सेवा अन्तर्गत हुलाक सेवा विभाग र सञ्चार मन्त्रालय हुँदै रेडियो नेपालमा अधिकृत पदमा कार्यरत रही नेपाल र नेपालीको सेवा गर्नुभयो । गीतसङ्गीतको सेवा गर्ने लक्ष्य लिएर आफ्नो जीवनको अमूल्य उमेरको ५८ वर्ष निरन्तर साधना गर्नुभयो । बाँकी उमेर पनि गीतसङ्गीतको उत्थान, विकास र वृद्धिमा समर्पण गर्ने दृढनिश्चयी आदरणीय गायिका तीर्थकुमारीको रुचि सामाजिक सेवा नै हो ।

आफ्ना सुपुत्र प्रशिद्ध गायक, सङ्गीत प्रशिक्षक एवम् सङ्गीतकार श्री सुरजकुमार थापाज्यूसँग भर्खरै बारीको डिलमा ओखर बोट बोलको गीत युट्युबमार्फत सार्वजनिक गरी आफ्नो साधनाको निरन्तरताको प्रमाण दिनुभएका वरिष्ठ गायिका तीर्थकुमारीका
म त खाँदिन कुवाको पानी, डाँडामा माथि बिहानै घाम लाग्यो तिरिरि, ढुङ्गे बगर माया ढुङ्गे बगर, झम्के फुली नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जाँदो रैछ, माछी मार न हो दाइ हो, बारीको डिलमा ओखर बोट, कति बोलाऊँ सुसेली पुग्दैन, तालको माछा छेउ लाग्यो, सलल पानी बबईको तीरैमा, कति साह्रै जमेको पिरतीलगायतका गीतहरू सर्वाधिक प्रशिद्ध छन् । उकालो चढेर निरन्तर उकालो मै टिकिरहनु एक कलाकारको निरन्तर साधना र अविचलित कर्मको फल नै हो ।

घरदेश र परदेशमा थुप्रै पटक साङ्गीतिक कार्यक्रमहरूमा प्रस्तुति र सामाजिक संस्थाहरूको सहयोगार्थ विविध साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नुभएका वरिष्ठ लोकगायिका तीर्थकुमारी थापाले प्रवल गोरखा दक्षिणबाहू मानपदवी– २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक –२०५८, २५वर्षे सेवा स्वर्ण पदक, रेडियो नेपाल – २०५५ र गायनतर्फ – छिन्नलता गीत विशेष सम्मान तथा पुरस्कार–२०७, रेडियो नेपालद्वारा “प्रतिष्ठित श्रेणीको गायिका”, नारायणगोपाल सङ्गीत सम्मान– २०७०, दीर्घ कलाकारिता सम्मान – २०७६, राष्ट्रिय साधना म्युजिक अवार्ड, नातीकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान– २०७५, नारायणगोपाल स्मृति सम्मान– २०७८, राष्ट्रिय लोक दोहोरी महोत्सव सम्मान– २०७८, भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान– २०७८ लगायत ३ दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कार तथा सम्मानले अभिनन्दित नेपाली लोकगीतका कोइली वरिष्ठ लोकयायिका श्री तीर्थकुमारी थापाज्यूलाई ७२ औँ जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र निरन्तर सफलताको कामनासहित हार्दिक बधाई ।

(भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित ॐ ज्ञान मन्दिर स्कुलद्वारा २०५९ सालदेखि निरन्तर प्रदान गर्दै आएको राष्ट्रिय शान, सम्मान र पहिचानका लागि आफ्नो जीवन अर्पिने प्रशिद्ध साधकलाई प्रदान गरिने रु. १००००/– (रु. दश हजार) राषिसहितको ॐ ज्ञान मन्दिर सम्मान – २०७९ द्वारा मिति २०७९ फाल्गुण २७ गते वरिष्ठ लोकगायिका तीर्थकुमारी थापा सम्मानित हुँदैहुनुहुन्छ ।)