“गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं!
राष्ट्रिय फुल लालिगुराँससंगै होली मनाऔं !!” भन्ने नाराको साथ सञ्चालन भएको फागुपूर्णिमा छिम्केश्वरी पर्यटन, साहित्यिक, सांस्कृतिक मेला आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५, लाब्दीमा सम्पन्न भएको छ।

आँबुखैरेनी वाङ्मय परिषदको आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ र छिम्केश्वरी युवा क्लबको सह आयोजनामा सम्पन्न मेलामा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशम वहादुर जुग्जालीको प्रमुख आतिथ्यतामा रहेको थियो।

आँबुखैरेनी वाङ्मय परिषद्बका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेलामा स्थानिय/राष्ट्रिय कलाकार, साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो।

मेलाका विशेष अतिथि आबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले युवालाई स्थानीयस्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने र यदि वस्तु नष्ट गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने जानकारी दिएका थिए।

मेलामा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरु बिक्रीको लागि स्टलमा राखिएको थियो। अन्य स्थानबाट आयात गरिएका सामाग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकारको साथमा स्थानीय उत्पादनको प्रदर्शनी र स्थानीय खेलहरू धनुष बाण र भाला/छेलो हान्ने खेल खेलाइएको थियो।

स्थानीय/राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रमको रौनक फेरिएको थियो। होली पर्वको विशेष दिन भएकाले पनि होलीको रंगहरु सँगै सांगीतिक र सांस्कृतिक रंगहरुमा रंगीन मेलामा हजारौं दर्शकको उपस्थिति रहेको थियो। मेलाको सञ्चालन गायक कमल सापकोटाले गरेका थिए।

२,१३४ मीटरको उचाईमा अवस्थित गण्डकी प्रदेशको महत्वपूर्ण साहित्यिक गन्तव्यको रुपमा परिचित छिम्केश्वरी गोरखा मनकामनाको दिदीको रुपमा पूजाआजा गरिँदै आएको छ। छिम्केश्वरीबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, हिमचुली, मनास्लु, लाङटाङ र गणेश हिमाल सहित दर्जनौं हिमालहरू अवलोकन गर्न सकिन्छ। आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट १८ किलोमिटरको दूरीमा रहेको छिम्केश्वरीमा पूजाआजा गर्नाले मनले चिताएको कुरा पुग्ने विश्वास रहेको छ।