भरतपुर, फागुन २२ / लेखक तथा अनुवादक सुभाष घिमिरेको पुस्तक ‘अमेरिका अनुभूति’ सार्वजनिक भएको छ ।

वीपी स्मृति कोषको आयोजनामा वीपी स्मृति मार्ग भरतपुर-१६ मा गरिएको कार्यक्रममा, भरतपुर-१६का वडाध्यक्ष अमृत हमाल, नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, संविधान सभाका सभासद रामकृष्ण घिमिरे, वीपी स्मृति कोषका अध्यक्ष भानुभक्त सापकोटा, काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र निबन्धकार रेशम विरहीले कृति विमोचन गरेका हुन् ।

कृतिको बारेमा समीक्षक उदय अधिकारीले हेर्दा शान्त स्वभावका देखिने लेखक घिमिरे राजनैतिक चेत र साहित्यिक चेतले भरिपूर्ण भएको बताए । ‘अमेरिकामा बसेर लेखिएका फेसबुक स्टाटस, जन्मभूमि प्रतिको मोह, जीवन र जगतका कुराहरू यस कृतिमा समेटिएको छ । लेखकका अनुभूतिहरू पढ्दैजाँदा कतै संन्यास लिएर जीवनको तत्त्वबोध गर्नको लागि हिँड्ने हो कि जस्तो पनि लाग्छ । तर राजनैतिक पृष्ठभूमिका घिमिरेले समाज बदल्नको लागि अहम् भूमिका खेल्नुपर्छ,’ अधिकारीले भन्नुभयो।

पुस्तकका बारेमा बोल्दै रेशम विरहीले लेखक घिमिरेले आफ्नो जन्मथलोमा आएर पुस्तक विमोचन गर्नु माटोप्रतिको मोह भएको बताउनुभयो । ‘हामी विश्व साहित्य पढ्छौँ तर नेपाली साहित्यले विश्व बजार नलिएकोमा दु:ख छ । सुभाष घिमिरेजस्ता विद्वान व्यक्तिले नेपाली साहित्यलाई अङ्ग्रेजी र हिन्दीमा अनुवाद गर्नुभयो भने नेपाली साहित्य अलिक फराकिलो हुनेछ,’ विरहीले भन्नुभयो ।

पुस्तकको बारेमा शुभकामना दिँदै राजेश्वर खनाल, जीतनारायण श्रेष्ठ, रामकृष्ण घिमिरे र गीता रेग्मीले लेखक घिमिरेसँगका पुराना दिनहरू स्मरण गर्नुभएको थियो ।

लेखक सुभाष घिमिरेले २५ वर्षको अमेरिका बसाइका क्रममा आफूले अनुभूत गरेका अनेकानेक भावना र विचारहरूलाई संग्रहित गरेर पुस्तकको आकार दिएको बताउनुभयो । लेखकले जीवनमा दुई व्यक्तिहरूबाट प्रभावित भएको बताउनुभयो । `एक वीपी कोइराला र अर्को आफ्नी हजुरआमा । हजुरआमाले दिदीहरूलाई घर माइती गराइरहने माटो, जहाँ म जन्मिएँ, हुर्किएँ । त्यही ठाउँमा उभिएर आफ्नो पुस्तक विमोचन गर्न पाउँदा हर्षित भएको छु,’ लेखक घिमिरेले आफू संन्यासी हुन नखोजेको बताउँदै संन्यासी नै भएको जिकिरसमेत गर्नुभयो ।

‘पहेंलो वस्त्र पहिरिएर मन्दिरको घन्टी हान्दै रंगीन सपना बुन्ने साधुभन्दा म कयौँ गुणा साधु छु । म गाडी चढेर हिँड्छु, सुट लगाउँछु । तर मन मुटुले विलासी साधु हुँ । किनकि म आफ्ना सन्तानको जन्मको र हजुरबुवा हजुरआमाको मृत्युको साक्षी बसिसकेको छु,’ घिमिरेले बताउनुभयो ।

यो पुस्तक घिमिरेको तेस्रो कृति हो । यसअघि उहाँले प्रदीप नेपालको “२१औं शताब्दीकी सुम्निमा” र सरुभक्तको “चुली”लाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो । बिएन पुस्तक संसारले प्रकाशन गरेको यस पुस्तकको मूल्य २५० रुपैयाँ छ । पुस्तक वितरणको जिम्मा सम्पूर्ण किताब नारायणगढले लिएको छ ।