शनिबार लेखक विष्णु ढकालको ‘जौवा’ एक कार्यक्रमका बीच लोकार्पण गरियो ।
शिखा बुक्सबाट प्रकाशित उपन्यास ‘जौवा’ काठमाण्डौंको होटल हार्दिक, बागबजारमा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका संचालक पुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, चलचित्रकर्मी तेज गिरी, मनोविद तथा लेखक डा.विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई, लेखकका काका हरि ढकाल र ससुराबुबा लक्ष्मणराज ज्ञवालीबाट संयुक्त रुपमा लोकार्पण गरिएको हो ।
नेपाली साहित्यको क्षेत्रमा नवीनतम कृति लिएर झुल्किनु भएका नयाँ लेखक विष्णु ढकाल विगत लामो समयदेखि ग्राणीम बैंकिंग क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
लोकार्पण समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै कार्यक्रमका सभापति तथा शिखा बुक्सका संचालक पुष्पराज पौडेलले राम्रो औपन्यासिक कृति बजारमा आएकाले पढिदिन सबैलाई आग्रह गर्नुभयो । उक्त पुस्तकमाथि कलाकार तेज गिरीले समीक्षा तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसैगरी मनोविद् तथा लेखक डा.विजय ज्ञवालीले आफूले यस पुस्तकको पाण्डुलिपि नै अध्ययन गर्ने मौका पाएको, यस पुस्तकमा छोटा छोटा वाक्यहरू रहेकाले उक्त प्रयोगको आफूले आफ्ना पुस्तकमा अनुशरण गरेको बताउनुभयो ।
नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ, जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो । समीक्षाका क्रममा यो उपन्यास जौवा माथि आफूलाई खड्किएका केही कुराहरू समेत राख्नुहुँदै डा.ज्ञवालीले उपन्यासले औँल्याएका कालखण्डका ठूला घटना नजोडिएकोमा खड्किएको बताउनुभयो ।
त्यसैगरी समीक्षा तथा शुभकामना मन्तव्य राख्नु हुँदै समाजशास्त्री प्राध्यापक विमला भट्टराईले पुस्तकभित्र समेटिएका विषयवस्तु लयबद्ध रुपमा रहेको, पुस्तकमा समाज प्रतिको बोध रहेको बताउनुभयो ।
त्यसैगरी पत्रकार तथा समालोचक राजकुमार बानियाले पुस्तक समग्रतामा राम्रो रहेको बताउँदै उपन्यास आंचलिक भएको बताउनुभयो । उहाँले यो उपन्यासको लेखनीलाई बुद्धिसागरको कर्णाली ब्लुजसँग दाँज्न सकिने समेत बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले कृति सफलतासँगै लेखनको निरन्तरताको कामना गर्नुभयो ।
अन्त्यमा लेखक विष्णु ढकालले आफ्नो लेखकीय मन्तव्य राख्नुभयो । उक्त कार्यक्रमको संचालन प्रभु विवशले गर्नुभयो । शिखा बुक्सले प्रकाशनमा ल्याएको ‘जौवा’को मूल्य रु.५२५ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।