नेपालको एकमात्र साहित्यिक अनलाइन दैनिक र बहुअयामिक साहित्यकार महेश पौड्यालबीच व्यावसायिक सहकार्य हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागमा अध्यापकसमेत रहनुभएका महेश पौड्यालले आफ्नो लिटररी एजेन्टका रूपमा साहित्यपोस्ट डटकमलाई चयन गर्नुभएको छ । आउँदो आइतबार यससम्बन्धी सम्झैता हुने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

बिहीबार साहित्यकार पौड्यालले फेसबुकमार्फत आफ्नाे बाैद्धिक श्रमकाे उचित मूल्याङ्कन नभएको, विभिन्न प्रकाशन गृहबाट उचित पारिश्रमिक नपाएको, विभिन्न निजी संस्थाका सभासमारोहमा सित्तैमा श्रमदान गर्नुपरेको दुखेसो पोख्दै आइन्दा निःशुल्क परिश्रम नगर्ने घोषणा गर्दै कसैसँग कुनै पनि प्रकारकाे साहित्यिक साझेदारी गर्नु परे लिटररी एजेन्टमार्फत गर्ने बताउनुभएको हो । एजेन्टमार्फत काम गर्दा आफ्नो समय व्यवस्थापन गर्न सहज हुने मात्र नभई बौद्धिक शोषणको अवस्थाको अन्त्य हुने अपेक्षा आफूले गरेको लेखक पौड्यालले बताउनुभयो । यसका लागि साहित्यपोस्टसँग सहकार्य गर्ने घोषणा उहाँले फेसबुकमा गर्नुभएको हो ।

नेपालमा लिटररी एजेन्ट नियुक्ति नयाँ कुरा हो । विदेशतिर सर्जकको काम सिर्जना मात्रै गर्ने र सो सिर्जनालाई प्रकाशन गृहसम्म पुर्याउनेसँगै सर्जकलाई उचित पारिश्रमिक दिलाउनेसम्मको कार्य यस्ता एजेन्टले गर्ने गर्छन् ।

यससँगै नेपालमा पनि पारिश्रमिक नपाउने, पाउनुपर्ने रकम आधाअधुरो राख्ने जस्ता समस्या कम हुने अपेक्षा लेखक पौड्यालले गर्नुभएको छ ।

साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले विश्व साहित्य परिवेशमा लिटररी एजेन्ट नयाँ कुरा नभए पनि नेपाली परिवेशमा यो नयाँ भएकाले शुरूमा प्रकाशक तथा अन्य पक्षसँग कुरा गर्न गाह्रो हुनसक्ने बताउनुभयो । तर एक पटक यो कन्सेप्ट बुझाउन सकिएको खण्डमा नेपाली लेखकहरूको जीवनस्तरमा थोरै भए पनि सुधार हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

अमेरिका, बेलायत र भारतमै पनि प्रकाशन भएका नेपालीका पुस्तकहरूका लागि यसरी नै एजेन्टमार्फत गएर प्रकाशित भएका हुन् । यसमा एजेन्टले गर्ने मिहिनेत र लेखकको सिर्जनाको दमले ठूलो बजारमा ठाउँ पाउने गरेको कोइरालाले बताउनुभयो । उहाँले नेपालकी प्रख्यात लेखक मञ्जुश्री थापाको उदाहरण दिँदै भन्नुभयो, ‘थापाका लागि एजेन्टको काम क्यारोलिन फोर्डले गर्नुहुन्छ । क्यारोलिनले प्रकाशक खोज्नेदेखि, रोयल्टी व्यवस्थापन गर्नेदेखि विभिन्न साहित्य सम्मेलनसम्मका कार्यहरू गर्नुहुन्छ । यस्तै सिक्किमका प्रख्यात लेखक प्रज्वल पराजुलीको एजेन्टका रूपमा सुसन इयरवुड एजेन्सीले गर्ने गर्छ ।’

कोइरालाले यही स्वरूपमा आफूहरूले काम गर्न लागेको बताउनुभयो । यसले सर्जकलाई सिर्जनामा मात्र केन्द्रित हुने र स्तरीय सिर्जना पाठकले पाउने विश्वास गर्नुभयो ।

खुमप्रसाद र पुष्पा पौड्यालको कोखबाट जन्मनु भएका पौड्याल मूलत: इलाम, तथा हाल झापा, शिवसताक्षी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । अहिले भने उहाँ सूर्यविनायक ३, बालकाेट भक्तपुरमा बस्दै आउनुभएकाे छ । उहाँ १६ वर्षयता त्रिभुवन विश्वविद्यालयकाे केन्द्रिय अङ्ग्रेजी विभागमा प्राध्यापन गरिरहनु भएको छ भने विगतमा उहाँले पाेखरा विश्वविद्यालय तथा नेपाल खुला विश्वविद्यालयमा समेत प्राध्यापन गरिसक्नुभएकाे छ । सन् २००८ मा उहाँले एमफिल तहमा पोखरा विश्वविद्यालय टप गर्नुभएको थियो । त्यस्तै २००५ मा त्रिविबाट स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेपछि नेपाल विद्याभूषणबाट विभूषित हुनुभएको थियो । उहाँले भारतको मणिपुर विश्वविद्यालयमा सन् २००२ मा बिए अध्ययनताका युनिभर्सिटी टपरका रूपमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।

सन् २०१५ यता नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन रूपान्तरणको कार्यकारी सम्पादक, गोर्खाटाइम्सडटकमको पूर्वप्रधान सम्पादक, नेपाल प्रज्ञा प्रतिष्ठानकै प्रकाशन समकालीन साहित्यको पूर्व सम्पादन सदस्य आदि भएर आफ्नो साहित्यिक क्षमता प्रदर्शन गरिसक्नु भएको छ।

बाल साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायत कयौँ संघसंस्थामा उहाँको संलग्नता रहेको छ ।

उहाँले अंग्रेजी भाषाका स्कुले पाठ्यक्रमसमेत तयार पार्नुभएको छ । यसबाहेक उहाँका उपन्यास, कथा, कविता, नाटक लगायतका कृति प्रकाशित छन् । त्यस्तै उहाँले नेपालीभाषाबाट अङ्ग्रेजीमा दुई दर्जन कृति अनुवाद गर्नुभएको छ भने अंग्रेजीबाट नेपालीमा पनि उत्तिनै कृतिहरू अनुवाद गर्नुभएको छ । यसबाहेक उहाँले सम्पादन गर्नुभएका कृतिहरूको संख्या ३० भन्दा बढी छन् ।

उहाँले जापान, बाङ्लादेश, चीनका बेइजिङ तथा हङकङ, दक्षिण कोरिया, भारतका सिलिगुडी, कालिम्पोङ, नयाँ दिल्ली, तथा सिक्किमको ग्याङतोकमा विभिन्न विषयका कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ । उहाँमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखन, सम्पादन र अनुवाद गर्ने क्षमता छ ।

उहाँले जमर्को बाल साहित्य पुरस्कार, विमल स्मृति पुरस्कार, भानु साहित्य सम्मान, युवा वर्ष मोती पुरस्कार लगायतका विविध सम्मान र पुरस्कारसमेत प्राप्त गरिसक्नु भएको छ ।