जारी लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेख्न प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ ।

मञ्चका संयोजक लीलाराम खड्काका अनुसार देशभरबाट प्राप्त ६७ वटा निबन्धबाट विज्ञ टोलीले उत्कृष्ट निबन्धहरू छनौट गरेको हो । प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षकका निबन्ध उत्कृष्ट घोषित भएका छन् ।

देउमाई इलामको गन्तव्य हो भने सुपादेउराली अर्घाखाँचीको । त्यसैगरि याङ्जाकोट कास्कीका गाउँ हो ।

विजेताहरूलाई जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । उनीहरूलाई वित्तिय संस्थामार्फत् तुरुन्तै पुरस्कार रकम पठाइनेछ भने लकडाउन खुलेपछि प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ।

मञ्चले जेठ ३२ गतेभित्र गाउँघरको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध इमेलमार्फत् पठाउन आव्हान गरेको थियो ।

‘प्रतियोगिताबाट मञ्च हौसिएको छ । हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका गन्तव्यहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं’, मञ्चका संयोजक खड्का भन्छन्, ‘आगामी दिनमा पनि हामी यस्तै कार्यक्रम गर्दै जानेछौं ।’

मञ्च युवा पर्यटनकर्मीहरूको संस्था हो । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लकडाउनपछि ‘जाऔं है दोलखा’ अभियान सुरु गर्ने जनाएको छ ।