अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डीसी मेट्रो च्याप्टरको सर्जकमाझ डीसी च्याप्टर नियमित शृङ्खला-२ लाई नारी दिवस विशेष कार्यक्रमको रूपमा सञ्चालन गर्दै नारी स्रष्टा अम्बिका गुरुङलाई सम्मानित गरिएको छ । लामो समयदेखि गीत, गीतिकथा, कविता र फिल्मी क्षेत्रमा समेत योगदान गर्नुभएकी गुरुङलाई सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको संस्थाका उपाध्यक्ष कवीन्द्र सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सीता पाण्डेले डीसी च्याप्टरले नारी सर्जकलाई सम्मान गर्ने उत्कृष्ट र रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो। अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको स्थापनामा जगको काम गर्ने नन्दादेवी सुवेदीको सम्झना गर्दै उहाँकै नाममा समर्पित गजल प्रस्तुत गर्नुभयो।

संस्थाका वरिष्ठ उपाध्यक्ष रजनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले कार्यक्रम सफलताको कामना गर्नुभयो भने अनेसास केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले कार्यक्रम अत्यन्त सुन्दर र प्रभावकारी रहेको भन्दै कविता वाचन गर्नुभयो ।

बोर्ड अफ ट्रस्टीका पूर्व उपसभापति पुरु सुवेदी, अनेसास केन्द्रीय सदस्य सुदीपभद्र खनालले शुभकामना मन्तव्यसहित सिर्जना प्रस्तुत गरेको कार्यक्रममा स्वागत डीसी मेट्रोका उपाध्यक्ष सुनिता खत्री र संचालन महासचिव नीलकण्ठ सुवेदी तथा सचिव शकुन्तला अधिकारीले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रमको प्रत्यक्ष प्रसारण डीसी नेपालले गरेको थियो ।

कविता प्रस्तुत गर्ने कविहरूमा शरद निरौला, बसन्त श्रेष्ठ, कल्पना सत्याल, गोपाल रेग्मी, दुर्गा रिजाल, मन्जु निरौला, उर्मिला निर्दोषी, राधिका दाहाल, गंगा अभिलाषी, प्रकाश समीर, सुनिता खत्री, प्रेम संग्रौला, ललिता दोषी, रीतादेवी प्रधान, पुष्पा खनाल, जगन्नाथ पौडेल, सर्वज्ञ वाग्ले, गंगा गहतराज, प्रकाश नेपाल, सुनिता बस्नेत, तारा पराजुली, प्रेमप्रसाद शर्मा, शिव पोख्रेललगायत हुनुहुन्थ्यो ।

अमेरिकाका विभिन्न राज्य र संसारका विभिन्न ठाउँमा रहेर नेपाली साहित्यको विकासमा योगदान गर्ने सर्जक तथा साहित्यप्रेमीहरू उपस्थित सो कार्यक्रममा तीन दर्जन बढी स्रस्टाहरूको उपस्थिति रह्यो ।

कार्यक्रममा कविता वा सिर्जना प्रस्तुत गर्नुहुने स्रष्टालाई सम्मानपत्र प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय साहित्यसमाज केन्द्रीय समिति, बोर्ड अफ ट्रस्टी, अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधित्व गर्ने कवि साहित्यकार लगायत विभिन्न देशबाट जोडिएका दर्जनौं साहित्यकारहरूको संयुक्त उपस्थितिमा कार्यक्रम गरिएको हो भने नारीविशेष कविता वा सिर्जनाहरू प्रस्तुत गरिएका थिए । नारी समानता र सम्मानका भावहरू व्यक्त भएका उत्कृष्ट कविताहरूले यस्ता रचनाहरूले समाजलाई सकारात्मक प्रेरणा मिल्नुका साथै सिर्जनात्मक बन्न प्रेरणा मिल्ने आयोजकको दाबी छ । महिनाको अन्तिम आइतबार संचालन हुने नियमित शृङ्खलाअन्तर्गत आगामी दिनमा थप रोचक कार्यक्रम ल्याउने योजना आयोजकको रहेको छ । कृति प्रकाशन तथा अन्य सिर्जनात्मक कार्यलाई प्रोत्साहन दिंदै फरक विधामा कार्यक्रम गरिने योजना रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा दुई दर्जन बढी कविहरूले कविता, गजल, हाइकुहरू वाचन गरेका थिए ।

जगन्नाथ पौडेलबाट प्राप्त समाचार