सुवास रेग्मी

विन्ध्यवासिनी म्युजिक नामक कम्पनीका सञ्चालक सुवास रेग्मी विगत १२ दिनदेखि प्रहरी थुनामा छन् । उनले फेसबुकमा नेपाली गायक‑गायिका, संगीतकारदेखि कवि तथा गीतकारसम्मलाई केही वर्षयता अपमानित गर्दै आइरहेका थिए ।

दुई साताअघि जब गीतकार महेश आचार्यले आफूमाथि सामाजिक सञ्जालमा तथानाम गाली गरेको गुनासो गर्दै साइबर क्राइमअन्तर्गत प्रहरीलाई जाहेरी दिए, थाइल्यान्डमा बिदा मनाएर फर्किरहेका बेला प्रहरीले सुवासलाई पक्राउ गर्यो ।

यतिबेला संगीत उद्योग दुई भागमा विभाजित भएको छ । एकातर्फ संगीतकर्ममा लागिरहेका छन् भने अर्को उनका पक्षधरहरू छन् । उनका पक्षधरहरूले केही सीमित कलाकारको प्रभावमा परेर प्रहरीले गलत मुद्दामा हात हालेको बताइरहेका छन् भने पक्षधर भने लामो समयदेखि सुवासले गरिरहेको अपमानको उचित सम्बोधन भएको बताइरहेका छन् ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मीले लामो समयदेखि कलाकारहरूको रोयल्टी नदिएको आरोप लागिरहेको थियो । केही गायक तथा संगीतकारले उनको कम्पनीबाट निकालिएका एल्बमलाई आफैँले बजारीकरण गर्ने तथा युट्युबमा राख्ने आग्रहका साथ अधिकार फिर्ता माग्न जाँदा सर्जकहरूलाई भतुवा कुकुरजस्ता अनेकन आक्षेप लगाउने गरेका थिए ।

एक गायकले भने, सबैजसो गायकगायिका तथा संगीतकार प्रताडित थिए । बेलगाम रेग्मीलाई कसरी तह लगाउने भन्नेमा सबै जना चिन्तित भइरहेका थिए । यस्तोमा उनले महेश आचार्यमाथि फेसबुकमा नराम्रो टिप्पणी गरेपछि विद्युतीय कारोबार ऐनअन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीले प्रख्यात गायक नारायणगोपाललाई नाराने र भक्तराज आचार्यलाई भक्ते जस्ता सम्बोधन गरेर फेसबुकमा लेख्ने गरेका थिए ।

गायक प्रमोद खरेललाई त दिनमा ८ वटासम्म फेसबुक स्टाटस लेखेर गाली गर्ने गरेका थिए । खरेलले पनि रेग्मीसँग आफ्नो सिर्जनाको रोयल्टी माग्न थालेपछि दुवैबीच दुस्मनी बढेको बताइन्छ ।

यस्तो गिरफ्तारीले संगीत उद्योगमा हलचल मच्चाएको छ । हलचलको मुख्य कारणमा संगीत क्षेत्रका आधा दर्जन संस्थाको समर्थनका साथै उनलाई कारबाही गर्न ५७ जना कलाकारले गरेको दस्तखत पनि रहेको छ ।

आफूमाथि कारबाहीका लागि दस्तखत गरेका कलाकारहरूको हस्ताक्षरलाई रेग्मीले फेसबुक प्रोफाइलमा राखेका छन् । उनले यी सारा हस्ताक्षरको हिसाब किताब कुनै दिन हुने भनेर धम्क्याएका छन् ।

साइबर ब्युरोले रेग्मीलाई गिरफ्तार गरेपछि सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाले समर्थन गर्दै न्याय निरुपणका लागि अनुरोधसमेत गरेका छन् ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर तथा प्रस्तोता समाज नेपालका महासचिव भीषण मुकारुङद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त विज्ञप्तीमार्फत उनीहरूले पछिल्लो समय देखिएको विकृतिप्रति खेद प्रकट गरेका हुन् ।

‘पछिल्लो समय हाम्रा संस्थागत र सामूहिक अपीलहरुलाई वेवास्ता गर्दै स्रष्टा र सर्जकहरुको सिर्जना तथा कृतिहरुको आडमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका विन्द्ययवासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीले आफ्नो सामाजिक सञ्जाल, फेसुबकको गलत तबरले दुरुपयोग गर्दै देशका चर्चित तथा अग्रज गीतकार, संगीतकार, गायक, गायिका, वाद्यवादक पत्रकार, नेता तथा सामाजिक अभियन्तासमेतलाई लक्षित गरी पढ्नै र सुन्न नसकिने अपमानजनक बेइजीपूर्ण र समाजमा अफवाह फैलाउने फोहोर शब्दहरू लेखी अत्यन्त निन्दनीय कार्य गरेको प्रति हामी सिंगो सांगीतिक क्षेत्र नै दुखित भएका छौं र निजको सो कार्यप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यही विषयलाई लिएर गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दरखास्तप्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधिमूलक संघ–संस्थाहरुको तर्फबाट सुवास रेग्मीप्रति घोर भत्सर्ना गरिएको छ ।

‘आम जनसमुदायको भावनासहित उक्त जाहेरी उपर भएको अनुसन्धानमा समर्थन जनाउँदै उक्त कार्यप्रति साथ र सहयोग रहेको प्रतिवद्धतासहित भविष्यमा यस्ता प्रवृत्तिहरु सदाका लागि निर्मूल होस् भन्ने कामनाका साथ सम्बन्धित निकायलाई यस घटनाप्रति गम्भीतरतापूर्वक ध्यानाकर्षण गराउँदै न्याय निरुपणका लागि विनम्र अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।