
जनकपुरधाम / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।
मधेश प्रज्ञा प्रतिष्ठानको कार्यालयको जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प अरू केही हुन नसक्ने बताउनुभयो ।
उहाँले सङ्घीयतालाई मजबुत बनाउनका लागि संघीय निजामती ऐन शिघ्र आउनु पर्ने र प्रदेश प्रहरीको समायोजन हुनुपर्ने बताउँदै अब बन्ने सरकारको भविष्य यसैमा निर्धारण हुने दाबी गर्नुभयो । अध्यक्ष यादवले यो प्रज्ञा एकेडमीले मधेशको पहिचान र सामर्थलाई दुनियाँको सामु ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले विगतमा खोलेका धेरै विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारीहरू काम भन्दा बढी सुविधामा लागेकाले अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताउनुभयो । आज शुभारम्भ भएको मधेश प्रज्ञा प्रतिष्ठान भाषा साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले भाषा संस्कृतिको विकासका लागि मधेश प्रज्ञा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्दै मधेश आन्दोलनको कारणले नै प्रतिष्ठान स्थापना भएको बताउनुभयो ।
मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले भाषा, साहित्य र संस्कृति समाप्त भयो भने सबै थोक समाप्त हुने चर्चा गर्दै मधेश प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको विकासमा प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानको कार्यक्रममा रकमको कमी हुँदैन भन्दै विश्वास दिलाउनु भयो ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेश प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रको भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा संवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले मधेश प्रदेशमा बोलिने ८९ मातृभाषाको संरक्षण तथा विकासका लागि काम गर्ने बताउनुभयो । उहाँले गत चार वर्षको कठिन संघर्षपछि अन्ततः आज यो प्रतिष्ठान मूर्त रुपमा यहाँहरूको अगाडि पस्किन सक्दा औधि प्रशन्नता महसुस गरिरहेको छु। यो यस प्रदेशमा बसोबास गर्ने सबै भाषाभाषीको साझा मञ्चको रुपमा कामगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, प्रतिष्ठानका सदस्यद्वय गोपाल ठाकुर र दिनेशकुमार यादवले मधेश प्रज्ञा प्रतिष्ठानले मधेश तथा मधेशमा बोलिने भाषा, साहित्य संस्कृतिको विकासका साथै अनुसन्धानका क्षेत्रमा विशेष रुपमा काम गर्ने बताउनुभयो ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

