साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको नवाैँ अङ्कमा पर्शुराम घिमिरे, राजेन्द्र शर्मा र अनुग्रह राना मगर विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता रचना शर्मा, ममता मृदुल र सत्या अधिकारी विजयी हुनुभएकाे थियो ।
विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले महेश प्रसाईं, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
‘प्रतियोगिताका लागि आएका लघुकथाहरु उत्कृष्ट थिए । निर्णायकहरूबीच लामो छलफलपश्चात् पर्शुराम घिमिरे, राजेन्द्र शर्मा र अनुग्रह राना मगरका लघुकथाहरू हरेक तवरले उत्कृष्ट देखिएकाले विजेता घाेषित गरेका हाैँ,’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे ।
त्यस्तै यसअघि नै विजयी भइसक्नुभएका कथाकारहरूले पनि पुनः प्रतियोगीकै रूपमा कथा पठाउनुभएकाेमा एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि निर्णायकमध्येका श्रेष्ठले अनुराेध गर्नुभएकाे छ ।
प्रतियोगिताका लागि जम्मा ३० वटा लघुकथाहरु प्राप्त भएका थिए । जसमध्ये केही स्रष्टाहरूले ‘अप्रतियोगी’काे रूपमा प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियो । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
पढ्नुहाेस् साताैँ चरणका विजयी लघुकथाहरूः
१. लघुकथा – सपना
पर्शुराम घिमिरे“विद्यार्थी भाइ बहिनीहरू हो, पढ्न नछोड है । देश बनाउनलाई जान्ने र ज्ञानी बन्नुपर्छ ।
सरस्वती ! खै पढेकी ? मैले नै पढाएर तिम्रो बुबा डाक्टर, काका इन्जिनियर र फुपू न्यायाधीश हुनुभएको छ ।
कोरोनाको कहरमा बरु मलाई केही दिनु पर्दैन । एक अम्खोरा पानी खाए टम्म पेट हुन्छ । पढाउन नपाएर म कत्ति दु:खी छु, हेर त मलाई…….”, कमल गुरु भन्दै थिए ।
“यस्तो असुरक्षित अवस्थामा विद्यालय नआउनु भनेको होइन ? खालि कक्षा कोठाभित्र कसलाई पढाउनु भएको ?”, मैले भनेँ ।
“पढाउन नदिने प्रिन्सिपललाई छोड्दिनँ !”, भनेर उनले मेरो घाँटी समाते ।
“किन कराउनु भएको यस्तरी ? ऐँठन भयो ?”, अर्धचेतन अवस्थामा श्रीमतीको आवाज सुनेँ ।
उज्यालो भुइँमा खसेकै रहेनछ । सम्भावित कहालीलाग्दो शैक्षिक परिस्थितिलाई सम्झेर, स्वर्णीम दिवा स्वप्नहरु मिर्मिरेमै मेरो आँखाबाट भुइँमा खसे ।
२. लघुकथा : आकाशवाणी
राजेन्द्र शर्मा“छोरा जमाना कोरोनाकालको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले पनि महामारी घोषणा गरेको छ । तिमी आफ्नो राम्रो ख्याल गर्नु । घरबाहिर जान बन्द गर है । घरबाहिर जानु परे मास्क, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नु । साथै सरकारले हाम्रै लागि गरेको बन्दाबन्दीको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो, बुझ्यौं ।”
“ह्या डेडीमम्मी, हजुरहरू पनि कति डराउनु हुन्छ । म हजुरहरू जस्तो बूढो, रोगी होइन के । म हृष्टपुष्ट युवक हुँ । कोरोनाले मलाई केही हुन्न । हजुरहरू आफ्नो ख्याल गर्नु । यी ज्ञानगुनका कुरा हजुरहरूसँगै राख्नुहोस् । म त हिँडे साथीहरू कहाँ नयाँ वर्ष मनाउन ।”
===
“त्यस दिन यत्ति कुरो मात्रै भएको थियो । त्यसको पाँच दिनपछि त उसलाई कोरोना लागि गो । उसको अवस्था नाजुक हुँदै गयो । आइसियूबाट भेन्टिलेटरमा सारियो, तर पनि अहँ, टसको मस भएन । अन्ततः भगवानको प्यारो भयो । त्यसको अन्तिम संस्कार पनि विधिविधानले नहुने भयो ।”, भन्दै आमा रुँदै अन्तिम संस्कारका लागि आएका मानिसका अगाडि आफ्नो छाती पिट्दै बिलौना गर्दै थिइन् ।
किरिङ …. साइरनको आवाजसँगै प्रहरीको स्कर्टिङमा सेनाको गाडी आयो । अन्तिम संस्कारका लागि उपस्थित व्यक्तिहरू सतर्क भए । केही समयपछि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित केही व्यक्ति गाडीबाट झरे । गाडीको पछाडि राखिएको सेतो पोलेथिनले बेरेको लास निकालेर न कुनै कर्म न कुनै संस्कार उसको अन्त्येष्टि सुरु गरियो ।
एकाएक लासमाथि मडारिँदै गरेको कालो धुवाँले कोरोना विषाणुको रूप लियो । उक्त सन्नाटामा खित्का छोडेर हाँसोसँगै बोलेको आवाज सुनियो, “यो यसको हेलचक्राइँको परिणाम हो । घरभित्र बस भनेको सुनेन । साबुन पानीले हात मिचिमिचि धोऊ भनेको धोएन । खै मास्क, खै सेनिटाइजर ? केही प्रयोग गरेन । मसँग जिस्किने । भोग परिणाम । हा ! हा ! अब तिमीहरूको पालो ।”
यो आकाशवाणी सर्वत्र फैलियो । तर आमाहरू रुने क्रम भने रोकिएन ।
३. लघुकथा – त्रास
अनुग्रह राना मगरअहा ! धेरै वर्षपछि परदेशबाट छोरा घर आउने भयो भनेर रामबहादुर अति नै खुसी थिए । तर गाउँघरको छिमेकी भने खिन्न मन पारेर त्रासमा जीवन जिउँदै थिए । सबैलाई थाहै थियो । यो डरलाग्दो नचिनिने आतङ्क, जसको कारण आफूले जन्म र कर्म दिएको आफ्नै सन्तानलाई पनि आजकल गाउँघरमा भएको एक-अर्कालाई होच्याउँदै गरिने छुवाछुतको भेदभावमा झैँ व्यवहार गर्नु पर्ने । ‘कस्तो अचम्मको बिडम्मना यो ? कठै !’ भन्दै पुर्पुरोमा हात राख्दै , छोरा आउने दिनको बाटो हेर्दै बसेका थिए धनेका बुबा रामबहादुर ।
म पनि छिमेकीको नाताले सम्पूर्ण कोरोनाबाट बँच्ने उपायको आज्ञापालन गरी रामबहादुर बसेको ठाउँतिर गएँ । साइनोमा दाइ भन्थेँ ।
“दाइ किन झोक्राएर बस्नु भएको ? के भयो र ?”, प्रश्न गरेँ ।
“खै के भनौँ भाइ ! हेर न, कस्तो यो अचम्मको भाइरस आयो । आफ्नै सन्तानमाथि पनि शङ्का गर्नु पर्ने, धनेले घर आउँछु बुबा भनेको थियो । म खुसीले गदगद थिएँ । धनेले घर छोडेर हामीलाई सुखमा राख्ने सपना देखेर परदेश लागेको पनि धेरै भइ सकेको थियो । यो खुसीको कुरा गाउँमा सुनाएँ । सबै खुसी होलान् भन्ठानेको त सबैले भन्छन्, ‘त्यसलाई उःपर एउटा छाप्रो बनाएर राख । विदेशमा त झन् कति हुन्छ रे.. कति त्यो कोरोना’ भनेर भने भाइ । अब म के गरौँ ? आउँदै गरेको छोरालाई कसरी यता नआइज् भनौँ ? दोधारमा छु । यसको हल कसरी गर्ने भनेर सोचिरहेको छु । नआइज् भनौँ भने आफ्नै सन्तान , आइज् भनौँ भने गाउँमा फैलिने “त्रास” र गाउँकै अपहेलना । मैले कुनचाहिँ सहने ?”
त्यतिकैमा धनेको फोन आयो, “हेलो बुबा .. मेरो फ्लाइट क्यान्सल भयो । अहिले आउन नपाउने रे.. अब अर्को वर्ष आउँला ।” यति भनेर फोन राख्यो धनेले । खुसी र दु:खी मन एकैचोटि क्षणभरमै परिवर्तन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।