साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको आठाैँ अङ्कमा रचना शर्मा, ममता मृदुल र सत्या अधिकारी विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता शुक्रराज कुँवर, विष्णु भण्डारी (आचार्य) र लक्ष्मीप्रसाद पाैडेल विजयी हुनुभएकाे थियो ।

विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले भागीरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

‘प्रतियोगिताका लागि आएका लघुकथाहरु उत्कृष्ट थिए । उत्कृष्टमध्येबाट पनि सर्वोत्कृष्टकाे छनाेट गर्दा तीनै यस चरणमा महिला पर्नु भएको छ । निर्णायकहरूबीच लामो छलफलपश्चात् उहाँहरूका लघुकथा हरेक तवरले उत्कृष्ट देखिएकाले विजेता घाेषित गरेका हाैँ’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे, ‘हामीले यस अङ्कका लागि वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई प्रमुख निर्णायककाे रूपमा आमन्त्रित गरेका थियौँ । संयोग नै भनाैँ, प्रमुख निर्णायक महिला भएकाे यस चरणकाे प्रतियोगितामा विजयी पनि महिलाहरू नै हुनुभएकाे छ ।’

त्यस्तै यसअघि नै विजयी भइसक्नुभएका कथाकारहरूले पनि पुनः प्रतियोगीकै रूपमा कथा पठाउनुभएकाेमा एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि निर्णायकमध्येका श्रेष्ठले अनुराेध गर्नुभएकाे छ ।

प्रतियोगिताका लागि जम्मा ३७ वटा लघुकथाहरु प्राप्त भएका थिए । जसमध्ये केही स्रष्टाहरूले ‘अप्रतियोगी’काे रूपमा प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियो । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

पढ्नुहाेस् साताैँ चरणका विजयी लघुकथाहरूः