साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको चाैथाे अङ्कमा मीरा काफ्ले, गणेशप्रसाद भट्टराई र मनीषकुमार शर्मा समित विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता दिव्य गिरी, राजु क्षत्री अपूरो र चोपनारायण बन्जाडे विजयी हुनुभएकाे थियो ।

विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले किशाेर पहाडी, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा मीरा काफ्ले, गणेशप्रसाद भट्टराई र मनीषकुमार शर्मा समितलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

‘प्रतियोगिताका लागि आएका लघुकथाहरु उत्कृष्ट थिए । यसपटक प्राप्त लघुकथा अघिल्लाे अङ्ककाे तुलनामा केही थाेरै भए पनि एकअर्कामा बढी प्रतिस्पर्धी थिए ।’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे, ‘हामीलाई उत्कृष्ट तीनकाे छनाेट गर्न धेरै नै सकस भयाे । आफ्नाे सीमितताका कारणले उत्कृष्ट हुँदाहुँदै पनि तीनभन्दा बढीलाई पुरस्कृत गर्न सकेनाैँ ।’

प्रतियोगिताका लागि जम्मा ३८ वटा लघुकथाहरु प्राप्त भएका थिए । जसमध्ये केही स्रष्टाहरूले ‘अप्रतियोगी’काे रूपमा प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियो । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पाँचाैँ चरण भोलि अर्थात् शुक्रबारबाट सुरु हुनेछ ।