साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेस्राे अङ्कमा दिव्य गिरी, राजु क्षत्री अपूरो र चोपनारायण बन्जाडे विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे पहिलाे साता रमेश भट्टराई “पुजारी”, दुर्गा वनवासी र अमर त्यागी विजयी हुनुभएकाे थियो भने दाेस्राे साता धन्वन्तरि मिश्र, प्रा.डा. तारानिधि भट्टराई र लता केसी विजयी हुनुभएकाे थियो ।

विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले प्राध्यापक डा. कपिल लामिछाने, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा दिव्य गिरी, राजु क्षत्री अपूरो र चोपनारायण बन्जाडेलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

प्रतियोगिताका लागि जम्मा ५० वटा लघुकथाहरु प्राप्त भएका थिए । जसमध्ये केही स्रष्टाहरूले ‘अप्रतियोगी’काे रूपमा प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियो । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

‘प्रतियोगिताका लागि आएका लघुकथाहरु उत्कृष्ट थिए । हामीले विषयवस्तु केन्द्रित भएर लघुकथा पठाउन आव्हान गरेका थियौँ ।’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे, ‘तर यो पटककाे लघुकथा प्रतियोगितामा प्रतियोगी कथाकारहरूले विषयलाई ध्यान नदिएकाे देखिएकाे छ । लघुकथा हामीले दिएकाे विषयकाे वरपर रहेर पठाउनुपर्ने थियाे, तर हामीले उत्कृष्ट लघुकथाहरूलाई समेत विषयविमुख भएका कारणले पुरस्कृत गर्न सकेनाैँ ।  प्रतियोगी कथाकारहरूलाई निर्णायककाे तर्फबाट दिएकाे विषयवस्तुमा गम्भीर हुन अनुराेध गर्दछु ।’

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको चाैथाे चरण भोलि अर्थात् बुधबारबाट सुरु हुनेछ ।

पढ्नुहाेस् विजयी लघुकथाहरूः