साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको दाेस्राे अंकमा धन्वन्तरि मिश्र, प्रा.डा. तारानिधि भट्टराई र लता केसी विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे पहिलाे साता रमेश भट्टराई “पुजारी”, दुर्गा वनवासी र अमर त्यागी विजयी हुनुभएकाे थियो ।
साहित्यपोस्टको सर्वर परिवर्तन हुँदा साहित्यकारले प्रतिस्पर्धाका लागि पोस्ट गर्नुभएका लघुकथाहरु नयाँ सर्वरमा प्राप्त नभएका कारण क्षमायचनासहित पुनः प्रारम्भ गरिएकाे लघुकथा प्रतियोगिताकाे दाेस्राे अंकमा केही कथाकारहरु उत्कृष्ट हुँदाहुँदै पनि थोरै अंकले पछाडि पर्नुभएकाे निर्णायकमध्येका प्रमुख निर्णायक सरूभक्तले बताउनुभयाे ।
विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले सरूभक्त, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
लघुकथा प्रतियोगिताकाे दाेस्राे चरणमा प्रतियोगीका रूपमा ५० वटा लघुकथाहरू प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
‘प्रतियोगिताका लागि प्राप्त धेरै लघुकथाहरु उत्कृष्ट थिए । तर सीमितताका कारण उत्कृष्ट हुँदाहुँदै पनि सबै लघुकथालाई हामीले पुरस्कृत गर्न सकेनौँ ।’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयो, ‘हामीले विषयवस्तु केन्द्रित भएर लघुकथा पठाउन आव्हान गरेका थियौँ । तर केही लघुकथा हामीले दिएको विषयबाट विमुख थिए । जुन आफैँमा उत्कृष्ट हुँदाहुँदै पनि विषयभन्दा बाहिर भएकाले पुरस्कृत हुन सकेनन् ।’
आयोजकका अनुसार प्रेममा केन्द्रित लघुकथा पठाउनुपर्नेमा केही राम्रा लघुकथाहरु विषयबाट विमुख भएका कारणले सर्वोत्कृष्ट हुनबाट वञ्जित बने ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेस्राे चरण भोलि अर्थात् साेमबारबाट सुरु हुनेछ ।
पढ्नुहाेस् विजयी लघुकथाहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।