हालै भारतले भ्यालेन्टाइन्स डेका दिन काउ हग डे अर्थात् गाईलाई अँगालो हाल्ने दिनका रुपमा मनाउने घोषणा ग¥यो तर पछि सो घोषणालाई फिर्ता लिइएको थियो ।
भारतको एनिमल वेलफेयर बोर्ड अफ इन्डियाले सो घोषणा गरेको र विरोधपछि फिर्ता गरेको थियो ।
भारतको मत्स्य पालन, पशुपालन एवं डेयरी मन्त्रालयले दिएको निर्देशनअनुसार एनिमल वेलफेयर बोर्डले गाईलाई अँगालो हाल्ने दिनलाई फिर्ता लिइएको थियो ।
वास्तविक मुद्दालाई किनाराकृत गर्न यस्तो होहल्ला मच्चाइएको हल्ला पनि नचलेको होइन । १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाइन्छ । यस्तै १२ फेब्रुअरीमा अँगालो दिन अर्थात हग डे मनाइन्छ ।
खैर, के गाईलाई अँगालो हाल्दा केही पाइन्छ त ? केही फाइदा हुन्छ त ? फाइदा हुन्छ भने कस्तो फाइदा हुन्छ ?
पछिल्लो समय अनेकन् प्रयोगहरु भइरहेका छन् । बाख्राहरुको भिडमा योग गर्नेदेखि लिएर घण्टी बजाउँदा सुताईमा हुने प्रभावजस्ता अनेकन् स्वास्थ्यका फन्डाहरु हरेक पटक ट्रेन्डिङमा आउने गरेका छन् । यस्तै एउटा शब्द छ, ‘काउ नफलेन’ अर्थात गाईलाई अँगालो हाल्नु ।
यस्तो परम्परामा गाईसँग टाँस्सिएर बसिन्छ र यस्तरी बस्दा मनमा शान्ति बढ्ने विश्वास गरिन्छ । केही मानिसहरुले त गाईगोठ भ्रमण गराउने, त्यहाँ कुनै विशेष गाई छान्न लगाउने, त्यसलाई अँगालो हाल्ने वा गाईसँग मस्त टाँस्सिएर बस्नेजस्ता क्रियाकलापहरु गराइन्छ । यही क्रियाकलापलाई काउ नफलेन भन्ने गरिएको हो ।

थेरापीको अंश
गाईको ढाड थप्थपमाउनु, उसलाई सुम्सुम्याउनु, उसलाई कन्याइदिनु वा ऊसित टाँस्सिएर बस्नु, अँगालो हाल्नु जस्ता कुरा थेरापीका अंश हुन् ।
गाईले पनि यसरी छेउमा बसेका मानिसहरुले कन्याइदिएकामा आनन्द मान्ने मात्र होइन, उसले चाट्ने पनि गर्छन् । गाईले अँगालो हालेको मान्छेलाई चाट्यो भने ती दुईबीच विश्वासको वातावरण बनेको र एकअर्कालाई मन पराएको ठानिन्छ ।
गाईको शरीरको तापमान, सुस्त ढुकढुकी र ठूलो आकारका कारण टाँस्सिएर बस्नेलाई शान्ति र ढुक्कको महसुस हुने गर्छ । यो एउटा सुखदायक अनुभव पनि हुन्छ । यति मात्र होइन, स्वयं गाईलाई पनि यसले राम्रो अनुभव गर्ने गर्छ । यो त उसको ढाड वा घाँटी कन्याइदिएजस्तो हो ।
यति मात्र होइन, गाईसँग टाँस्सिएर बस्नु, तिनलाई चाट्न दिनुका पनि आनन्ददायक अनुभूतिका कुरा हुन्छन् ।

अक्सिटोसिन हार्मोन
नेदरल्यान्ड्समा गाईगोठ चलाइरहेकी एक महिला भन्छिन्, गाईहरु सामान्यतः ज्यादै शान्तिपूर्ण हुन्छन् । उनीहरु बिनाकारण कसैसँग झगडा गर्दैनन्, कसैलाई दुःख दिँदैनन् । अझ केही गाई त अँगालो हाल्न पाउँदा खुसी हुन्छन् । उनीहरुलाई दिक्क लाग्यो भने मात्र मान्छेको भिड छाडेर अन्तै बाटो लाग्छन् तर प्रायः उनीहरु मान्छेको उपस्थिति राम्रै मान्छन् ।
गाईलाई अँगालो मार्दा मानिसको शरीरमा अक्सिटोसिन निस्कन्छ । यही तत्त्वका कारण मानिसले खुसी र आनन्दको महसुस गर्ने हो । राम्रो सामाजिक सम्पर्कका बेला पनि यो तत्त्व निस्कने गर्छ ।
अक्सिटोसिनले सन्तुष्टिको भावना उत्पन्न गर्छ, तनाव कम गर्छ र साथीहरुसँग भेटघाट गर्दा जुन मनको शान्ति उत्पन्न हुन्छ, ठीक त्यही बेला शरीरमा यसले अक्सिटोसिन उत्पादन गर्छ भन्ने विश्वास गरिन्छ ।

मनको शान्ति
घरपालुवा जनावरहरुलाई अँगालो हाल्दा मनको शान्ति पाइन्छ र ती जनावर ठूला छन् भने त झनै आनन्द पाइन्छ ।
मानौं, तपाईं घरको सोफामा एउटा बिरालोलाई काखमा लिइरहनु भएको छ र त्यसलाई कन्याइदिइरहनु भएको छ, यस्तोमा जब त्यो बिरालोले आनन्द लिइरहेको छ भने तपाईंमा त्यो बेला जुन आनन्दको वर्षा हुन्छ, ठूला आकारका जनावरहरुलाई त्यसरी नै सुम्सुम्याउँदा अझ बढी आनन्द पाइने हुन्छ । यो वैज्ञानिकहरुले गरेको अध्ययन निष्कर्षले पनि देखाएको छ ।
एक दशक पहिले नेदरल्यान्ड्सको ग्रामीण क्षेत्रमा जनावरहरुसँग बढीभन्दा बढी समय बिताउन सकियोस् भनेर अभियान नै शुरु गरिएको थियो । अचेल त यो अभियान निकै ठूलो भइसकेको छ । यस अभियानका कारण सर्वसाधारणले आफूलाई प्रकृति र गाउँले जीवनसँग साक्षात्कार भएको प्रतिक्रिया दिएका थिए । त्यहाँका सर्वसाधारण कुन बेला छुट्टी होला र गाउँमा गएर गाईसँगको सामीप्य महसुस गरौँला भनेर सोच्नेहरु पनि पर्याप्त पाइन्छन् ।
अचेल त यस्तो अभियान फैलिएर स्विट्जरल्यान्ड र अमेरिकासम्म पुगेको छ । यसले मानिसहरुको तनाव निकै कम भएको समेत बताइने गरेको छ ।
के उसो भए, मान्छेले मात्र यो सुखानुभूति महसुस गरिरहेका होलान् त ? गाईलाई चाहिँ मज्जा आउँदैन त ?
केही वैज्ञानिकहरु चाहिँ यो रमाइलो र मज्जा दुईतर्फी नै हुने दाबी गर्छन् ।
सन् २०१७ मा गरिएको एउटा अध्ययनका अनुसार गाईको गर्धन र पिठ्युँका केही खास ठाउँमा मसजा गर्दा अशान्त गाई पनि शान्त भएको र आनन्दले जमिनमा पल्टिएको पाइएको थियो । यो शोध एप्लाइड एनिमल बिहेभियर साइन्स जर्नलमा समेत प्रकाशित भएको थियो ।
अब कुन दिनदेखि चिकित्सकहरुले तनावको शिकार भएका मानिसहरुलाई गाई पाल्ने वा गाउँमा गएर गाईसँग अँगालो हालेर बस्ने सुझाव दिने दिन अब धेरै टाढा छैन ।