हाम्रा सारा कुराहरू मस्तिष्कले नियन्त्रण गरेको हुन्छ । मस्तिष्क यति व्यस्त हुन्छ कि दिनरात ऊ आफ्नो काममा व्यस्त हुन्छ । मस्तिष्कको यो निरन्तरको कामका कारण ऊ थाक्ने गर्छ । मस्तिष्क अर्थात् दिमाग थाक्यो भने मानिस पनि थाक्छ । हातगोडा चलाएको छैन र पनि किन थाकेँ भनेर मान्छे अक्सर सोच्ने गर्छ । खास कारणले गर्दा मान्छेले थाकेको महसुस गर्ने गर्छ ।
कसैसँग कुराकानी गर्दा, कोठेपद प्रतियोगिताका कोठा भर्दा धेरै दिमागी ऊर्जा खर्च हुँदैन । बरू उसलाइ रमाइलो महसुस हुने मात्र होइन, चङ्गा र हलुङ्गो महसुस भइरहेको हुन्छ । आखिर त्यो पनि त दिमागी काम हो नि, होइन र ? कोठेपद भर्दा नथाक्नु र अन्य काम गर्दा किन थाकिन्छ होला ?
यसबारेमा अमेरिकाको केन्ट विश्वविद्यालयका प्राध्यापक स्यामुअल मारकोराले एउटा प्रयोग गरेका थिए । यस प्रयोगमा ९० जना सहभागीको दुई वटा समूह बनाइएको थियो । यसमा एउटा समूहलाई मस्तिष्कको कसरत भएको भिडियो गेम खेल्न लगाइयो । अर्कोलाई भने वृत्तचित्रहरू हेर्न दिइयो ।
यसपछि दुवै समूहका सहभागीहरूलाई साइकल चलाउन दिइयो । जसले दिमाग वा सोच्नुपर्ने काम गरेका थिए, उनीहरू तीव्र गतिमा पाइडल चलाइरहेका थिए । वृत्तचित्र हेर्ने समूहमा मानिसहरू भने बिस्तारै पाइडल चलाइरहेका थिए । तर बिस्तारै पाइडल चलाउनेहरूले तीव्र गतिमा चलाउनेभन्दा निकै लामो समयसम्म चलाउने काम गरे ।
यही प्रयोगका आधारमा मारकोराले मस्तिष्कको काम र हृदयसम्बन्धी प्रतिक्रियाहरू जस्तै, रक्तचाप, अक्सिजनको खपत र मुटुको ढुकढुकीको पनि अध्ययन गरे । सो अध्ययनका आधारमा उनले के निष्कर्ष निकाले भने शरीरलाई थकाउनका लागि मस्तिष्कको गतिविधि मात्र पर्याप्त हुँदैन । शरीर त्यो बेला मात्र थाक्छ, जब दिमागका साथसाथै शारीरिक कामहरू पनि गरिन्छ ।
मस्तिष्कको जैविक क्रियाहरू अध्ययन गरिने मनोविज्ञानको एउटा शाखा मनोजैविकी विधामा काम गर्ने वैज्ञानिकहरूका अनुसार हाम्रो वजनको दुई प्रतिशत अंशले हाम्रो ऊर्जाको २० प्रतिशत खर्च गर्छ । यस आधारमा दिमागी काम गर्दा शरीर थाक्छ भन्न नसकिने तर ऊर्जाको खपत पर्याप्त हुने हुनाले हाम्रो गति घट्ने कुरामा भने वैज्ञानिकहरू सहमत छन् ।
अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेसको एक अध्ययनअनुसार मस्तिष्कले प्रयोग गर्ने ऊर्जाको दुई तिहाई अंश मनोजैविक क्रियाहरूमा खर्च हुन्छ । बाँकी रहेको ऊर्जा चाहिँ दिमागलाई व्यवस्थापन गर्न खर्च हुने गर्छ । भनाइको अर्थ, जब हामी काम गरिरहेका हुन्छौँ, त्यो बेला ऊर्जाको ठूलो मात्राले सोडियम र पोटासियम आयनहरूलाई उत्तेजित गर्न खर्च गरिरहेको हुन्छ । यी दुई मस्तिष्कको कोशिकाको झिल्लीमा पाइन्छन् ।
हामीले सोच्दै गर्दा जब न्युरोनहरू सक्रिय भएर आफ्नो काम गर्दै गर्दा प्रक्रियाहरूमा उनीहरूले वरपरका न्युरोनहरूसँग तीव्र गतिमा ग्लुकोज र अक्सिजन तान्ने गर्छन् । ग्लुकोजले शरीरलाई ऊर्जा दिन्छ । यही कारणले लामो समयसम्म सोच्ने वा मस्तिष्कसम्बन्धी काम गर्ने गर्दा ग्लुकोज र अक्सिजनको प्रयोग अत्यधिक बढ्न जान्छ । यही कारण हामीले थाकेको महसुस गर्छौँ ।
अमेरिकाको ह्युमन फ्याक्टर एन्ड अर्गोनोमिक्स सोसाइटीमा प्रकाशित एउटा अर्को अध्ययनका अनुसार मनोजैविकी र प्रा. मारकोरा दुवैले गरेको प्रयोगलाई सही ठहर्याइएको छ । सो अध्ययनअनुसार शारीरिक र मानसिक श्रम दुवै गर्ने व्यक्ति बढी थाक्छ । त्यसो त मानसिक कार्य मात्र गर्ने र गरिरहनेले पनि थकान महसुस गर्छ । यसैगरी, लगातार बढीजसो दिमागी कसरत वा मस्तिष्कको ऊर्जा बढी खपत हुने काम गर्ने मान्छेको स्मरणशक्ति क्षीण हुन थाल्छ । उसले प्रायः कुराहरू भुल्ने गर्छ । उसको तात्कालिक स्मरणशक्ति प्रभावित हुन पुग्छ । शरीरमा ग्लुकोजको कमीका कारण यस्तो हुने गरेको अध्येताहरूको दाबी छ ।
अब त बुझ्नुभयो होला, कसैले यदि सोच्दासोच्दा म थाकेँ भन्यो भने ग्लुकोज र अक्सिजनको अत्यधिक प्रयोगका कारण त्यसो भनेको रहेछ, हैन त ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।