सत्यमोहन जोशीसँग मैले अघिल्लो दशक सिर्जनात्मक संगत गरेर केही सय घण्टा समय बिताएको छु । त्यस क्रममा उहाँबाट धेरै सुनेँ, उहाँलाई धेरै छामेँ र केही कुरा चाल पाएँ । उहाँसित लामो अन्तर्वार्ता लिने मोहमा वि.सं. २०६८–६९ सालमा गरेको घनीभूत संगतले वि.सं. २०६९ भदौमा शब्द–संयोजन साहित्यिक मासिकको ८५६ पृष्ठको विशेषाङ्क प्रकाशित भयो तर त्यसमा सो अन्तर्वार्ता चाहिँ अटेन । त्यतिबेला म त्यस पत्रिकको प्रधान सम्पादक थिएँ । त्यसमा धेरैसाथीहरूको मिहिनेत परेको छ । हामीले पनि विशेषाङ्क अतिशय मोटो हुने भएकाले त्यस अन्तर्वार्तालाई थाती नै राख्यौँ, त्यो मसँग सुरक्षित छ । सयौँ घण्टा व्यतित गरी लिइएको ती अन्तर्वार्तालाई साथी राजेश थापा(पूर्व महाप्रबन्धक, सांस्कृतिक संस्थान)ले भिडियो खिच्नु भएको थियो । शब्द–संयोजनको शताङ्कको रूपमा प्रकाशित सो विशेषाङ्कमा १५० भन्दा बढी विद्वानको समीक्षा, कार्य विश्लेषण तथा सहकार्यका संस्मरण लगायतका अमूल्य सामग्री समेटिएका छन् । त्यस विशेषाङ्कमा बरिष्ठ कलाकार सुन्दर श्रेष्ठले उहाँको सजीव मुहार चित्र बनाएर तिरिनसक्नुको गुन लगाउनु भएको थियो । उहाँले सो तैलीय मुहार चित्र पत्रिकाको विमोचन कार्यक्रममा शताब्दी पुरूषलाई हस्तान्तरण गर्नु भएको थियो ।

सत्यमोहन जोशीज्यूसँग मैले त्यस अवधि र त्यसपछि पनि यथोचित संगत गरि नै रहेँ । उहाँसँग गरेको संगतबाट उहाँको निम्न तेह्र विशेषताको झझल्को आइरहेको छ ।

१. सरल र स्पष्ट व्यवहार

सत्यमोहनको बोली, वचन तथा व्यवहार धेरै नै सरल थियो । उहाँ विषयलाई बङ्ग्याएर वा घुमाएर जटिल बनाउने भन्दा पनि त्यसलाई सरल र सहजतापूर्वक लिने गर्नु हुन्थ्यो । उहाँको विषय बुझ्ने शैली अलि ठाडो पनि थियो । सहरिया भएर पनि उहाँले युवा वयमा नै गाउँलाई चिन्नु भयो, गाउँलेमा संस्कारित विपुल लोक संस्कृति चाल पाउनु भयो । यसले उहाँलाई अरू सरल बन्न मद्दत पुर्यायो । उहाँमा ज्ञान, अनुभव र पाको हुनुको घमण्ड कहिल्यै पलाएन । खासमा सरल र स्पष्ट व्यवहारले पनि सत्यमोहनलाई प्रिय सत्यमोहन बनाउन सघायो ।

वासुदेव अधिकारी

२. चिन्तनशील एवम् अध्ययनशील स्वभाव

अरू साधकमा झैँ सत्यमोहनमा चिन्तनशील तथा अध्ययनशील स्वभाव रहेको थियो । लोक संस्कृतिको आलोकले ब्युँझिनु भएको उहाँ जीवन पर्यन्त त्यसको सम्बर्धन, विकास र महत्ता स्थापना गर्न तल्लीन हुनुभयो । पुरातत्त्वमा रहँदा नोट तथा सिक्का तथा चित्र वा मूर्ति कला सम्बन्धमा, चीनमा रहँदा अरनिकोको बारेमा, प्रज्ञा प्रतिष्ठानमा रहँदा संस्कृति सम्बन्धी विशद् अध्ययन पश्चात् ती विषयको अध्ययन–निष्कर्ष स्थापित गर्न तथा सो सम्बन्धी महत्ता प्रकाश पार्न उहाँले मनग्य समय बिताउनु भयो । अरनिकोको बारेमा त उहाँले संस्था तथा अभियान नै सञ्चालन गर्नु भयो । त्यस बाहेकका अनेक ऐतिहासिक वा नवीन विषयमा पनि अध्ययन चिन्तन गर्न कहिल्यै शिथिल हुनु भएन ।

३. सक्रिय जीवन, सकारात्मक सोच

सत्यमोहनलाई अध्ययन, लेखन, कार्यक्रम वा संस्थागत कामको चटारोले सधैँ व्यस्त बनाइरह्यो । आलस्यले कहिल्यै घर गर्न नपाएकै कारण उहाँ सक्रियताको पर्याय हुनुभयो । म्याराथुन धावकजस्तो जहिले पनि कुदिरहने उहाँको सक्रियता नै उहाँलाई दीर्घ जीवन दिने औषधि बनेको प्रतीत हुन्छ । नियमित सक्रियता उहाँको विशिष्ट परिचय र दैनिकी थियो । उहाँको अर्को विशिष्ट पक्ष सकारात्मक सोचाइ पनि थियो । सकेको काम गर्ने, नकारात्मक कोणबाट व्यक्ति वा विषयलाई नहेर्ने उहाँको सोच बानीमा रूपान्तरित भएको थियो ।

४. कर्तव्यनिष्ठता

सत्यमोहनमा दिइएको वा आइपरेको जिम्मेवारी पूरा गर्ने सजगता थियो । उहाँलाई कर्तव्यनिष्ठताले ब्युँझाइरहन्थ्यो । व्यक्तिले निर्वाह गर्ने कर्तव्य औपचारिक अनौपचारिक दुबै हुन्छ । उहाँले कयौँ कर्तव्य पदसित गाँसिएर निर्वाह गर्नु भयो भने कतिपय चाहिँ राष्ट्र र जनताको वैभवका खातिर आफैँ अज्माएर पालन गर्नु भयो । तर उहाँले जे कामको अठोट गर्नु भयो त्यो पूरा गरेरै छोड्नु भयो । आफ्नो १०३ वर्षको उमेरसम्म उहाँले शोध, लेखन, प्रदर्शन, अभियान, संस्थापना आदिको सन्दर्भमा धेरै काम फत्ये गर्नु भयो । यो उहाँको कर्तव्यनिष्ठताको देन हो । सरकारी पददेखि नेपाल भाषा एकेडेमीको चान्सलर हुँदासम्म हँदासम्म उहाँको कर्तव्यनिष्ठता एक समान नै देखिन्थ्यो ।

५. सम्यक् र फराकिलो दृष्टिकोण

सत्यमोहनलाई नेवारवादी, अमूक धर्मवादी, राजावादी, संस्कृतिवादी, अरनिकोवादी, खस संस्कृतिवादी, कलावादी जे हुने पनि अवसर थियो । कतिपय व्यक्तित्व आफ्नो अनुकूलताका साना विषयमा अलमलिएर आफूलाई सीमित गर्छन् । सत्यमोहनले त्यसो गर्नु भएन । उहाँले सङ्कीर्ण घेराबाट माथि उठी आफ्नो वैचारिक परिमिति फराकिलो बनाउनु भयो । विचार वा कामको सन्दर्भमा उहाँले आत्मसात गरेको परिवेश अन्जानमा होइन जानाजान नै फराकिलो छ । समयअनुसार परिवर्तित धारणा बनाउन सक्ने उहाँको विशेषताले उहाँलाई कहिल्यै निकम्मा हुन र म्याद सकिएको तहमा थान्को लाग्न दिएन ।

६. सबैका उत्प्रेरक

सत्यमोहनले आफू मात्र अध्ययन शोध तथा चिन्तन नगरी अरूलाई पनि सम्बन्धित विषयमा शोध, अनुसन्धान वा अभियानात्मक काम गर्न प्रेरणा दिने गर्नुहुन्थ्यो । साहित्य संस्कृतिका साथै कलाका अनेक विधा, खोज अनुसन्धान, तथ्याङ्क प्रशोधन तथा विश्लेषणका सन्दर्भ होस् वा स्कुल उमेरका विद्यार्थी वा गाउँ सहरका किसान सबैलाई उहाँ फलदायी काम गर्नका लागि प्रेरणा दिनुहुन्थ्यो । यो उहाँको अत्यन्त मननीय विशेषता थियो । उहाँले समुदायको बीचमा रमाउन र अरूलाई हौसला दिने काममा पर्याप्त समय दिनु भयो । उहाँको हौसलाले धेरै व्यक्ति ऊर्जावान् भई काममा लागेको दृष्टान्त भेटिएको छ ।

७. अनुभवका खानी, शोधजन्य लेखन

सत्यमोहन राणाकाल, प्रजातन्त्रिक काल, पञ्चालयतकाल, बहुदलीय व्यवस्था तथा सङ्घीय गणतान्त्रिक काल भोग्ने ज्युँदो इतिहास हुनुहुन्थ्यो । सय वर्षको नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक विकासको पदचापसँग परिचित हुनुका साथै चीनको सांस्कृतिक क्रान्तिको रापताप चाल पाउने विशिष्ट व्यक्ति समेत हुनुहुन्थ्यो । सक्रियता, सम्पर्क र सहभागिताको दृष्टिले उहाँमा अनुभवको विपुल भण्डार थियो । उहाँ समाज विकासको इन्साक्लोपेडिया नै हुनुहुन्थ्यो । पटक पटक जङ्को गर्ने अनुकूलता तथा अनुभवको विराकोटी व्यक्ति उहाँ नै हुनुहुन्थ्यो ।

सामान्यतया साहित्यिक कृति शोधपरक वा तथ्यपरक हुने गरी लेखिने चलन छैन । पहिले त झन् थिएन । सुरूमा तथ्याङ्कशास्त्री भई काम गरेको र सो का सन्दर्भमा राष्ट्रिय अन्तराष्ट्रिय तालिम लिएको कारणले पनि होला उहाँमा भावुक विषयहरू उठान गर्ने भन्दा पनि ऐतिहासिक र तथ्यपरक विषयलाई शोधविधि मार्फत पुष्टि गरी बाहिर ल्याउने विशिष्ट बानी विकास भएको थयो । त्यही शैलीमा उहाँले धेरै किताब लेख्नु भएको छ, धेरै महत्त्वपूर्ण सामग्रीहरू साहित्य संस्कृतिको क्षेत्रमा भण्डारण गर्नु भएको छ । आफ्नो पालामा सत्यमोहनले नेपाली साहित्यिक सांस्कृतिक क्षेत्रमा तथ्य, सूचना वा प्रमाणिकता सहितको लेखनको अगुवाइ गर्नु भएको थियो । उहाँको भावनात्मकभन्दा तथ्यगत लेखनमा बढी दम छ ।

८. पहिचानयुक्त देशभक्त

सत्यमोहनको लवाइ, खानपिन र बोलीमा नेपालीत्व झल्किन्थ्यो । यसको स्रोत थियो उहाँको मन मस्तिष्क । अर्थात्, उहाँको मन मस्तिष्क नेपालीपनले लबालब भिजेको थियो । दर्शन, कला, संस्कृति लगायतका अनेकौँ सन्दर्भमा उहाँ राष्ट्रवादी कोणबाट हेर्न र व्याख्या गर्न रूचाउनु हुन्थ्यो । याज्ञवल्क्य, बुद्ध लगायतका नेपाली दार्शनिकलाई उहाँले विशिष्ट सम्मान गर्नु त्यसैको प्रतिबिम्बन थियो । उहाँको त्यही विशिष्ट समझले अरनिकोलाई इतिहासको गर्तबाट खोजबीन गरी विशिष्ट नेपाली कलाकारको रूपमा चिनाएरै छाड्यो । उहाँको गाँस गाँसमा, सास सासमा नेपालीपन भेट्न सकिन्थ्यो । नेपालीपनभित्र जातीयपन खोज्न तथा कायम गर्न पनि उहाँको अमूल्य योगदान रहेको थियो । उहाँ विचार तथा व्यवहारमा खाँटी देशभक्त हुनुहुन्थ्यो । उहाँले आफ्नो मातृभाषामा पनि उल्लेखनीय कृति रचना गर्नु भएको थियो ।

९. समयपालना

सत्यमोहन निर्धिारिथत समयभन्दा विलम्ब गरी कार्यक्रममा पुगेको दृष्टान्त कमैलाई सम्झना छ । जीवनको पछिल्लो केही वर्ष (करिब पाँच वर्ष) उहाँलाई ललितपुर उपमहानगरपालिकाले साधन प्रदान गरी सहयोग गरे बाहेक ९५–९८ वर्षको उमेरसम्म उहाँलाई जो कोहीले पनि पैदल वा सार्वजनिक यातायातमा नै यात्रा गरेको देखे भेटेको हो । उहाँ धेरै कार्यक्रमको वक्ता, प्रमुख, विशिष्ट वा अतिथि भएर उपस्थित हुँदा सामान्तया समयमै आइपुग्ने गर्नु हुन्थ्यो । उहाँको समय पालना वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मातुल्य नै हुने गथ्र्यो । लेखपढका सन्दर्भमा पनि उहाँ समय पालनालाई ध्यान दिने वा टाइम लाइन ख्याल गरी गर्नु हुन्थ्यो ।

१०. काम र लेखनको बीचमा साहचार्य

काम र लेखनको एकीकरण तथा सहकार्य सत्यमोहन वाङ्मयको मूल विशेषता हो । यो अन्य लेखकभन्दा फरक चरित्र पनि हो । सत्यमोहनका लेखनमा उनको कामको जिम्मेवारी र पदचाप सिधै आइपुग्छ । आफूले अँगालेको पेसालाई लेखन मार्फत् जनता वा पाठकसामु पस्किने उहाँको यो विशेषता अन्य विशेषताको तुलनामा शीर्ष महत्त्वको छ । उदाहरणका लागि उहाँले औद्योगिक सर्भेयरको क्रममा पश्चिम नेपालमा जाँदा लोकगीत सङ्कलन गर्नु भयो भने तालिमको क्रममा न्युजिल्याड्स जाँदा पाठकलाई त्यहाँकै जनजीवनको सामग्री दिनु भयो । उहाँ पूरातत्त्वको जिम्मेवारीमा रहँदा त्यहाँको हाकिम मात्र हुनु भएन नेपाली पुरातत्त्वमा सङ्गृहित सामग्रीको आधारमा नेपाली मुद्राको इतिहास, नेपाली मूर्तिकलाको इतिहास लेख्नु भयो । त्यस्तै प्रज्ञा प्रतिष्ठानमा रहँदा कर्णालीको लोक संस्कृति अध्ययन र चीनमा रहँदा अरनिको बारे विशद अध्ययन गर्नु भयो । अर्थात् उहाँले आफ्नो लेखनलाई कामसँग जोडेर अघि बढाउनु भयो । उहाँले पाउनु भएको तीन पटकको मदन पुरस्कार त्यही लेखन विशेषताको उपज थियो ।

११. समन्वयी संस्कार

हिन्दु कुलमा जन्मिएर पनि उहाँ बौद्धमार्गी बन्नु भयो । आफ्नी श्रीमती राधा जोशीलाई धरि त्यसैमा समाहित गराउनु भयो र बुद्ध कथाको किताब लेख्ने स्तरमा पुर्याउनु भयो । उहाँले घरमा धर्म कीर्तन तथा नियमित रूपमा प्रज्ञा पारमिता पाठ गर्ने चलन बसाउनु भयो । यो उहाँको नवीन संस्कृतिको अवलम्बन हो । पाटनका धेरै बुद्ध विहार वरपर हिन्दु मन्दिर छन् । यो हाम्रो सभ्यताको सहिष्णुता हो, माौलिक संस्कार हो । उहाँले आफ्नो पारिवारिक पूजा तथा संस्कार विधिमा त्यसलाई भित्र्याउनु भयो । नेवार समुदायमा केहीमा अवलम्वित हिन्दु तथा केहीमा अवलम्वित बौद्ध संस्कार दुबैलाई उहाँले आत्मसात गर्नु भयो तर पुर्खादेखि चलिआएको हिन्दु संस्कारभन्दा बौद्ध संस्कारतर्फ आफूलाई ढल्काउनु भयो । यसबाट उहाँको आस्था धर्मसँग भन्दा संस्कृति तथा दर्शनसँग बढी आबद्ध रहेको स्पष्ट हुन्छ । आम नागरिक जीवन बिताउने कमै व्यक्तिले यस्ता विषयमा नयाँ निर्णय लिन सक्छन् । यसलाई उहाँले प्रचार गर्ने भन्दा पनि आत्मसात गर्ने संस्कार वा मूल्यको रूपमा ग्रहण गर्नु भएको थियो ।

१२. चलायमान सांस्कृतिक धरोहर

सत्यमोहन जीवित र चलायमान सांस्कृतिक धरोहर हुनुहुन्थ्यो । उहाँ एक तीर्थजस्तो, धरोहर जस्तो भइकन पनि चलायमान हुनुहुन्थ्यो । जीवनको आखिरी वर्षसम्म पनि उहाँ आफ्ना साथी सङ्गातीकोमा गइरहने, हालखबर बुझिरहने गर्नुहुन्थ्यो । सहपाठी नरकान्त अधिकारी लगायतका मित्रकहाँ उहाँ बेला बेला पुगिरहनु हुन्थ्यो । जनसमुदायलाई उहाँ कुनै टोलमा पुग्दा साक्षात् सांस्कृतिक धरोहर ओहोर दोहार गरिरहेको प्रतीत हुन्थ्यो । थापाथली, कुपण्डोलदेखि उहाँको निवास बखुंबहासम्मको उहाँको हजारौँ पटकको पैदल यात्राले प्रत्यक्षदर्शीलाई सांस्कृतिक धरोहरको चलायमान स्वरूप देखेको वा एउटा मानव गजुर ओहोर दोहोर गरेको अनुभूति हुन्थ्यो ।

१३. उच्च आत्मबल

उहाँको परिवार ठुलो भए पनि, धेरै भाइ छोरा भए पनि बखुंबहाको घरमा दशकौँ अघिदेखि उहाँ र श्रीमती मात्र बस्नुहुन्थ्यो । चरम बुढेसकालमा सय वर्षका बुढाबुढी एक्लै बस्ने आँट विरल आँट हो, अकल्पनीय साहस हो । ठुला दुई भुइँचालो खेपेका सत्यमोहनलाई अल जजिरा मिडियाले त्यसै एसियाकै बलियो व्यक्ति भनेको होइन ।

माथि उल्लिखित विशेषतायुक्त सांस्कृतिक धरोहरलाई शततः नमन, हदयतः सलाम ।