विश्वको मानचित्रमा ठूलाठूला देशहरूको तुलनामा हाम्रो देश नेपालको आकार ज्यादै सानो देखिन्छ तर हाम्रो देशमा विश्वको सर्वोच्च हिमालय ‘सगरमाथा’ ( Mt. Everest ) शोभायमान भएर उभिएको छ । अनि, हिमाली लेक, पाखा, डाँडाकाँडा उपत्यका, कछाड र तराईका फाँट मैदानमा विभिन्न भाषा र थितिरीति भएका विभिन्न जात जातिका मानिसहरू आदिकालदेखि नै सिङ्गो नेपालको परिवार भएर बसोबास गरिआएका छन् । यिनीहरूले नै बनजङ्गल, खोलानालाका सेरोफेरोमा आºना शुद्ध जीवनयापनका क्रमहरू चलाएर परम्परागत रुपमा इतिहास, सभ्यता र संस्कृतिहरू सिर्जना गरेका हुन् । अब यसै पृष्ठभूमिमा काठमाडौँ उपत्यकामा राजधानी काठमाडौँपछिको दोश्रो ठूलो शहर ‘ललितपुर’को प्रसङ्ग जोडौँ ।

ललितपुरलाई ‘पाटन’ पनि भन्दछन् । यो पाटन शब्दको व्युत्पत्तिको खोजी गर्दै जाँदा ‘पत्तन’ शब्द फेला पर्दछ, यसको अर्थ हुन्छ शहर, पुर अथवा नगर । लोककथनअनुसार पाटनको प्राचीन नाम ललितपत्तन अथवा ललितपट्टन हो । यसैले आज प्राचीन पृष्ठभूमिमा पाटन शहरको प्रचलित नाम ललितपुर नै हुनआएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाभित्र ललितपुर शहर समावेश गरिएको एक जिल्लाको नाम नै ‘ललितपुर जिल्ला’ भएको छ । विश्वका विभिन्न मुलुकहरूबाट आउने पर्यटकहरूका लागि भने यो ललितपुर “City of Fine Arts” (ललितपुर कालाकृतिहरूले परिपूर्ण भएको नगर) को नामले प्रसिद्ध भैरहेको छ ।

ललितपुरको आदिबासीहरूमा नेवारहरू अग्रपंक्तिमा आउँछन् । नेवारहरू ललितपुर अथवा पाटनलाई अद्यापि ‘यलदे’ अथावा ‘यल’ भन्दछन् । ‘यल’ शब्दको व्युत्पत्ति खोज्दै जाँदा पनि अनेकन् लोककथनहरू फेला पर्दछन् । एक लोककथनअनुसार कुरुक्षेत्रमा चलेको महाभारतको युद्धकालीन समयमा नेपालमा अर्थात् आजको काठमाडौँ उपत्यकामा यलम्बर हाङ नामक किराती राजा राज्य गर्दथे, उनको राजधानी थानकोटमा थियो । यिनै राजाले एक नयाँ बस्ती बसाएका थिए, अनि यिनैको नामबाट त्यस नयाँ बस्तीको नाम ‘यल’ रहन आएको हो । ललितपुरको भीमसेन स्थाननेर अद्यापि ‘पटुको नामको एउटा सानो थुम्को छँदैछ । त्यस थुम्को रहेको टोलको नाम पनि पटुको नै रहेको छ । यो पटुको शब्द किराती राजाहरूको वंश परम्परामा देखा पर्दछ जस्तो गुनान, खिम्बू, पटुको आदि । सम्भवतः ईसाको प्रथम शताब्दीतिरका किराती राजाको नामसँग यो पटुको शब्दको सम्बन्ध रहेको हुनसक्छ ।

अर्को लोककथनअनुसार लिच्छविकालीन अभिलेखमा उल्लिखित ‘यूप ग्राम’बाट ‘यल’ भन्ने नाम सिर्जना भएको हो । यूपको अर्थ हुन्छ ठूलाठूला चैत्यको माझमा रहने थाम । यसलाई यलसिं पनि भन्दछन् । अथवा लोकभाषामा प्रचलित भैसकेको ‘यल’ शब्दको संस्कृतकरण गरेर यूपग्राम गरिएको पनि हुन सक्छ, जस्तो यैयालाई इन्द्रगृह, चंगुँलाई दोलाशिखर, साहृदयोगुँलाई गोश्रृङ्खपर्वत परिणत गरेजस्तै । तर नेवारहरू ललितपुर अथवा पाटनलाई ‘यल’ नै भन्न बढी रुचाउँछन् । ललितपुरको मूलचोकमा रहेका लेपाल संवत् ८१८ को एक सुवणर्पत्र (योगनरेन्द्र, भूपालेन्द्र र भूपतीन्द्रमल्लको संयुक्त रुपमा रहेको) मा ‘यल’ शब्दकै प्रयोग भएको पाइन्छ । अनि यलकै सन्दर्भमा पाटनढोकालाई यलध्वाखा, पाटन दरबारलाई यललाय्कू भन्ने गर्दछन्, अझ यललाई विशेषणको रुपमा ‘यले’ गरेर पाटने पालुङ्गोलाई यलेपलः पाटने शैलीलाई यले पहः पाटने बाठोमान्छेलाई ‘यले बाःथः’ भन्ने गर्दछन् । ललितपुर निवासी मानिसहरूलाई अन्यत्रका (काठमाडौँ, भक्तपुरका) नेवारहरूले पनि ‘यल’ नै भन्ने गर्दछन् । वास्तवमा ‘यल’ को अर्थ नेवार भाषामा “मन पर्‍यो” हो, यसको क्रियापद ‘येके’ (येकेगु) मनपराउनु हो ।

अब फेरि ‘ललितपुर’ शब्दकै प्रसङ्ग जोडौँ । नेपाल संवत् ४० मा राजा शङ्रदेवको पालामा महाबतिश्चल विहारमा बसेर लेखिएको अष्टासाहस्त्रिका प्रज्ञापारमिता ग्रन्थमा ललितपुर नाम ‘ललितक्रम’ भनेर पनि उल्लेख गरिएको पाइन्छ, फेरि नेपाल संवत् १०८ मा राजा गुणकामदेवको पालामा घाँय्ब्व टोलमा स्थापित हरगौरीका शिलामूर्तिको पादपीठमा अङ्कित अभिलेखमा ललितपुरलाई ‘ललिताखेरपुर’ भनेर पनि उल्लेख गरिएको पाइन्छ ।

वंशावलीमा उल्लिखित कथनानुसार वागमती नदीको किनारमा ललितारण्य नामको जङ्गल थियो । राजा वीरदेवको पालामा यो जङ्गल फाँडेर यहाँ नयाँ बस्ती बसाएको हो भन्ने उल्लेख छ । यहाँ बनेको एउटा बौद्ध विहारको नाम नै “ललित वन विहार” (आजको कुम्भेश्वरनेरको कुन्तीबही) भन्ने रह्यो । अनि राजा वीरदेवले पाँच थुम्काहरू (पटुको थुम्को, पुल्चोकका थुम्को, इभिटोलको थुम्को, तेताको थुम्को र लगनखेलको थुम्को) स्थापना गर्न लाएर २४ तत्त्वका लक्षणले युक्त २४ टोलहरू सिर्जना गरी ‘ललितपत्तन’ भन्ने नाम राखेर स्वयं आफू पनि यही बसे रे । र यहाँ २४ हजार मानिसहरूको बस्ती बसालेर ‘ललितपतन’ भन्ने नाम रहन गएको हो भन्ने लोककथन पनि छ । फेरि राजा वीरदेवकै शासनकालमा ललितनामक एक जेठापाका मान्छेले नाइके भएर यहाँको जङ्गल फँडानी गर्न लगाई नयाँ बस्ती बसालेको हुनाले सो ठाउँको नाम “ललितपुर” रहन गएको हो भन्ने लोककथन पनि पाइन्छ ।

फेरि अर्को एक लोककथनअनुसार रातो मत्स्येन्द्रनाथ (यी देवतालाई बुंगद्यः, आर्यावलोकितेश्वर पनि भन्दछन्) को सन्दर्भमा, यी देवतालाई कामरुप पर्वतबाट उपत्यकामा लिएर आउने तीनजना पुरुषहरू (राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त र भरिया) ले यी देवलाई कहाँ कुन ठाउँमा विराजमान गराउने भन्ने वादविवाद चल्दा, भरिया भएर जाने मान्छेले भने- “हाम्रो यहाँ (यल) सबभन्दा थकाली ललित नाम गरेका बूढापाका मान्छे छन् । उनले गरेको निणर्यलाई मान्यता दिइएमा उत्तम हुनेछ ।” यसमा सबैले मञ्जुरी जनाए । अनि थकाली बूढा ललितले लगनखेल इती टोलमा बडेमाका सातओटा ओखलहरू एक माथि अर्को ठड्याएर सबभन्दा माथि आफू बसी यसरी निणर्य सुनाएछन् –

“बुंगद्यः धइम्ह त्रिभुवनया

यायेगु कायेगु खुसि मंग्ल भट्टया ।”

अर्थात् बुंगमतीको यी देवता त्रिभुवनकै साझा छन्, यसमा के गर्ने, के लिने भन्ने राजीखुसीचाहिँ मंग्ल भट्टको । यस तथ्यमा विचार गर्दा मंग्ल शब्दले (ललितपुरको मंगल बजार, मंगल टोलमा रहेको राजाप्रसाद) पाँचौ शताब्दीका राजा मानदेवका पालामा निर्मित ‘मानगृह’ लाई संकेत गर्दछ, अनि मंग्ल भट्ट भन्नाले यही मानगृहमा राज प्रतिनिधि भएर बस्ने भट्टारकलाई बुझाउँदछ ।

त्यसपछि थकाली बूढा ललिते त्यसै ठाउँमा सिद्ध भएर गए, अनि उनकै नामबाट बुंगद्यः अर्थात् रातो मत्स्येन्द्रनाथ विराजमान हुने ठाउँ ललितपुरको नामले अर्थात् ललितपुरका नामले प्रसिद्ध हुनगयो । यस प्रसङ्गमा मछिन्दर (रातो मत्स्येन्द्रनाथ) कै नाममा कोलाराग, तिमां तालमा गाउने ‘ललितपुरी’ शीर्षकको एउटा प्राचीन गीत यस प्रकार छ –

ललितपुरी तन देशे

श्री मछिन्दनाथ हादे

देवदेवी लोकपञ्च पनि

न्यूहुने परउपदेश हादे’विजयानन्दन राम वदे जे ।

भावार्थ – लोक कवि विजयानन्दद्वारा रचित यस गीतमा ललितपुरमा विराजमान हुने श्री रातोमत्स्यन्द्रनाथको बारेमा गरिएको गुणगान सुनिदिनुहुन सबै देवदेवी लोकजनहरूमा अनुरोध गरिएको पाइन्छ ।

अब फेरि ललितपुरकै प्रसङ्गमा महापात्र जयसिंह मल्लको पालामा ‘ललितपुर नगर’ विधिपूर्वक प्रतिष्ठा भएको सन्दर्भ पनि उल्लेखनीय हुन आउँछ । नेपाल संवत् ५०१ मा एकजना लब्धप्रतिष्ठा नाटककार धर्मगुप्तले ललितपुर नगर विधिपूर्वक प्रतिष्ठा भएको खुशियालीमा ‘रामाङ्क नाटिका’ शीर्षकको एउटा स्तरीय नाटक संस्कृत भाषामा लेखेर मञ्चन गराएको विवरण प्राप्त हुन आउँछ । यस किसिमको उल्लेखबाट ललितपुरमा नाटक लेख्ने नाटककार र नाटक मञ्चन गरेर देखाउने प्राचीन परम्पराको क्रम पनि देखा पर्न आउँछ । यसैले नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान(एकेडेमी) बाट नेपालीमा अनुवाद गराई प्रकाशमा ल्याएको यो रामाङ्क नाटिका ललितपुरको सांस्कृतिक इतिहासमा त उसैपनि एउटा अपूर्व श्रोत भयो नै, साथै नेपालकै नाटक परम्पराको इतिहासमा पनि एक ठूलो उपलब्धि हुनआएको छ । अनि यसकै सन्दर्भमा ललितपुरमा विकसित नाट्य परम्पराको चोसो खोज्दै जाने हो भने लिच्छविकालीन ललितपुरको सांस्कृतिक प्रतीक स्वरुप अद्यापि जीणर् अवस्थामा नै बाँचिरहेका अनेक डबलीहरू देखा पर्दछन्, यी मध्ये एक सुन्दर कलात्मक डबली ललितपुरको कोबहाल टोलमा छँदैछ । फेरि नेपाल संवत् १०८ मा राजा गुणकाम देवकै पालामा घाँय्ब्व टोलमा स्थापित तथा नेपाल संवत् १३२ मा राजा रुद्रदेवका पालामा त्यागल टोलमा स्थापित हरगौरी परिवारका प्रस्तर मूर्तिहरूका पादपीठमा अङ्कित चित्रमय दृश्यहरू (जस्तो गन्धर्व गणले पोंगा बाजा फुकिराखेको, नन्दीभृन्दी गणले विविध बाजा बजाएका, गणेश, ख्याक र कंकालहरूले  विविध मुद्रामा नाचगान गरिरहेका नाटकीय दृश्यहरू) को अध्ययन अन्वेषण गर्दा ललितपुरमा विकसित भएका प्राचीन वाद्यवादन, गायन र नृत्य नाटक परम्पराको प्राचीनता र विकास क्रम खुलस्त हुन आउँछ । हुन त यी प्रस्तर मूर्ति कलामा चित्राङ्कित नृत्य, नाट्य वाद्य विषयक कलात्मक अभिव्यक्ति हुन् तर यसबाट पनि ललितपुरका त्यस टड्कारो हुन आउँछ । यस्तै किसिमले विभिन्न मन्दिरहरू (जस्तै मङ्गल बजार, कृष्णमन्दिरनेरको कार्तिक डबलीकै सिरानको चारनारायणको मन्दिर) का टुनालहरूमा कुँदिएका विभिन्न शैलीको देवदेवीहरूको काष्ठ मूर्तिहरूमा अभिनीत नृत्य मुद्राहरूले पनि ललितपुरको नाट्य परम्पराको विकसित क्रमलाई औल्याउँछन् ।

फेरि यसै प्रसङ्गमा छैटौँ अथवा सातौँ शताब्दीतिर ललितपुर अन्तर्गतको लेलेमा लिच्छविकालीन राजा शिवदेव अंशुवर्माका पालामा स्थापित एउटा शिलालेखमा “अच्र्चा गौष्ठिका” “बादित्त्र गौष्ठिका” उल्लेख भएबाट ललितपुर निवासीहरूको लोक जीवनमा सामाजिक र सांस्कृतिक पक्षमा संस्थागत रुपले विकसित भैसकेको ‘गुठी’ को व्यवस्थापन पनि देखा पर्दछ । अच्र्चा गौष्ठिकाले मूर्ति कलासम्बन्धी प्रस्तर (ढुंगा) कार्यको गुठी व्यवस्थालाई बुझाउँदछ भने, वादित्त्र गौष्ठिकाले वाद्यवादन, गायन, नृत्य, नाटक प्र्रदर्शन तथा धिमे खलः दापा खलः प्याख खलः आदि नाट्य समूहलाई पनि बुझाउँदछ । यसै प्रसङ्गमा श्रृङ्गकेतु जातकमा आधारित ललितपुरको प्राचीन सीङ्ग बाजा र नौबाजा प्रदर्शन गर्ने धार्मिक र सांस्कृतिक जात्राहरूको परम्परा र विकास क्रमहरू पनि देखा पर्दछन् जुन अद्यापि ललितपुर नगर क्षेत्रको दशओटा टोलमा पालैपालो गरेर प्रत्येक वर्ष श्रावण महिनामा सुसम्पन्न भएर आइरहेको सर्वविदित नै छ । यसै पंक्तिमा ललितपुर इलाकामा नाट्य परम्परा विकसित भएर मल्लकालीन कातीप्याखं (कार्तिक नाच), गंप्याखं (गण नृत्य), जल प्याखं (हरिसिद्धि नाच), सिखाली प्याखं (खोकनाको रूद्रायणी नाच), गथु प्याखं (ठेचोको नवदुर्गा नाच), महालक्ष्मी प्याखं (फर्पिङ महालक्ष्मी नाच) आदिको संस्थागत रुपमा विकसित क्रमहरू पनि देखा पर्दछन् ।

यसरी वादित्त्र गौष्ठिका पृष्ठभूमिमा ललितपुरको सांस्कृतिक विशेषताहरूको ऐतिहासिक सामग्रीहरूको सरसरती चर्चा गर्दा आजभन्दा ३५० वर्षअघि ललितपुरमा संस्थागत रूपमा स्थापित ‘कार्तिक नाच’ विभिन्न दृष्टिकोणले विशेष उल्लेखनीय भएको छ । कार्तिक महिनाभरि नै नचाउनु पर्ने यस कार्तिक नाचमा प्रत्येक एउटा नयाँ खेल अथवा लीला प्रदर्शन हुन्छ अथवा गताङ्कको क्रम जोडेर थप नयाँ कार्यक्रम जोडिन्छ । यस हिसाबले यो कार्तिक नाच नेपाल अधिराज्यको सबभन्दा लामो नाट्य महोत्सवको परम्परा भएको नाच हो । यसभित्र गायन, वाद्यवादन, नृत्य, प्रहसन, लघुनाटक, लोक नाटक आदि विधाहरू छन् ।अझ विश्वमा पाइने नाट्य महोत्सव सबभन्दा लामो नाट्य महोत्सव  (The world’s longest performing dance, drama & music festival ) भन्नुमा अत्युक्ति नहोला झैँ लाग्छ । यसको जीवित परम्परा सीमित रुपमा अद्यापि प्रदर्शन भैरहेकै छ ।

यो कार्तिक नाचको बारेमा तीन चरणको विकास क्रम जोडिएको पाइन्छ ।

पहिलो चरणमा राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७५७ मा मङ्गल बजारमा नव निर्मित कृष्ण मन्दिरको विधिपूर्वक प्रतिष्ठा गरी कोद्याहुति यज्ञ गर्नुको लगत्तै नेपाल संवत् ७६१ मा संस्थागत रुपमा कार्तिक नाचको संस्थापन गरी कृृष्ण मन्दिरनेरकै कार्तिक डबलीमा प्रत्येक दिन एक एक नयाँ लीला देखाउने गरी हप्तादिनको कार्तिक नाच नचाउने परम्परा बसालेका हुन् भन्ने लोककथन छ । सुरदास, सुदामाका नृत्य नाटिका, बराह अवतार र नरसिंह अवतारका उन्नत शास्त्रीय नृत्यहरू यसै प्रारम्भिक समयका सिर्जनाहरू हुन् । राजा सिद्धिनरसिंहका दुई जना गुरु थिए ।

(१) विद्या गुरुमा हरिवंश राजोपाध्याय (२) मन्त्र गुरुमा विश्वनाथ राजोपाध्याय । कार्तिक नाचको सिर्जनामा विद्या गुरु हरिवंश राजोपाध्यायकै प्रमुख भूमिका थियो भन्ने कथन “नृपविनोद काव्य” मा पाइन्छ ।

दोश्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंह मल्लकै सुपुत्र राजा श्रीनिवास मल्लले आºना पिताबाट संस्थागत रुपमा चालु गरेका नाट्य परम्परालाई अक्षुण्ण राखेर अभिवृद्धि गर्ने हेतुले हप्तादिन नचाइ आएका कार्तिक नाचलाई दुई हप्ता नचाउने थप नयाँ कार्यक्रममा बाःथः प्याखं (बाठा मानिसहरूका लोकनाटक) को नयाँ सिर्जना पनि थपिदिए । यी राजा स्वयं आफूले पनि लोकनाटकमा यले बाःथः (ललितपुरको बाठा मान्छे) भएर लोकमनोरञ्जन गरेर गए भन्ने लोककथन छ ।

तेश्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास सुपुत्र राजा योगनरेन्द्र मल्लले पनि कार्तिक नाचमा नयाँ कथानक भएका कार्यक्रमहरू (माधवानल ब्राम्हण, उषाहरण इतयादि) प्रस्तुत गरी कार्तिक महिनाभरिनै नचाउने गरी थप नयाँ थिति बसाले । यी राजा स्वं आफू पनि सङ्गीत शास्त्रमा प्रवीण भएकोले यिनले आफ्नोशासन कालमा टकमरी भएका चाँदीका माुद्राहरूमा “संगीताणर्व पारक श्री श्री श्री योगनरेन्द्र मल्ल” अभिलेख समेत अङ्कित गराएबाट ललितपुरको नाट्य परम्परामा कार्तिक नाचको चरम विकास भैसकेको बोध हुन आउँछ ।

नेपालको नाट्य शास्त्रको इतिहासमा यो कार्तिक नाच संस्थागत रुपमा संस्थापित जीवित परम्परा भएको सबभन्दा पुरानो नाट्य प्रतिष्ठान हो । नेपाल संवत् १०७०(वि.सं.२००७) अघिसम्म पनि यो कार्तिक नाच महिना दिन नै प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी नचाउने परम्परा थियो । यसको सम्पूणर् व्यवस्थापन स्थानीय छेभडेल अड्डाबाट हुने गर्दथ्यो । यस कार्तिक नाचमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटकका कलाकारहरू इत्यादि) को संख्या २८० सम्म पुगेको थियो भन्ने लोककथन छ । पछि केही समयका लागि यस नाचमा शिथिलता देखा पर्‍यो । यो नाचको परम्पराको वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शन गर्नुमा नै सीमित रहयो । नेपाल संवत् ११०१ (वि.सं.२०३८) मा “कार्तिक नाच प्रबन्ध समिति” गठन भएपछि हाल यो कार्तिक नाच कुनै वर्ष ८ दिन र कुनै वर्ष १० दिनसम्म प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी सार्वजनिक रुपमा सबैले खुल्ला रुपमा नै हेर्न पाउने गरी प्रदर्शन गर्ने परम्परा कायम भैरहेको छ ।

आफ्नो ३५० वर्षको लामो पुरानो मौलिक नाट्य परम्पराको जीवित संस्कृतिलाई प्रदर्शन गरी ललितपुरको यो कार्तिक नाच नेपाल राष्ट्रकै चोखो राष्ट्रिय सांस्कृतिक सम्पदा बनेको छ जुन नाट्य जगतकै लागि पनि एउटा अपूर्व गौरवको कुरो हुन आएको छ ।

यस कार्तिक नाचमा शास्त्रीय पक्षको बाहुल्य भए तापनि, यसमा लोक पक्षको पनि आफ्नै मौलिक परम्परा र विशेषताहरू छन् ।

(‘ललितपुर र कार्तिक नाचको पृष्ठभूमि’बाट साभार)