१. २०१४ सालतिर प्रज्ञा–प्रतिष्ठान (नेपाली साहित्य, काल एकेडेमी) स्थापना भएको समाचार सुन्न पाएको बेलादेखि नै कवि साहित्यकार र बुद्धिजीविहरूको त्यो पवित्र संस्थामा के कस्तो कार्य हुँदो होला क्यारे भन्ने एउटा उत्कण्ठित अभिलाषा ममा सिर्जना भएको थियो । तर, कति वर्ष बित्दा पनि त्यस संस्थाभित्र चियाउने सौभाग्य पाउन सकेको थिइनँ । प्रज्ञाहरू समयसमयमा नयाँँ सडक र टुँडिखेलतिर घुमफिर गर्न आउनुहुने दृश्यसम्म बराबर देख्ने तथा प्रज्ञा–प्रतिष्ठानसम्बन्धी एकाध खबरहरू पत्रपत्रिकाहरूमा निस्के भने पढ्ने मौका मिलिरहन्थ्यो ।
२. पछि, प्रज्ञा–प्रतिष्ठानबाट आफ्नो किताब पनि छपाउन सकिएला कि भन्ने एउटा धुन चढ्यो । त्यसपछि, नेपाली कलाविषयक एउटा हस्तलिखित ग्रन्थ तयार गर्नपट्टि मेहनत गर्न थालें र फलत: ग्रन्थ तयार पनि भयो । अनि कमलादीमा गई प्रज्ञा–प्रतिष्ठानका त्यस बेलाका कला विभागका आयोजक सदस्य लैनसिंह वाङ्गदेलज्यूलाई बुझाएँ। ग्रन्थ हेर्दाहेर्दा उहाँ खूब खुसी हुनुभयो र प्रज्ञा–प्रतिष्ठानभित्र मेरो पहिलो प्रवेश यसैबाट सुरु भयो । पछि उक्त ग्रन्थ छापिनका लागि प्रज्ञा–प्रतिष्ठानको बैठकबाट स्वीस्कृत प्रदान गरिरहेको सूचना समेत प्राप्त भयो । मेरो हर्षको सीमा नै रहेन ।
३. केही महिनापछि, अब त मेरो पुस्तक छापिएर आइसकेको हुनुपर्छ भनेर प्रज्ञा–प्रतिष्ठानमा जाँदा एकजना शुभचिन्तक साथीले बताए – जोशीजी, तपाईंको पुस्तक तुरुन्तै छापिएर आउन त गाह्रै पर्ला है । यो कुरा सुनेर म जिल्ल परें । पछि कुरा फेरि बताए । त्यसो हुनाको एउटा कारण रहेछ ।
४. त्यसबेला बनारसमा पनि प्रज्ञा–प्रतिष्ठान अन्तर्गतको साहित्यकार सम्पर्क समिति खुलेको थियो, प्रज्ञा–प्रतिष्ठानका धेरैजसो पुस्तक पनि बनारसमै छपाउने प्रबन्ध हुन्थ्यो । बनारसमा यी सब व्यवस्थाका लागि उहीँका एकजना प्रवासी लक्ष्मी शङ्करलाल श्रेष्ठ सम्पर्क समितिका सचिव, साथै पुस्तक मुद्रण र चलान सम्बन्धी व्यवस्था मिलाउने एजेन्ट नै बनेका थिए । मेरो हस्तलिखितग्रन्थ उनैको हातमा सुम्पिएको थियो । दुर्भाग्यवश त्यसबेला प्रज्ञा–प्रतिष्ठान र लक्ष्मी शङ्करलालको बीचमा लेनदेन सम्बन्धी गडबडी पैदा हुँदा, मेरो हस्तलिखित ग्रन्थ उनै महोदयको हातको माखो भएर रह्यो ।
५. तैपनि आफ्नो ग्रन्थको बारेमा सोधपुछ गर्न र ताकिता लाउन प्रज्ञा–प्रतिष्ठानमा म धाउँदै थिएँ र धाउँदा धाउँदा पछि निराश पनि भएँ । लक्ष्मी शंकरलालका हातबाट मेरो निर्दोष ग्रन्थ कसै गरेर पनि उम्काउन चाहिँ सकिएन ।
६. २०२६ सालमा प्रज्ञा–प्रतिष्ठानको गठन विधिमा नयाँ परिवर्तन गरिएपछि कुलपति, उपकुलपति र सदस्यहरूका साथमा सहसदस्यहरू रहने व्यवस्था पनि भयो । कविराजा स्व. श्री ५ महेन्द्रबाट स्वयं मौसूफबाट ग्रहण गरिबक्सेको कुलपतिको पदसमेत जनतालाई नै सुम्पिबक्सेको थियो । पछि आठजना सहसदस्यहरू मनोनित हुँदा, सौभाग्यवश म पनि त्यसमा परेँ । तदपरान्त प्रज्ञा–प्रतिष्ठानभित्र कस्तो हुँदो रहेछ भन्ने कुरो जुन धेरै वर्षदेखि जिज्ञासाको रूपमा रहिरहेको थियो स्वयं अनुभव गर्न थालें । मेरो निमित्त एउटा मुख्य कुरो त आफ्ना हस्तलिखित ग्रन्थलाई मुक्ति दिलाउनु पनि थियो र त्यसका लागि पनि भरमग्दुर प्रयास गर्न लागेँ ।
७. कविराजा स्व. श्री ५ महेन्द्रबाट कुलपति केदारमान व्यथितका जिम्मामा साहित्य, संस्कृति, कला तथा ज्ञानविज्ञानका अनेकन महत्वपूर्ण कार्यभार सुम्पिबक्सेकोले, प्रज्ञा–प्रतिष्ठानमा एउटा नयाँ जोश र उमङ्ग देखा परेको थियो । फलत: प्राज्ञहरूको समाजमा पनि पहिलो पल्ट प्रथम पञ्चवर्षीय योजना तर्जुमा भयो ।
८. त्यसबेला म पनि संस्कृति उपविभाग नं. २ को आयोजक भएँ । मेरो विशेष अभिरुचि लोकसंस्कृतितर्फ भएकाले, त्यही विषयमा मैले आफ्नो परियोजना प्रस्तुत गरेँ र दुर्गम क्षेत्र कहलिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा लोकसंस्कृतिको सर्वेक्षण गर्ने लक्ष्य बनाएँ ।
९. ६ महिनाको पूर्ण तयारीपछि, सहयोगी विशेषज्ञ साथीहरू सर्वश्री प्रा. चूडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ, स्थिरजङ्गबहादुर सिं र प्रदिप रिमाललाई साथमा लिई सिंजाखोला पुगेँ । त्यहाँ लोक संस्कृति सर्वेक्षण गर्दा सिस्ने हिमाल र ठाकुरजी लेकको सेरोफेरोमा कर्णालीको तीरमा, रारातालका हाराहारीमा, सिंजाखोलाका लेक, पाटन, डाँडाकाँडा र बेसीफाँटमा नेपाली वाङ्मय इतिहास, भूगोल, सामाजिक आर्थिक जनजीवन र विविध संस्कृतिको अगाध भण्डारभित्र पसेको आ–आफ्नो विषयअन्तर्गत एकअर्कासँग समन्वय गरेर लेखिएका अनेक उपलब्धिहरूमध्येको एउटा मौलिक उपलब्धिको रूपमा देखा पर्यो । हुन त त्यो दुर्गम क्षेत्रका अनकन्टार मार्गहरूको सम्µना गर्दामात्र पनि अµै जिउ नै जिरिङ्ग हुन थाल्छ । तर त्यस बेलाको हाम्रो साहस र मिलीजुली काम गर्ने भावनाको अगाडि जति पनि दुर्गम भन्ने कुराहरू थिए ती सब सुगम बनेका थिए ।
१०. २०२८ माघ १७ गतेका दिन प्रज्ञा–प्रतिष्ठानका प्रतिष्ठाता कविराजा श्री ५ महेन्द्रको आकस्मिक स्वर्गारोहण हुँदा, त्यस बेला प्रज्ञा–प्रतिष्ठानभित्र पनि एउटा ठूलो वज्रपात पर्यो । पछि स्वर्गीय श्री ५ महेन्द्रको पुण्यस्मृतिमा महेन्द्र स्मृतिग्रन्थरूपी श्रद्धाञ्जलि अर्पण गरी मौसुफको दिवंगत आत्माको निमित्त चीरशान्तिको कामना गर्ने एउटा परियोजना बन्यो । त्यसबेला सम्पादक भई त्यसको व्यवस्थापन गर्नुपर्ने कार्यभार प्रज्ञा–प्रतिष्ठानले ममाथि सुम्पेको थियो । अनि सबैको सहयोग प्राप्त गरी, तोकिएको समयभित्र महेन्द्र स्मृतिग्रन्थ प्रकाशमा ल्याइयो र स्व. श्री ५ महेन्द्रको प्रथम वार्षिक पुण्यतिथिकै दिन श्री ५ महाराजाधिराज वीरेन्द्र विक्रम शाहदेव सरकारका बाहुलीमा उक्त ग्रन्थ चढाइएको थियो । यो कार्य मानसपटमा ठूलो सम्µनाको रूपमा रहिरहेको छ ।
११. तर त्यस बेला प्रज्ञा–प्रतिष्ठानमा सहसदस्य भएर पाँच वर्ष काम गर्दा पनि, नेपाली कलासम्बन्धी आफ्नो हस्तलिखित ग्रन्थलाई चाहिँ मुक्ति दिलाएर प्रकाशमा ल्याउन सकिएन । कैयन चिट्टी, पूर्जी र ताकिताहरू भए, लक्ष्मीशंकरलाल महोदयले उल्टै उक्त हस्तलिखितग्रन्थ जिम्मा लिइराखेकोमा त्यसका लागि समेत चाहिने दैनिक रेखदेख गरिरहेको पारिश्रमिकको माग पठाए ।
१२.पछि, प्रज्ञा–प्रतिष्ठानमा फेरि नयाँ व्यवस्था हुँदा सहसदस्यहरूको परम्परा नै नरहने भयो ।
१३. श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवका उदय भएपछि देशको चतुर्दिक उन्नति र विकास कार्यको सन्दर्भमा प्रज्ञा प्रतिष्ठानलाई अµ बढी सुदृढ र कार्यशील बनाउने नयाँ परियोजना पनि बन्यो । तदनुरूप मौसूफबाट २०३१ बैशाख १ गतेका दिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अध्यादेश जारी गरिबक्सी प्रज्ञा प्रतिष्ठानलाई सक्षम नेतृत्व बक्सियो ।
१४. प्रज्ञा प्रतिष्ठानको नव व्यवस्थित सङ्गठनमा स्वयं श्री ५ महाराजाधिराज सरकारबाट अध्यक्ष पद ग्रहण गरिबक्सेको प्रज्ञासभा, त्यसपछि कुलपतिको अध्यक्षतामा गठन भएको प्रज्ञा–परिषद्, प्रज्ञा–प्रतिष्ठान समन्वय समिति तथा त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष पदेन अध्यक्ष रहेको प्रज्ञा–प्रतिष्ठान सेवा आयोगको गठन पनि भयो । यी सबको सामुहिक रूप नै प्रज्ञा–प्रतिष्ठानको नयाँ रूप बन्यो र प्रज्ञा–प्रतिष्ठानको प्रशासकीय कार्यका लागि प्रज्ञा–प्रतिष्ठान सचिवालय पनि रह्यो । र, सौभाग्यवश श्री ५ महाराजधिराज सरकारको अनुकम्पाबाट उक्त सभा, परिषद् समितिहरू र सचिवालयको सदस्य सचिवमा मनोनित भएर काम गर्ने सौभाग्य सर्वप्रथम मैले नै पाएँ । ममा आइपरेको उत्तरदायित्वको बोµ हुन त गहुँङ्गो नै थियो, तैपनि आफूमा भएको कार्यदक्षतालाई प्रदर्शन गर्ने भावनाबाट म निकै प्रेरित हुन थालें ।
१५. पछि, श्री ५ महाराजधिराज स्वयं संस्थापक र अध्यक्ष होइबक्सेको नेपाल ललितकला संस्था (नाफा) पनि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानअन्तर्गत गाभिन आयो, त्यस संस्थाको सदस्य सचिवमा पनि मैले नै काम गर्ने सौभाग्य पाएँ ।
१६. हुन त आफ्नो कार्यकालमा आफूले गरिआएका कामको तेरिज कस्नु आत्मश्लाघी बन्ने काम हो झैं लाग्छ । एक त काम गर्दा त्रुटिहरू नै हुन पाएनन् भन्न सकिदैंन । तैपनि, प्रज्ञा–प्रतिष्ठानमा पाँच वर्ष सदस्य सचिव भएर प्रशासकीय काम गर्दाका संस्मरणमा आइरहने दुई कुराहरू चाहिँ स्वत: पोखिन खोज्छन् ।
१७. २०३१ सालभन्दा अघिको प्रज्ञा–प्रतिष्ठानका लागि श्री ५ को सरकारबाट प्राप्त हुने वार्षिक अनुदान साढे तीन लाख जति मात्र थियो । नव व्यवस्थित प्रज्ञा–प्रतिष्ठानका विविध क्रियाकलापहरूका लागि उक्त अनुदान ज्यादै नै अपर्याप्त भएकाले त्यसबेला सबभन्दा समस्या नै अर्थको हुन आएको थियो । यसका लागि सम्बन्धित शिक्षा मन्त्रालयलाई बाधाअड्काउहरू अवगत गराउन यत्तिको गाह्रो पर्दैनथ्यो । तर अर्थमन्त्रालयसँग ती बाधाअड्काउहरू अवगत गराई निकासा लिन भने प्रलय नै पर्दथ्यो । तैपनि अनेक बारका भगीरथ प्रयासहरूपछि प्रज्ञा–प्रतिष्ठानलाई प्राप्त हुने वार्षिक अनुदानको रकम १० लाख पुर्याइयो, त्यस्तै नेपाल ललितकला संस्था (नाफा) लाई प्राप्त हुने वार्षिक अनुदान पनि चवालीस हजारबाट एक लाख पुर्याइयो । र तर पछि प्रज्ञा–प्रतिष्ठानका क्रियाकलापहरू जतिजति बढ्दै गए, यी अनुदानका रकमहरू फेरि अपर्याप्त हुन थाले । प्रज्ञा–प्रतिष्ठानले आफ्नै आर्थिक स्रोत साधनहरू खोज्नुपर्ने भयो ।
१८.सौभाग्यवश त्यसबेला श्री ५ महाराजधिराज वीरेन्द्रवीर विक्रम शाहदेव सरकारको शुभराज्याभिषेक प्रज्ञा–प्रतिष्ठानका लागि पनि एउटा ठूला वरदान सिद्ध भयो । प्रज्ञा भवनको रङ्गमञ्चका लागि पनि एउटा वरदान सिद्ध भयो । प्रज्ञाभवनमा लाखौं रुपियाँ मूल्यका आधुनिक प्रकाश र ध्वनिपद्धतिका नवीन उपकरणहरू जडिए र शुभाराज्याभिषेककै समयदेखि प्रज्ञाभवनको संरक्षणका लागि वार्षिक निकासामा दरबन्दीहरू बने । पछि, अर्थ मन्त्रालयको सौजन्यबाट जापानको १९७१ एक्सपोको संस्मरणात्मक कोषबाट बीसौं लाख मूल्यका रङ्गमञ्चका नवीनतम आधुनिक उपकरणहरू र सिनेमा प्रोजेक्टरहरू समेत प्राप्त भए । विभिन्न प्रज्ञापुरस्कारहरूको स्थायी व्यवस्था गर्नका लागि ६ लाख रुपियाँको अक्षयकोष पनि स्थापना भयो र पछि यसै कोषबाट प्राप्त भएका ब्याजकै रकमबाट १५ हजारदेखि १ लाख सम्मका विभिन्न प्रज्ञापुरस्कारहरूको चेक पनि काटियो । फेरि, २०३४ मा राष्ट्रिय स्तरको बृहत साहित्य भेलाका लागि एक मुष्ट १ लाख रुपियाँको अनुदान प्राप्त गरियो । साथै प्रज्ञा–प्रतिष्ठानको अर्थाभावले छाप्न बाँकी रहेका पाण्डुलिपीहरू छपाउनका लागि पनि २ लाख रुपियाँको अनुदान प्राप्त गरियो । यसरी प्रज्ञा–प्रतिष्ठाको आर्थिक स्थिति मजबूत पार्ने स्रोतसाधनहरू पनि निकै बृद्धि हुँदै आए । र, यो त्यस बेलाका प्रज्ञासभाबाट भएका निर्दिष्ट नीति र निर्देशनअनुरूप प्राज्ञपरिषद्ले आफ्नो कर्तव्य पालन गर्न सकेको दृष्टान्त नै बनेको थियो ।
१९. उक्त प्रसङ्गमा प्रज्ञा–प्रतिष्ठानका आर्थिक स्रोत साधनहरूमा टेवा प्रदान गर्ने एउटा उल्लेखीय विषयचाहिँ नाटक प्रदर्शन पनि भएको छ । हुन त त्यसबेला प्रज्ञा–प्रतिष्ठानका रङ्गमञ्चमा अनेक साना, ठूला र स्तरीय नाटकहरू पनि मञ्चित भइसकेका थिए र मञ्चित हुँदै थिए । प्रसङ्गवश एकदिन कुलपति ज्ञवालीज्यूले मलाई बोलाउनुभयो र भन्नुभयो – सचिवज्यू, अब तपाईं पनि एउटा नाटक लेख्नुहोस्, त्यसबाट लोकमनोरञ्जन पनि होस्, प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक लाभ पनि । त्यसबेला प्रज्ञा–प्रतिष्ठानको रङ्गमञ्चसित म निकै परिचित भइसकेको थिएँ । मैले कुलपतिज्यूको आज्ञालाई शिरोपर गरेर चार महिनापछि फर्केर हेर्दा नामको एउटा पूर्णाङ्की लोकनाटक मञ्चन गराएँ । कुलपतिज्यू ज्यादै खुसी हुनुभयो । त्यस नाटकको टिकट बिक्रीबाट प्रज्ञा–प्रतिष्ठानका लागि झण्डै २ लाख रुपियाँ प्राप्त भयो र त्यसबाट एउटा रिकर्ड नै कायम भयो । त्यसपछि लोकनाटककै शैलीमा लेखिएका मेरा दुई वटा पूर्णाङ्की नाटक जब घाम लाग्छ र सपना बिउँझन्छ पनि प्रज्ञा–प्रतिष्ठानकै रङ्गमञ्चमा मञ्चित भए ।
२०. एवं रीतले प्रज्ञा–प्रतिष्ठानमा सदस्य–सचिव भई काम गर्दा, पूर्वाञ्चल कोशी अञ्चलमा २ पटक, त्यस्तै पश्चिमाञ्चल गण्डकी अञ्चलमा २ पटक अञ्चलस्तरीय कविगोष्ठी र सांस्कृतिक प्रदर्शनहरूका व्यवस्थाका लागि दौडधूप गरेका ती दिनहरू, भारतीय–लेखक संघ (अथर्स गिल्ड अफ इण्डिया) का २ वटा राष्ट्रिय सम्मेलनहरूमा आमन्त्रित भइ भाग लिन गएका ती दिनहरू तथा सोभियत संघका सामाजिक विज्ञानप्रतिष्ठान (एकेडेमी अफ सोसियल साइन्सेस)को निमन्त्रणामा रुसी लेखक र विद्वानहरूसँग विचारआदान प्रदान गर्न पाएका ती दिनहरूका मीठा सम्µनाहरू पनि आइरहन्छन् । फेरि सदस्य सचिव भएर काम गर्नुपर्ने कार्यव्यस्ततामा शुभराज्याभिषेक समारोह समितिको विशेष अनुरोधमा राजमुकुट र राज्याभिषेक ग्रन्थ लेख्न लागेका ती दिनहरू तथा सदस्यसचिवकै हैसियतले वर्षको एक पटक एउटा खोजपूर्ण विषयमा लिखित प्रवचन दिनुपर्ने ती दिनहरू पनि µलक्क मीठा सम्µनाकै रूपमा देखा पर्न आउँछन् ।
२१. उसो त मीठो सम्झनाहरूका साथमा तीता सम्µनाहरू पनि आउँदा रहेछन् । त्यसबेला प्रज्ञा–प्रतिष्ठान जस्तो सरस्वतीको पवित्र मन्दिरमा पनि लामो मुद्दा झुण्डिरहेको थियो । यसको नाउँ नै गणेशलालसँगको एक लाखको मुद्दा (प्रज्ञा–प्रतिष्ठानका त्यस बेलाका लेखापाल सुब्बा गणेशलालले ८५ हजार जति तहबील हिनामिना गरेको मुद्दा) थियो । तर त्यसबेला मेरो सम्बन्धित काम अर्कै भएकोले, त्यस मुद्दासँग मेरो चासो नै रहेन । सदस्यसचिव भएपछि भने, गणेशलालको त्यो मुद्दा मेरो लागि पनि एउटा तर्साउने भुत बन्न थाल्यो । मुद्दा सर्वोच्च अदालतमा पुगिराखेकोले समयसमयमा त्यहीबाट प्रज्ञा–प्रतिष्ठानको उपस्थितिका लागि बोलावट भइरहन्थ्यो ।
२२. पछि मुद्दा फैसला भयो, तर तत्कालीन सदस्य–सचिव भएर काम गर्नुभएका श्री सूर्यविक्रम ज्ञवालीसँग १७ हजार रुपियाँ असूल गर्नुपर्ने बाँकी रुपियाँ चाहिँ गणेशलालसँग असुल गर्नुपर्ने गरेर । यो चाहिँ कसैको सपनामा पनि नचिताएका कुरो घटित हुन आयो । अनि प्रज्ञा–प्रतिष्ठानकै प्रतिष्ठामा देखा परेको यस कलङ्कबाट मुक्त हुनुका लागि प्रज्ञा–प्रतिष्ठानले मुद्धालाई फेरि दोहोर्याउनका लागि महान्यायाधिवक्ताको कार्यालय, विशेष प्रहरी विभागसँग सम्पर्क राखी अनेकन गरी अनुरोध गर्दा पनि, मुद्दा दोहोर्याउनका लागि प्रयास गर्नमा उचित राय सल्लाह प्राप्त भएन्, झन् सबैले मुद्दा दोहोर्याउन लाएमा मुद्दा अझै गणेशलालको पक्षमा गई निजसँग असूल गर्न पाइने रकम कटौती हुन जाने सङ्केत र आशङ्का समेत देखाए । तर प्रज्ञा–प्रतिष्ठान चाहिँ अनेक छलफल र सरसल्लाह पछि मुद्दा दोहोर्याउनेका लागि न्यायिक समितिमा म्यादभित्र उजुर गर्ने पक्षमा नै अडिरह्यो । अन्ततोगत्वा मुद्दा फेरि दोहोर्याइयो । पछि, अन्तिम फैसला हुँदा तत्कालीन सदस्य–सचिव श्री ज्ञवालीजीले सफाई पाउनुभयो र सो १७ हजार पनि सुब्बा गणेशलालबाटै उपर गर्न पाउने भयो । यसरी, तत्कालीन उपकुलपति स्व. बालचन्द्र शर्माको पालादेखि सरस्वतीको मन्दिरमा झुण्डिरहेको त्यो कलङ्कित मुद्दा सदाका लागि टुङ्गो लाग्न गयो ।
२३. तर त्यसबेला प्रज्ञा–प्रतिष्ठानभित्र मेरो त्यत्रो मेहनत परेको त्यतिका दुर्लभ चित्रहरू समेत सङ्कलित भएको नेपाली कलासम्बन्धी खोजपूर्ण विवरणहरू भएको हस्तलिखित ग्रन्थ अनावश्यक रूपले मुछिन गएको लक्ष्मीशंकरलाल श्रेष्ठसँगको जुन एउटा कृत्रिम मुद्दा थियो त्यसलाई फछ्र्यौट गर्न भने अनेकन् प्रयास गर्दा पनि केही सीप लागेन । श्रेष्ठजी बनारसका प्रवासी नेपाली हुनुभएकोले अदालतमा मुद्दा दायर गर्न पन अनुकूल स्थिति भएन । यसैले आफ्नो ग्रन्थको विषयमा सम्झना हुनासाथ म चाहिँ ज्यादै चिन्तित हुन्थें ।
२४. एकदिन कुलपति ज्ञवालीज्यूले मलाई आफ्नो कार्यालयमा बोलाउन पठाउनुभयो । उहाँको सम्मुख एकजना धोती लाइराखेका भद्रपुरुष बसिरहनुभएको थियो । कुलपतिज्यूले उनको परिचय दिनुहुँदै मलाई भन्नुभयो – सचिवज्यू, लक्ष्मीशङ्करलालजी उहाँ नै हुनुहुन्छ । अब तपाईंको पुस्तक छापिने भयो । त्यतिबेला म यति खुसी भएँ कि एकछिन त सपना देखिरहेझै नै भयो । पछि मैले उनलाई सोधेँ –श्रेष्ठजी, मेरो हस्तलिखित ग्रन्थ खै त ? उनले बिस्तारै स्वर खुलाउँदै भने – त्यो त मैले ल्याएको छैन, बनारसमै छ । प्रज्ञा–प्रतिष्ठानसँगको मेरो हरहिसाब फछ्र्यौट हुनासाथ बुझाइहाल्नेछु । म तीन छक्कमा परेँ अनि भनेँ – श्रेष्ठजी, प्रज्ञा–प्रतिष्ठानसँगको तपाईको लेनदेनको हरहिसाब त १० वर्ष अगाडिको हो । तपाईंले दाबी गर्नुभएका सबै कुरामा प्रज्ञा–प्रतिष्ठान सहमति नजाउन पनि सक्छ । लिनुपर्ने दिनुपर्ने कुरामा तपाईंको फायलमा टुङ्गो लागिसकेको छ । तपाईंको जिम्मामा रहेको हस्तलिखित ग्रन्थ बुझाउन ल्याउनुस् । बिनसित्ती निर्दोष ग्रन्थलाई तपाईं किन बन्धनमा राख्नुहुनछ ?त्यसबेला कुलपतिज्यूले भन्नुभयो – बिलकुल मनासिब कुरो । अनि श्रेष्ठजी एकछिन झोक्रिन थाल्नुभयो ।
२५.त्यसबेला प्रज्ञा–प्रतिष्ठानमा प्रज्ञा परिषदका सदस्यहरूको पाँच वर्षमा कार्यविधि समाप्त हुने बेला नजिक आइरहेको थियो । प्राज्ञपरिषदको नयाँ गठनका लागि प्रज्ञा–प्रतिष्ठानका तत्कालिन आजीवन सदस्य एवं राजसभा स्थायी समितिका सदस्य स्व. बालकृष्ण समको अध्यक्षतामा तत्कालन शिक्षा राज्यमन्त्री पशुपतिशमशेर जबरा र त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति जगतमोहन अधिकारी सदस्य रहनुभएको नाम सिफारिस गर्ने समिति गठन भइसकेको थियो ।
२६.फेरि यतिन्जेलभित्रमा मेरो खुट्टा तान्नेहरू पनि धेरै भइसकेका थिए । राष्ट्रिय स्तरमा आयोजित भइरहेको बृहत साहित्य भेलाकै बखतमा, विविध विषयका कार्यपत्रहरूमा बहस भइराखेका बेलामा दुईचारजना दर्शकका रूपमा उपस्थित हुनुभएका साहित्यकार साथीहरूले आ–आफ्ना व्यक्तिगत असन्तुष्ट कुराको सन्दर्भ उठाई ममाथि अनेकन् लाञ्छना लगाई बज्रपात गरिसकेका थिए । त्यस्तै एकजना कविजीले त कविता महोत्सव नै चलिराखको बखतमा रेडियो प्रसारणको समयभित्र आफ्नो कवितापाठ नपरेकोमा भयङ्कर रोष प्रकट गरी मप्रति अनेकन् व्यक्तिगत लाञ्छना लगाउनुका साथै आफूले पाठ गरेका कवितालाई समेत अमर्यादित रूपले मिल्काएर हिँडेका थिए । विद्वद्वृत्ति प्राप्त गरिरहनुभएका एकजना प्रवासी कविजीले पनि आफ्नो स्वाभिमानको नाममा विद्वद्वृत्तिको नियम नै तोड्न खोज्दै अनेकन् निहूँ रची प्रेस वक्तव्य नै निकाली नाउँ किटेरै ममाथि व्यक्तिगत आलोचनाको क्रमको शुभारम्भ गरिदिएका थिए । फेरि विद्वद्वृत्ति पाउनुहुने एकजना स्वदेशकै अर्का विद्वानले पनि विद्वद्वृत्तिको नियम तोड्न खोज्दै वर्षदिनको सिङ्गो रकम एकै चोटि नदिएमा सदस्य सचिवका नाउँमा मुद्दा चलाउने धम्की दिँदै आफ्नै बेसुरे स्वरमा प्रज्ञाभवन नै थर्काउने गरी अनेकन् लाञ्छना लगाएर गएका थिए । अझै गाईजात्रा महोत्सवको उपलक्ष्यमा प्रज्ञाभवनमा पहिलो पल्ट हास्यव्यङ्ग्य प्रदर्शन हुँदा (त्यो वर्ष पत्रपत्रिकामा समेत हास्यव्यङ्ग्य निकाल्न नपाइने गरिएको थियो ।) तत्कालीन अञ्चलाधीशले मात्र होइन, स्वयं तत्कालीन गृहमन्त्रीले पनि तर्साउने स्वरमा फोन गरी हास्यव्यङ्ग्य कार्यक्रम तुरुन्त बन्द गर्न लाउनुस्, नत्र त्यसको सम्पूर्ण जिम्मेवारी तपाईंले बेहोर्नुपर्नेछ भनेर अल्टिमेटम नै दिएका थिए । त्यस्तै नाटक महोत्सवका बेलामा असन्तुष्ट भएका दुई चारजना उस्तै कलाकारहरूले प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिवलाई धूलोपीठो पार्ने भनेर बाटो पनि कुरेका थिए । कतिले चाहिँ त व्यक्तिगत नाम नै किटेर अनेकन् उजुरीहरू पनि गरेर हिँडेका थिए । अनि सरस्वतीको मन्दिरतुल्य प्रज्ञाभवनमा काम गर्दा पनि समयसमयमा घटित भइरहने यस किसिमका घटनाहरूले मेरो निमित्त अनेकन् अवरोधहरू तेस्र्याइदिएका थिए ।
२७.नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा बसी काम गर्दा त्रुटिहरू नै हुन पाएनन् भन्न चाहिँ सकिंदैन । कति कुरामा विवेक बुद्धि पुर्याउन नसकी एकदुई अनुचित कारवाई पनि हुन गए होलान् । तर दुईचारजना साहित्यिक बन्धुहरू चिढिए पनि, दुइचार जना कलाकार साथीहरूले चित्त दुखाए पनि, त्यस्तै दुईचार जना कर्मचारीहरूले सरापे पनि चारैतिरबाट प्राप्त भएका प्रेरणा र सहयोगबाट मिलीजुली काम गर्ने भावनामा आफूले चाहिँ सकेको काम राम्ररी गरेझै नै लागेको थियो, हुन त यो मेरो आफ्नै लागि आत्मसन्तोषको कुरा मात्र पनि हुनसक्छ ।
२८.तर, प्रज्ञा–प्रतिष्ठानमा १० वर्ष बस्दा मेरा दिनहरू चाहिँ निकै ओरालो लागिसकेको थिए । मेरा सम्बधित विषयका अभिरुचिहरू एवं प्रतिभाहरू पनि प्रतिदिन कुण्ठित हुँदै निष्क्रिय हुन थालेका थिए । त्यसबेला म कहिलेकाहीँ त यो पनि सोच्दथें – प्रज्ञा–प्रतिष्ठानमा मेरा १० वर्षको कार्यावधिमा सिंजाखोला उपत्यकामा गरिएको लोकसंस्कृति सर्वेक्षणकै अनुभव र जाँगरमा काम गर्न पाएको भए, चौधै अञ्चलको लोकसंस्कृति सर्वेक्षण समाप्त गरी राष्ट्रिय नेपाली संस्कृतिका विविध पक्षका कैयन् खण्डहरूको उपलब्धि हुने थियो होला । हुन त यो मेरो सोचाइमा अत्युक्ति पनि हुनसक्छ । तर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिवलाई श्री ५ को सरकारको महालेखापरीक्षकको कार्यालयमा बारम्बार उपस्थित भइ स्पष्टीकरण दिंदैमा हैरानी खानुपर्ने स्थिति पनि आइरहने हुँदा, उक्त भावनाको सोचाइ पनि स्वत: आउँदो रहेछ । त्यसबेला छिमेकी मित्र देश जनगणतन्त्र चीनको सामाजिकशास्त्र प्रतिष्ठान (अकाडेमी अफ साइन्सेस) बाट एउटा निम्तो आइरहेको थियो । त्यसमा म पनि सम्मिलित भएर जाने निश्चित भइसकेको थियो र नामसमेत गइसकेको थियो तर ठीक त्यसबेला प्रज्ञा–प्रतिष्ठानमा फेरि पनि महालेखापरीक्षक कार्यालयबाट जोडतोडसाथ लेखापरीक्षण सुरु भयो । चीनको सद्भावना भ्रमण गर्न जाने प्रतिनिधिमण्डलबाट मैले आफ्नो नाम फिर्ता लिएँ । महालेखापरीक्षकको नियन्त्रणमा म स्वतन्त्र हुन सकिन ।
२९.अन्ततोगत्वा २०३५ साल चैत मसान्तको दिनसम्म काम गरेपछि प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिवको सदस्यताबाट मैले अवकाश पाएँ, तर ६० वर्षको छायाँ परिसकेको जीवनमा निवृत्तिभरण चाहिँ पाउन सकिन, किनभने त्यसका लागि लगातार वा पटक पटक गरी कम्तीमा १५ वर्षको सेवा चाहिन्थ्यो । केही दिनसम्म मनमा एउटा अव्यक्त भावना सिर्जना भइरह्यो । अनि यसै ताका एकदिन बनारसबाट फिर्ता आएको नेपाली कलासम्बन्धी मेरो त्यो ग्रन्थ अनायस प्राप्त हुन आयो तर अतीव रुग्ण अवस्थामा बेह्रिएर !
३०.अनि धेरै दिनपछि आजीविकाका लागि आफ्नो लेखनकार्यलाई पुनर्जीवित गर्नु पर्यो भनेर पुराना दराज खोज्दा प्रज्ञा–प्रतिष्ठानमै काम गर्दा आफुले पहिरने सौभाग्य पाएका दुईवटा राष्ट्रिय तक्माहरू (लोक संस्कृतिको क्षेत्रमा काम गरेबापत गो.बा.(ते.) र प्रज्ञा–प्रतिष्ठानको प्रतिष्ठान सम्वद्र्धन गरेबापत त्रिशक्तिपट्ट (ते.) मौन भाषामा व्यक्त गरिरहेको मेरो जीवनकथामा प्रज्ञा प्रतिष्ठान खण्ड विषयक सबभन्दा संस्मरणीय रोचक प्रसङ्गहरू मैले आत्मसात् गरेँ ।
(जनमत मासिकको १५२ अंक वि.सं २०६६ चैत्रमा, सत्यमोहन जोशी विशेषमा ‘प्रज्ञा प्रतिष्ठानमा दश वर्ष बस्दा’ शीर्षकमा प्रकाशित लेख ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।